बुद्धशान्ति । झापामा आज बिहान कोरोना संक्रमणबाट मृत्यु भएका बुद्धशान्ति गाउँपालिका वडा न. ३ का ६८ वर्षिय देवशंकर लावुङको अन्त्योष्टि गरिएको छ ।
उनको आज बिहान ७ बजे बिर्तामोडको बिर्तासिटि हस्पिटलमा मृत्यु भएको थियो । उनी कात्तिक १ गते अस्पताल भर्ना भएका थिए । उनको हिजो पिसिआर परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको थियो ।
लावुङको शवलाई नेपाली सेनाको सहयोगमा बुद्धशान्ति स्वास्थ्य शाखाले व्यवस्थापन गरेको शाखा प्रमुख भोला अधिकारीले बताए ।
“१ हजार ३ सय ३७ जनाको पिसिआर गरिएकोमा पोजेटिभ संख्या ५३ जना, ४१ जना संक्रमित निको भएका, ९ जना होम आइसोलेसनमा बसेका र १ जना हस्पिटल आइसोलेसनमा बसेका छन् ।”
बुद्धशान्तिमा आजका मितिसम्म एकहजार तीनसय सैँतिस जनाको पिसिआर गरिएकोमा पोजेटिभ संख्या ५३ जना रहेको बुद्धशान्ति गाउँपालिका स्वास्थ्य शाखा प्रमुख भोला अधिकारीले बताएका छन् । जसमा ४१ जना संक्रमित निको भएका, ९ जना होम आइसोलेसनमा बसेका र १ जना हस्पिटल आइसोलेसनमा बसेका छन् ।
कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या बुद्धशान्तिमा २ र झापामा ८७ पुगेको छ ।