झापा, १२ चैत । कन्काइ–३ स्थित सुरुङ्गामा कोरोनाका कारण एक महिलाको मृत्यु भएको छ ।
सुरुङ्गाकी ३९ वर्षीया महिलाको वीएण्डसी अस्पताल बिर्तामोडमा कोरोनाका कारण बिहीबार बिहान मृत्यु भएको हो ।
सुरुङ्गा बजारमा पसल गरी बस्ने उनको वीएण्डसी अस्पतालमा बिहान ४ बजे मृत्यु भएको स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईले बताए ।
१० दिन अघि मात्र ती महिला भारत आफन्तकोमा पुगी घर फर्किएको कनकाई नगरपालिका कोरोना फोकल पर्सन नारायण अधिकारीले जानकारी दिए । भारतबाट घर फर्किएसँगै श्वास प्रश्वासमा समस्या देखिएपछि उनलाई बिर्तामोडको बिर्ता सिटी अस्पताल भर्ना गरिएको थियो ।
उपचारका क्रममा उक्त महिलामा कोरोना पुष्टि भएसँगै थप उपचारका लागि बीएण्डसी रेफर गरिएको थियो । उपचारकै क्रममा कोरोना संक्रमित महिलाको आज मृत्यु भएको हो ।