Search
Close this search box.
Search
Close this search box.

ऐतिहासिक दुर्गा मन्दिरको स्थानान्तरण

बिर्तामोड , कात्तिक १ । निर्माणाधिन बिर्तामोड चन्द्रगढी सडकको क्षेत्रभित्र परेको बिर्ताबजारको ऐतिहासिक दुर्गा मन्दिरलाई आज स्थानान्तरण गरिएको छ ।

घटस्थापनाको अवसर पारेर धार्मिक विधि अनुसार दुर्गा भगवतीको मूर्तिलाई नयाँ मन्दिरमा स्थानान्तरण गरिएको हो । ६ जना पण्डितहरुद्वारा यज्ञ गराई शंखघण्टी ध्वनीसहित पञ्चे बाजा र स्थानीय बाजागाजा बजाएर मूर्तिलाई धार्मिक विधिबिधान बमोजिम नयाँ मन्दिरमा व्यवस्थित रुपमा स्थानान्तरण गरिएको मन्दिर निर्माण समितिका अध्यक्ष पर्शु सिटौलाले बताए ।

साविक मन्दिरकै छेउमा बिर्तामोड नगरपालिकाको लागतमा करिव ४० लाख रुपैयाँको भव्य र व्यवस्थित नयाँ मन्दिर निर्माण गरिएको उनले बताए । सोही मन्दिरमा पदस्थापन गर्ने गरी मूर्ति स्थानान्तरण गरिएको हो । पुरानो मन्दिरमा दुर्गा , गणेश , कात्तिक , सरस्वती र लक्ष्मीका पाँचवटा मूर्ति रहेका थिए । ती सबै मूर्तिलाई सारिएको हो ।

२०६७ सालमा सिंगमरमरका ती मूर्तिहरु भारतको वनारसबाट किनेर ल्याइएका थिए । ती मूर्तिहरुलाई स्थानान्तरण गरी भोलिदेखि पदस्थापनका विधिहरु शुरु गरिने मन्दिर समितिका अध्यक्ष वासु माझीले बताए । भोलिदेखि तीन दिनसम्म पदस्थापनका बिधिबिधानहरु गरिने भएको हो । पहिलो दिन दुध , दोस्रो दिन मह र तेस्रो दिन घ्यूले स्नान गराईसकेपछि मात्र नयाँ मन्दिरमा मूर्ति पदस्थापन गरिने माझीले बताए ।

मूर्ति सार्नु अघि स्थानान्तरण गर्ने यज्ञ गरिएको थियो । यज्ञ हवनमा नगरपालिकाका नगर प्रमुख धु्रवकुमार शिवाकोटी , ३ नं वडाध्यक्ष भोजराज सिटौला , मन्दिर समितिका पदाधिकारी , भक्तजनलगायतले चिरु अर्पण गरेका थिए ।

बिर्तामोड–चन्द्रगढी सडक खण्ड निर्माण थालिएसँगै साविक मन्दिर बाटोभित्र परेपछि त्यसलाई केही पूर्वपट्टि सारिएको हो । बुद्ध जयन्तीको अवसर पारेर गत बैशाख २५ गते बिर्तामोड नगरपालिका प्रमुख शिवाकोटी र उपप्रमुख पवित्रा महतारा प्रसाईले वैदिक विधिपूर्वक नयाँ मन्दिरको शिलान्यास गरेका थिए ।

झापाको पुरानोमध्येको एक शक्तिपीठका रुपमा बिर्ताबजारको दुर्गा मन्दिरलाई लिने गरिन्छ । जसको इतिहास सय वर्षभन्दा लामो छ । देवी गुठीको नाममा जग्गा दान दिएका डोमालाल राजवंशीका बुवाले सो दुर्गा मन्दिर स्थापना गरेको बुढापाका बताउँछन् ।

आफ्नो बुवाले स्थापना गरिदिएको मन्दिरलाई बुवाकै वचन अनुसार डोमालालले जग्गा दान दिएको बिर्ताबजारका ९५ वर्षिय बयोबृद्ध शम्भु पोखरेल बताउँछन् । उनले साइनोमा आफ्नो धर्मपुत्र पर्ने डोमालालले बुवाले वचन दिइसकेपछि आफूले जग्गा दान दिएको कुरा बताएको पोखरेल संझन्छन् ।

शुरुवाती अबस्थामा मन्दिर टीनको छानो भएको झुप्रो रहेको थियो । त्यसलाई कप्तान भूपालमानसिंह कार्कीले वि.सं. १९९५ सालमा पक्की बनाइदिएका थिए । भुपालमानसिंह कार्कीले मन्दिर बनाइदिएपछि आफ्ना बुवा गौरीशंकर पोखरेलले १९९८ देखि २००१ सम्म त्यस मन्दिरमा पुजापाठ गरेको शम्भुले बताए । त्यसपछि मधेसी मूलका पण्डितले पुरोत्याइ गरेका थिए । उनी गएपछि भीम दाहाल( दाहाल बाजे) ले लामो समय पुजापाठ गरेका थिए । २०२४ सालदेखि २०५५ सम्म दाहाल नै मन्दिर पुजारी रहेका थिए । पछिल्लो समय पुजा समिति मार्फत त्यस मन्दिरमा पुजाआजा हुँदै आएको छ ।

सय वर्षभन्दा लामो इतिहास बोकेको त्यस पुरातात्विक महत्व बोकेको मन्दिरको महिमा नहराउने गरी आफूहरुले सुरक्षित ठाउँमा स्थानान्तरण गर िमन्दिरलाई अझ व्यवस्थित बनाएको वडाध्यक्ष सिटौलाले बताए ।

उनले मन्दिरको महिमा र भक्तालुहरुको आस्थालाई चोट नपुर्याइ मन्दिरलाई सदियौसम्म रहिरहने गरी व्यवस्थित बनाएको भनेर बुझिदिन सबैलाई आग्रह गरे । बाटोभित्र मन्दिर परिसकेको अबस्थामा मन्दिर सार्न हुने र नहुने विषयमा धेरै लामो छलफल चलेको थियो ।

अन्ततः त्यसलाई सार्न नै उपयुक्त हुने आमसहमति गर्दै नयाँ मन्दिर निर्माण गर्न थालिएको थियो ।तर पनि केहीले त्यसको विरोध गरेका थिए । पुरानो र ऐतिहासिक मन्दिर मास्न लागेको भन्दै पुरातत्व विभागमा केहीले उजुरी दिएका थिए । तर, आफूहरुले मन्दिरलाई मास्न लागेको नभई छेउमै सारेर व्यवस्थित गर्न लागेको भन्ने जवाफ नगरपालिकाले पठाउँदै पुरातत्व विभागलाई स्पष्ट पारेको थियो ।

मन्दिर निर्माण सम्पन्न भएर मूर्ति सार्न लागेको अघिल्लो दिन हिजो साँझ पुरानो मन्दिर बांगिएको भन्दै केही व्यक्तिले अपवाह र त्रास उत्पन्न गराउन खोजेका थिए । त्यसलाई आज विहान निराधार हल्ला सावित गरिएको थियो ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *