Search
Close this search box.
Search
Close this search box.

आगलागी नियन्त्रणमा ध्यान दिऔँ

editorial

सुख्खा मौषम सुरु भएसँगै देशभर आगलागीका घटनाहरु बढ्दै गएको छ । हिउँदको समयमा आगलागीको जोखिम बढी हुने गर्दछ । आगलागीको मुख्य कारण लापरवाहीका साथै जनचेतनाको कमी हो । आगलागी मानवबाट सिर्जित हुने समस्या हो । एउटा झिल्कोले संसार सखाप पार्न सक्छ भनेझैंँ मानवीय त्रुटिका कारण लाग्ने आगलागीबाट धेरै धनजनको क्षति हुने गरेको छ । यसवर्ष पनि देशका विभिन्न ठाउँमा लागेको आगोका कारण ठूलो क्षति पुगेको छ ।

नेपालमा आगलागी जनधनको क्षति र पर्यावरणीय हानिको हिसाबले अन्य विपत्का तुलनामा ठूलो विपत् हो । आगलागीमा परेर वर्षैपिच्छे थुप्रैले ज्यानसमेत गुमाउँदा पनि त्यसको नियन्त्रणका लागि प्रभावकारी काम आजसम्म हुन नसक्नु निकै विडम्बनापूर्ण स्थिति पनि हो । वर्षैपिच्छे देशका हजारौँ ठाउँहरुमा साना–ठूला आगलागीका घटनाहरु दिनानुदिन भैरहेका छन्, तर त्यसमा न्यूनीकरण गर्नतर्फ भने कसैको पनि ध्यान जान सकेको छैन । आगलागी विशेषगरी मानवीय भूलकै कारण सिर्जित हुने विपत्को घटना हो ।

चालु आर्थिक वर्षमा मात्रै झापा बुद्धशान्ति गाउँपालिकामा ८ वटा साना–ठूला आगलागीका घटना भएका छन् । फागुन महिनामा मात्रै ५ वटा आगलागीका घटनाबाट झन्डै ३० लाख बढी क्षति भएको प्रहरीको रेकर्डमा देखिन्छ । झापामा आ.व. ०७९÷८० को फागुन अन्त्य सम्मको आगलागी सम्बन्धी विवरणलाई हेर्दा अचानक आगोलागी संख्या १ सय ५ वटा भएका छन् । ग्याँस लिक भएर १० वटा, चट्याङबाट आगलागी १ वटा, विद्युत सर्ट भई आगलागी २० वटा भएका छन् । यसमा ४ जना मानिसले ज्यान गुमाउन पुगे । १५ जना घाइते भए भने १ सय ६९ पशुचौपाय मरेका छन् । यसरी पटक–पटक आगलागी हुँदा तत्कालै निभाउन सक्ने भरपर्दो उपायको व्यबस्था नगरिँदा बाक्लो बस्तिमा बसेका र बजार क्षेत्रका मानिसहरू सन्त्रासमा छन् । स्थानीय प्रशासनसँग अग्नि नियन्त्रणका लागी दुइचारवटा बाल्टी, गैती, बेल्चा र कोदाला मात्रै छन् ।

बाढीपहिरो, भूकम्पजस्ता प्राकृतिक प्रकोपसँग आगलागीलाई उही अनुपातमा राखेर तुलना गर्न मिल्दैन । अन्य प्राकृतिक विपत्ले पु¥याएको हानि नोक्सानीसरह नै आगलागीले समेत पु¥याइरहेको हुन्छ । तर आगलागीका घटनाहरुलाई सामान्यरुपमा लिएर आगो निभाएपछि कामकुरा सकिने हिसाबले हेरिनु निकै लापरवाहीपूर्ण अवस्था हो, जसले गलत अभ्यासलाई नै बढवा दिइरहेको छ । आगलागीका कारण वनजंगल समेत सखाप हुने गरेको छ । आगोका कारण कलिला बोटबिरुवा सखाप हुन गई वन नै सकिने अवस्था सिर्जना हुन लागेको छ । आगोले बोटविरुवा मात्र होइन, अमूल्य जडीबुटीसमेत सखाप हुने गरेको छ । आगालागीका कारण वायु प्रदूषणमा समेत ठूलो असर गर्ने गरेको छ ।

झापामा हेर्ने हो भने ६ वटा पालिकासँग मात्र दमकल छन् । आगालागी नियन्त्रणका लागि चनाखो हुनुपर्ने स्थानीय सरकारको ध्यानजति सबै गाडि खरिद र डोजर खरिदमा गएको छ । सम्भावित आगालागीबाट घर, वन–जंगल जोगाउन अपनाउनुपर्ने पक्षमा ध्यान नै जान सकेको छैन । सरकारले आगो लागेपछि हार–गुहार गर्नेतिर भन्दा आगलागी हुन नदिन नागरिकमा जनचेतना जगाउन जरुरी छ । सरोकारवाला निकाय सबै एकताबद्ध भएर लागेको अवस्थामा मात्र आगालागी हुनबाट रोक्न सकिन्छ । तसर्थ यसतर्फ सबैले ध्यान दिन जरुरी छ ।

मिति २०७९ चैत्र ८ गतेको पालिका सन्देश समप्ताहिक पत्रिकामा प्रकाशित

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *