१० हजार मिटरमा दीपकले रचे कीर्तिमान

काठमाण्डौः नेपालका धावक दीपक अधिकारीले शनिबार हाङचउ एसियाली खेलकुदको १० हजार मिटर दौडमा राष्ट्रिय कीर्तिमान बनाएका छन् ।

१० हजार मिटरमा दीपकको कीर्तिमान

EPIC EPIC EPIC

हाङचउ ओलम्पिक स्टेडियमको ट्र्याकमा दीपकले २९ मिनेट ३५.०६ सेकेन्डमा दुरी पूरा गर्दै राष्ट्रिय कीर्तिमान बनाएका हुन् । ३० मिनेट १०.३ सेकेन्डको राष्ट्रिय कीर्तिमान उनकै नाममा थियो । जुन गत वर्ष पोखरामा सम्पन्न नवौं राष्ट्रिय खेलकुदमा स्थापित गरेका थिए । नवौं राष्ट्रियमा स्वर्ण जित्दा दीपकले इन्चोन एसियाडमा गोपीचन्द्र पार्कीले राखेको ३० मिनेट ३०.९९ सेकेन्डको कीर्तिमान उछिनेका थिए । दीपकले पोखरामा निकाले ह्यान्डटाइम थियो ।

दीपकले १० हजार मिटरमै १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा कांस्य पदक जितेका थिए । त्यतिबेला उनले ३० मिनेट ५०.०६ सेकेन्ड लगाएका थिए । जुलाईमा बैंककमा सम्पन्न एसियाली एथलेटिक्स च्याम्पियनसिपमा ३१ मिनेट १८.९६ सेकेन्डको टाइमिङ निकालेका दीपकले मार्च काठमाडौंको गोकर्णमा सम्पन्न एसियन क्रसकन्ट्री च्याम्पियनसिपको १० किमि दौडमा जापानी धावक दाइची कामिनोलाई पछि पार्दै स्वर्ण जितेका थिए ।

हाङचउमा १३ धावकले दूरी पार गर्दै दीपक सातौं स्थानमा रहे । बहराइनका बिरहानु यमतावले स्वर्ण जित्दा २८ मिनेट १३.३२ सेकेन्डको टाइमिङ निकाले । भारतका कार्तिक कुमारले २८ मिनेट १६.३८ सेकेन्डबाट रजत र गुल्भर सिंहले २८ मिनेट १७.२१ ले कांस्य जितेका थिए । दुवै भारतीय धावकले व्यक्तिगत उत्कृष्ट टाइमिङ निकालेका हुन् ।

बक्सिङ

नेपालसामु बक्सिङबाट शनिबार पदक जित्ने अवसर थियो, तर त्यसमा चुकेसँगै १९ औं एसियाली खेलकुदमा पदकको सम्भावना मानिएको अर्को खेलले निरास पारेको छ । नेपालकी सरस्वती राना बाई भएर महिला ७५ केजी तौल समूहमा सिधै क्वाटरफाइनल पुगेकी थिइन् । उनले भियतनामी खेलाडी लु क्वेइविरुद्ध प्रतिस्पर्धा गरिन् । त्यसमा अंकका आधारमा ४–१ ले पराजित हुँदै प्रतियोगिताबाट बाहिरिइन् ।

बक्सिङको महिला ७५ केजी तौलमा भियतनामकी लु क्वेइविरुद्ध प्रतिस्पर्धा गर्दै नेपालकी सरस्वती राना (रातो) । तस्बिर : राखेप

अन्तिम नतिजा भियतनामी खेलाडीको पक्षमा २९–२८, २८–३०, २९–२८, ३०–२७ र ३०–२७ रह्यो । अमेरिकाका एक निर्णायक मात्र नेपाली खेलाडीको पक्षमा रहे । यो हारसँग बक्सिङमा नेपालको सबै चुनौती सकिएको छ । एसियाली खेलकुदको इतिहासमा नेपाललाई बक्सिङबाट ६ कांस्य प्राप्त छ । सन् १९८६ को सोल एसियाडमा बक्सिङले ४ कास्य दिलाएको थियो । सन् २०१० मा चीनमै भएको एसियाली खेलकुदमा वर्तमान नेपाली टोलीका प्रशिक्षक दीपक महर्जनले कांस्य जितेका थिए । त्यसयता नेपाल एसियाली खेलकुदमा बक्सिङबाट पदकविहीन छ ।

‘सबैभन्दा पहिले नेपालले बक्सिङबाट कुनै पदक जित्न नसकेकामा म माफी माग्न चाहन्छु । मलाई जहाँसम्म लाग्छ, हाम्रा खेलाडीले आफूले सक्दो राम्रो खेलेका हुन् । तर, हामी पदकको हकदार रहेनौं । नेपालले प्रतियोगितामा पनि निकै कठिन ड्र पर्‍यो,’ नेपाली टोलीका भारतीय प्रशिक्षक शिव सिंहले भने ।

भारतीय बक्सिङसँग लामो समय आबद्ध रहेका अनुभवी प्रशिक्षक सिंहले थपे, ‘यसपल्ट हाम्रो प्रशिक्षण अवधि निकै कम रह्यो, जबकि यसपल्ट बक्सिङमा सहभागी अन्य टिमले चार पाँच वर्षअगाडिदेखि तयारी गरिरहेका थिए । हाम्रो यति छोटो तयारीले पदकको आस गर्न सकिन्न । अबको एसियाली खेलकुदमा केही राम्रो गर्ने हो भने हामीले भोलिदेखि नै तयारी गर्न सक्नुपर्छ । फेरि हामीलाई युवा खेलाडी पनि चाहिएको छ । हामीलाई नयाँ पुस्ताका खेलाडी आवश्यक छ ।’

ई–स्पोर्ट्स

पदक नजिक रहेर पनि त्यसबाट टाढा रहेको खेल रह्यो, ई–स्पोर्ट्सअन्तर्गत पब्जी मोबाइल । हाङचउ ई–स्पोर्ट्स सेन्टरमा सेमिफाइनल समूह ‘ए’ मा भएको खेलमा नेपाल तेस्रो स्थानमा रह्यो । नेपालले जापानलाई भने पछाडि छोड्न सफल रह्यो । फाइनलमा पुग्न कम्तीमा दोस्रो हुनुपर्ने थियो । नेपाली टोली दक्षिण कोरिया र चाइनिज ताइपेईसँग पराजित भयो । नेपालका तर्फबाट सुविनकुमार प्रजापति, दिपेश गुरुङ, साहस भण्डारी र समिर गुरुङले चुनौती पेस गरेका थिए ।

नेपाली टिमले ५४ मिनेट ३३.३४६ सेकेन्ड टाइमिङ निकाले । दक्षिण कोरिया ५० मिनेट ३७.१५१ सेकेन्डसहित पहिलो स्थानमा रह्यो । चाइनिज ताइपेई ५२ मिनेट १९.३९३ सेकेन्डसहित दोस्रो स्थानमा रहेर फाइनल चरण पुग्यो । यसअघि एलिमिनेसन राउन्डको समूह ‘सी’ मा दोस्रो हुँदै नेपाल अन्तिम चारमा पुगेको थियो ।

भलिबल

देकिङ स्पोर्ट्स सेन्टर जिम्न्याजियममा नेपाली महिला भलिबल टोली भियतनामसँग ३–० को सोझो सेटमा पराजित भयो । भियतनामले २५–४, २५–१६, २५–१३ को नतिजा निकालेको हो । नेपालकी कप्तान अरुणा शाहीले सोचेजस्तो प्रदर्शन गर्न नसकेको बताइन् । ‘पहिलो सेटमा खासै खेल्न सकेनौं । दोस्रो र तेस्रो सेट ठिकै खेलेको हो । तर, यस किसिमको अन्तरले पराजित हुन्छ भन्ने सोचेका थिएनौं । अबको खेलमा खेल्न सहज हुनेछ,’ उनले भनिन्, ‘खेल कठिन हुन्छ थाहा थियो । मैले व्यक्तिगत र टिमले नै अझ राम्रो गर्न सक्छौं ।’

भारोत्तोलन

भारोत्तोलनतर्फ महिला ५५ केजी तौल समूहको प्रतिस्पर्धामा नेपालकी टीकामाया गुरुङको प्रदर्शन पदक दाबेदार हुन सकेन । एक्सएससी जिम्न्याजियममा भएको समूह ‘ए’ को खेलमा टीकामायाले स्न्याचमा ६० र क्लिन एन्ड जर्कमा ८६ गरी कुल १ सय ४६ केजी उचालेकी थिइन् । स्न्याचमा टीकाले पहिलो र दोस्रो लिफ्टमा पनि ६० केजी भार उचाल्ने प्रयास गरेकी थिइन् । तर, सफल भइनन् । क्लिन एन्ड जर्कमा उनले पहिलो लिफ्टमा ८० र दोस्रो लिफ्टमा ८६ केजी उचालिन् । टीकामायाले सेप्टेम्बर पहिलो साता साउदीको रियादमा भएको वर्ल्ड च्याम्पियनसिपमा गरेको प्रदर्शनमा भन्दा सुधार गरेकी थिइन् ।

ट्रायथलन

ट्रायथलनको महिला व्यक्तिगत स्पर्धामा नेपालकी श्रेबी महर्जन १७ औं स्थानमा रहिन् । २१ खेलाडी सहभागी स्पर्धामा कुवेत, यूएई, कम्बोडिया र जोर्डनका खेलाडीले स्पर्धा पूरा गर्न सकेनन् । श्रेबीले १५ सय मिटरको पौडी, ४० किमि साइक्लिङ र १० किमि दौड कुल २ घण्टा २५ मिनेट १३ सेकेन्डमा पूरा गरेकी थिइन् ।

ह्यान्डबल

महिला ह्यान्डबलमा नेपाल समूह ‘बी’ को तेस्रो तथा अन्तिम खेलमा भारतसँग ४४–१९ गोलले पराजित गर्‍यो । नेपालका लागि कप्तान वन्दना राईले ७ र उमा राईले ६ गोल गरेका थिए । यसअघि नेपाल हङकङसँग २७–१८ ले पराजित भएको थियो । समूह चरणको पहिलो खेलमा नेपाली टोली चीनसँग ५७–१० र जापानसँग ६२–१० ले हारेको थियो । कान्तिपुर

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

my

दिपेन्द्र लुईटेल

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका भोजपुर सम्वाददाता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

होमपेज
ट्रेन्डिङ
ताजा अपडेट
सर्च