Search
Close this search box.
Search
Close this search box.

कथा : मसान चौतारी

  • राजेश अधिकारी,


हामी गहुँ गोडेर खेतको आलिमा बसेर गुन्द्रुकको अचारसँग चाम्रेको खाजा खाइरहेका हुन्छौं । सधैं बोलेर हँसाइरहने रौसे पाराका कार्की बाले झुस्स सेता दाह्री पालेका दाहाल माइलालाई जिस्क्याउन थाल्छन् । ‘के नबोली ठुस्स परेर बस्छस् हौ झुसे माइला?’ ‘बिग्रिएको रेडियो जस्तै बकबक गरेर तिमीले अरुलाई बोल्न दिन्छौ र बोल्नू मैले ? ’माइलाले पनि आफ्नो आङ कन्याउँदै कार्की बालाई ओठे जवाफ फर्काउँछ । पर्म तिर्न ढुंगेल कान्छाको गहुँ गोडिरहेका हामी खेतालाहरू उनीहरुको ठट्यौलो गफ सुनेर गललल हास्छौं ।


यो बर्षको खडेरीले हाम्रो खेतमा फूल खेल्दै गरेको गहुँको बोट सुकाएर सोत्तर पार्छ । हामी चिन्तित होक्सेबासीका साथै साधुटार, गिद्दे, बर्फल्याङ जस्ता छिमेकी गाउँका किसानहरू आलोपालो गर्दै हिउँदमास सुक्दै गएको बिरिङ्ग खोलाबाट पैनीमा पानी ल्याएर गहुँखेतमा सिंचाई गर्छौ । आज राती हाम्रो पानीको पालो पर्ने भएकाले म लगायत हामी आठदश जना लाठेहरू फरुवा र झम्पल बोकेर बिरिङ्ग खोलामा रहेको मलामी टहराको छेउमै रहेको पैनीको मुहानतिर लाग्छौं ।


बिरिङ्ग खोलाको खारखोले भिर नजिकै रहेको चिता जलाउने मसानघाटमा होक्से लगायत छिमेकी गाउँमा मृत्यु भएका मानिसका लासहरू ल्याएर दाहसंस्कार गर्ने गरिन्छ । मसानघाट नजिकै रहेको टहरामा मृतकको अन्त्येष्टि पश्चात मलामीहरूलाई चियापानी गराउने गरिन्छ । मलामी टहराको नामले चिनिने त्यस सितल बिसौनीमा पहाडबाट बुधबारे र शनिश्चरे बजार भर्न झरेका बटुवाका साथै भरियाहरूले पनि बिश्राम गर्ने गर्छन् ।


औंशीको कालो रातमा खोलापारी देवीथानमा मधुरो दियो बलेको देखिन्छ । माथी माटे र भोटेटार गाउँका एकाध घरमा धिपधिप बलेको टुकी र जुनकिरीको पिलपिले उज्यालो बाहेक चौतर्फी निस्पट अन्धकार छाएको छ। शान्त रातमा झ्याउँकिरीको झ्याउँझ्याउँ र बिरिङ्ग खोलामा कलकल गरेर बगिरहेको पानीको आवाज बाहेक घरिघरी खोलापारी नेते गाउँबाट स्याल कराएको र छेउकै एणी गाउँबाट कुकुर भुकेको आवाज आइरहन्छ ।


मध्यराती खोलाको भंगालो थुनेर पैनीमा पानी फर्काइसकेपछि मलामी टहरामा बसेका हामी घरबाट पोलेर ल्याएको हरियो मकैको खाजा दार्दै गफ्फिन थाल्छौं । हामीलाई अचानक मसानघाटमा कोही सल्बलाएको र कसैले गुनगुनाएको जस्तो आभास हुन्छ । चकमन्न मध्यरातमा मसानघाटमा भैरहेको असोचनिय चहलपहलले आफ्नै सुरमा रमिरहेको हाम्रो किसान टोलीलाई आश्चर्यचकित भयले सताउन थाल्छ । यस्तो भयावह परिस्थितीको सामान गर्नुपर्दा हामी अतालिन पुग्छौं तर कौतुहलतावस सम्यमित बन्दै हामी मसानघाट नजिकै गएर त्यहाँको यथर्तता बुझ्न थाल्छौं । डरले ढुकढुक गरिरहेको आफ्नो छातीलाई हातले थिच्दै हामी आँखा पनि झिमिक्क नगरिकन मसानहरूको कृयाकलापहरू हेर्न थाल्छौं ।


मसानघाटमा रहेको ठुलो चापटे ढुङ्गाको चौतारीमा नजिकैका छिमेकी गाउँहरू बर्ने र सुनमाईमा रहेका चिहानघारीका आमन्त्रित आत्माहरूका साथै त्यहीं जलेर भट्किरहेका मसानरूको बृहत भेला रहेछ । बुढाबुढी, तरुनतरुनी र केटाकेटी मसानहरू आँफु जिउँदो छँदा भोगेका दुःखसुखका कुराहरु सम्झदै एक आपसमा मनका कुरा साटासाट गरिरहेका देखिन्छन्। त्यो प्रेतात्माहरूको जमघटमा कोही अट्टहास गर्दै हाँस्छन् भने कोही चिच्याएर रुन थाल्छन् । ती मध्ये कोही अपाङ्ग, कोही अन्धा तथा कोही लाटाबैरा जस्ता पनि देखिन्छन् । एकछिनमा त्यहाँ नाचगान सुरु हुन्छ।त्यो चौतारीमा टाउको नभएका मुर्कुटा र जगल्टा फिजाएका किचकन्याहरू हावामा उफ्रदै हल्ली हल्ली नाच्न थाल्छन् । तन्नेरी मसानहरू आफ्ना तिघ्रा ठटाउँदै गीत गाउन थाल्छन् । पाका र बाल मसानहरू आ–आफ्नै तालमा रमाइरहेका हुन्छन् । मसानघाटमा आजै जलाइएको लासको नवआत्मा अन्य पुराना मसानहरूको कृयाकलाप हेर्दै रमाउन थाल्छ । मसानहरूको भोज आयोजनार्थ चौतारीको बिचमा थुपारिएका आधा दर्जन बडेमानका मृत पशुका मासु तँछाड् मछाड् गरेर लुस्दै मसानहरूले आफ्नो भोज सुरु गर्छन् ।


‘प्यारा साथीहरू ! ’यहाँ भेला भएर यस मसान चौतारीको शोभा बढाइदिनुभएकोमा सम्पूर्ण आत्माहरूलाई म हार्दिक धन्यवाद दिन चाहन्छु ।’ सबै मसानहरू शान्त हुँदै सभाको अध्यक्षता गरिरहेका ढाड कुप्रे जेष्ठ मसानको सम्बोधन सुनेर पररर ताली पिट्छन् ।’अब म पालै पालो गरेर आ–आफ्ना मन्तब्यका साथै पूर्वजन्ममा घटेका आफ्ना दुःख सुखका कुराहरु सबैसामु राख्न यहाँ उपस्थित सम्पूर्ण मसानहरूलाई अनुरोध गर्दछ ु।’ यसो भन्दै सभाध्यक्ष आफ्नो आसनमा गएर बस्छन् । ’म बिरामी बुढोलाई आफ्नै छोराबुहारीले पिट्दै घरबाट निकाले।म भोकप्यास र दर्द सहन नसकेर घाँटीमा पासो लगाई आत्महत्या गर्न वाध्य भएँ । ’एउटा पाको मसानले रूँदै आफ्नो मन्तब्य राख्छ।’म एउटा यौन पिपासु मालिकद्वारा बलत्कार पश्चात घाँटी थिचेर मारिएँ।’भक्कानिदै एउटी बालमजदुर बालिका मसानले आफ्नो पीडा सुनाउछे ।

’म कुटाइ खाइरहने पतिपीडित असहाय नारीलाई आफ्नै पति, सासू, नन्द र सौता मिलेर झुन्ड्याएर मारे’ एउटी खोरन्डी चुडेलले बलिन्द्र आँशुका धारा बगाउँदै आफ्नो भनाई राख्छे । ’म लाउँला र खाउँला भन्ने उमेरमा भर्खर बिहे गरेर ल्याएकी आफ्नी जवान श्रीमतीलाई बिधुवा बनाएर युद्दमा मारिएको एउटा योद्दा हुँ।’एउटा जवान सिपाहीको अतृप्त आत्माले सुक्सुकाउँदै आफ्नो दुखेसो पोख्छ ।’मलाई भुँडी बोकाएपछि मेरो धोकेबाज प्रेमीले मलाई भिरबाट खसालेर मार्यो ।’ एउटी दोजिया किच्कन्याले कहालिदै आफ्नो पीर ओकल्छे । यसरी आयु नपुग्दै बिभिन्न कारणले अकालमै मृत्युवरण गरेका आत्माहरूको रोदनले मसान चौतारीमा भेला भएका सम्पूर्ण आत्माहरूलाई भावबिव्हल बनाउँछ ।


कालगतीले मरेका मोक्षउन्मुख आत्माहरूले भौंतारिएर रोइरहेका आत्माहरूलाई सान्त्वना दिन्छन् । मसानहरूका पीडाब्यथा र क्रन्दन सुनेर उनीहरूलाई चिहाइरहेका हाम्रा आँखाहरू पनि रसाउन थाल्छन् । खोलापारीको गाउँमा भाले बास्छ । चराहरू चिरबिर गर्न थाल्छन् । सुर्योदयसँगै कलिलो प्रकाशको चुम्बनले क्षितिज बिस्तारै रक्तिम बन्न थाल्छ । सिर्सिर बताससँगै बिस्तारै बिहानीको आगमन हुन थाल्छ । एक जना वरिष्ठ मसानद्वारा चौतारीको सभा बिसर्जन भएको घोषणा गरिन्छ । तत्पश्चात् सबै आत्माहरू सभाबाट अचानक गायव हुन्छन् । रित्तो मसान चौतारीमा हिजो लास पोलेर बाँकी रहेको मुढाको ठुट्टो धुँवाइरहेको हुन्छ । हामीहरू पनि आँखा मिच्दै आ–आफ्ना फरुवा र झम्पल बोकेर पैनीको पानी डोर्याउँदै घरतिर लाग्छौं ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *