Search
Close this search box.
Search
Close this search box.

अन्न खान पल्किए जंगली हात्ती

 हात्ती लामो समयसम्म बसेपछि पूर्वी नेपालका केही स्थानका बासिन्दा रातभर सुत्न पाएका छैनन् । झापासहित मोरङ र सुनसरीमा हात्तीका हुल दिनहुँ देखिँदै आएका छन् । 

भारतबाट आउने गरेका हुलका हुल हात्ती केही समय नेपाल रहने र त्यसपछि भारत नै फर्कने गरेकोमा यस पटक फर्किएका छैनन् । उनीहरू झापाको जलथलको जङ्गल, चारआलीको जङ्गल, दमकको हम्सेदुम्से सामुदायिक वनको जङ्गलसहित पूर्वी नेपालका विभिन्न जङ्गलमा रहँदै आएका छन् । विशेष गरेर झापाका जङ्गललाई उनीहरूले केन्द्र बनाएका छन् ।

डिभिजन वन कार्यालय झापाका प्रमुख मेघराज राईका अनुसार नीति तथा कार्यक्रम बनाउँदा नै ध्यान नदिइएका कारण समस्या आउन थालेको बताउनुभयो । “समस्या झनै बढ्दै जाने देखिएको छ,” उहाँले भन्नुभयो । हात्ती प्रभावित क्षेत्रमा कृषि कार्यक्रम नल्याउँदा समस्या विकराल बन्दै गएको बताइन्छ । हात्ती नेपाल आउने र बस्ने मुख्य कारण नै आहारा हो । झापा हात्ती प्रभावित जिल्ला हुँदाहुँदै पनि यहाँ मकै जोन घोषणा गरेर मकै उत्पादन गरिँदै आएको र हात्तीले मकै धेरै रुचाउने भएकाले पनि हात्ती पल्किने गरेका छन् । “झापा गाउँपालिकामा जङ्गल छैन तर पनि हात्ती आउँछन्,” उहाँले भन्नुभयो, “यहाँ मुख्य गरेर मकै खान पाउने भएकाले हात्ती आएका हुन् ।”

धान सुपरजोन भएकाले दुई बाली धान र मकै जोन भएकाले एक बाली मकै लगाइँदा यहाँ हात्तीलाई सजिलो भएको छ । भारतमा आहारा नपाएर उनीहरू यहाँ आएका हुन्छन् । भारतमा हात्ती प्रभावित क्षेत्रमा भने हात्तीले नखाने चिया, मरिचलगायतको व्यावसायिक खेती हुने गरेको छ ।

मदनभण्डारी मार्गसहित हात्ती आउने परम्परागत बाटामा भएका संरचनाले पनि हात्ती आतङ्क बढेको अध्ययनबाट देखिएको बताउँदै उहाँले थप्नुभयो, “हात्ती हिँड्ने बाटोमा पुल र ठुला संरचना बनेपछि विकल्पमा अन्य बाटो रोज्दा पनि बस्तीमा आएर क्षति गर्ने गरेका छन् ।” 

हात्तीमैत्री संरचना निर्माणमा ध्यान जान नसक्दा समस्या देखिन थालेको वन कार्यालयका कर्मचारीहरूको भनाइ छ । मानव–हात्ती स्वअस्तित्व र हात्तीमैत्री संरचना आवश्यक रहेको बताउँदै वन कार्यालय प्रमुख राईले यस विषयमा सरोकारवाला निकायसँग बसेर आवश्यक परामर्श र कार्यक्रम गर्ने योजना बनाइएको बताउनुभयो । 

डिभिजन वन कार्यालयका वन अधिकृत जीवन पाठकका अनुसार झापामा मुस्किलले चारदेखि पाँच वटा हात्ती अघाउनेभन्दा बढी आहारा नै उपलब्ध हुन सक्दैन । पछिल्लो समयमा भने जङ्गलमा बोटबिरुवा लगाउँदा यसमा ध्यान दिन थालिएको बताउँदै उहाँले उनीहरू जङ्गलमा पर्याप्त आहारा नपाएपछि बाहिर निस्केका हुन् भन्नुभयो ।

कृषि ज्ञान केन्द्र झापाका निमित्त प्रमुख सागर विष्टले हात्ती आतङ्कका कारण बर्सेनि धान र मकैमा ठुलो क्षति पुग्दै आएको बताउनुभयो । उहाँले झापा धान र मकैले नै चिनिएको अवस्थामा यसको खेती कम गर्ने कुरा व्यावहारिक र वैज्ञानिक नभएको बताउनुभयो । “हात्तीलाई जङ्गलमा फलफूल रोपेर उतै अल्झाउन सकिन्छ तर धान र मकै खेती नै कम गर्ने कुरा व्यावहारिक हुँदैन, सम्भव पनि छैन,” उहाँले भन्नुभयो ।

मानव–हात्ती द्वन्द्व व्यवस्थापनका क्षेत्रमा कार्यरत शङ्करसिंह लुइँटेलका अनुसार हात्तीले जङ्गलमा खानेकुरा पर्याप्त नपाएपछि धान र मकै खान नै बाहिर आउने गरेका छन् । “आलु, सखरखण्डको स्वादका कारण पनि हात्ती यहाँ बसिरहेका छन्,” उहाँले भन्नुभयो, “दिउँसो जङ्गलमा बस्ने र राति बाहिर निस्कन थालेका छन् । यहाँ रमाइरहेका छन् । यसले गर्दा यता प्रवेश गरेका हात्ती यतै बस्न सक्ने अवस्था रहन पनि सक्छ ।”   

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *