Search
Close this search box.
Search
Close this search box.

चार महिनामा १३ अर्बभन्दा बढीको खाद्यान्न नेपाल भित्रियो

चालु आर्थिक वर्ष २०८०/०८१ को प्रथम चार महिना अर्थात् साउनदेखि कात्तिकसम्म नेपालको कुल वैदेशिक व्यापार अघिल्लो वर्षको सोही अवधिको तुलनामा ४.२ प्रतिशतले घटेर छ खर्ब ५३ अर्ब सात करोडमा झरेको छ । व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको तथ्यांकअनुसार नेपालको कुल निर्यात ७.७ प्रतिशतले घटेर ५० अर्ब ५७ करोड तथा कुल आयात ३.८ प्रतिशतले घटेर पाँच खर्ब १२ अर्ब ५० करोडमा सीमित भएको छ । अघिल्लो आर्थिक वर्ष २०७९/०८० को प्रथम चार महिना अवधिमा निर्यात-आयात व्यापारको अनुपात १ः९.७ रहेकोमा २०८०/०८१ को सोही अवधिमा सोे अनुपात १ः१०.१ रहन आएको छ ।

खाद्यान्न आयात ११.२ प्रतिशतले बढेर १३ अर्ब १६ करोड पुगेको छ भने तयारी पोशाक पनि ५० प्रतिशतले बढेर १५ अर्ब ४९ करोड पुगेको छ । 

सो अवधिमा नेपालबाट निर्यात भएका प्रमुख वस्तुमा फलाम तथा फलामका उत्पादन, यार्न, ऊनी गलैंचा, तयारी पोशाक, जुस, अलैंची, प्लाइउड, जुट तथा जुटका सामान, ऊनी फेल्टका उत्पादन, पामतेल, चिया, पश्मिना सल, कुकुर बिरालाका आहारा, पिना, जडीबुटी, कपडा, चाउचाउ, सिमेन्ट क्लिंकर र तामा तथा तामाका उत्पादन प्रमुखरूपमा रहेका छन् । समीक्षा अवधिमा फलाम तथा फलामजन्य उत्पादनको निर्यात ९३.६ प्रतिशतले बढेर पाँच अर्ब ७० करोड पुगेको छ भने यार्न निर्यात ३.५ प्रतिशतले घटेर तीन अर्ब ८४ करोडमा सीमित भएको छ । ऊनी गलैंचा निर्यात पनि ५.८ प्रतिशतले घटेर तीन अर्ब ७० करोडमा झरेको छ । तयारी पोशाक निर्यात भने १२.० प्रतिशतले बढेर तीन अर्ब २२ करोड पुगेको छ । समीक्षा अवधिमा जुट तथा जुटका उत्पादन निर्यात ४.६ प्रतिशतले घटेर दुर्ई अर्ब ५१ करोडमा सीमित भएको छ ।

त्यसैगरी अर्को प्रमुख निर्यातजन्य ऊनी फेल्टको निर्यात पनि ५.५ प्रतिशतले घटेर एक अर्ब ७९ करोडमा सीमित भएको छ । तर, जुस निर्यात भने ४५.३ प्रतिशतले बढेर दुई अर्ब ८५ करोड पुगेको छ । पामतेलको निर्यात ८१.२ प्रतिशतले घटेर एक अर्ब ८८ करोडमा सीमित भएको छ भने कृषिजन्य वस्तुको निर्यातमा अग्रणी स्थान हासिल गरिरहेको अलैंची निर्यातमा समीक्षा ९.९ प्रतिशतले बढेर दुई अर्ब १५ करोड पुगेको छ ।
त्यस्तै कृषिजन्य वस्तुको निर्यातमा अग्रणी स्थान हासिल गरिरहेको अर्को उत्पादन चिया निर्यात भने १६.३ प्रतिशतले घटेर एक अर्ब ४९ करोडमा सीमित भएको छ । समीक्षा अवधिमा अदुवा निर्यात भने ८९.९ प्रतिशतले बढेर ५७ करोड पुगेको छ । नेपालको निर्यात व्यापारमा प्रमुख स्थान ओगट्ने भारततर्फको निर्यातमा समीक्षा अवधिमा १४.५ प्रतिशतले घटेर ३३ अर्बमा झरेको छ । नेपालको कुल निर्यात अघिल्लो आर्थिक वर्षको सोही अवधिमा भारततर्फको हिस्सा ७०.५ प्रतिशत रहेकोमा चालु आर्थिक वर्षमा सो हिस्सा ६५.३ प्रतिशतमा झरेको छ ।

नेपालको निर्यात व्यापारमा महत्वपूर्ण रहेका अन्य मुलुकमा अमेरिका, जर्मनी, युके, युएई, चीन, फ्रान्स, अष्ट्रेलिया, जापान, इटाली, क्यानडा, डेनमार्क, टर्की र नेदरल्याण्ड्स प्रमुखरूपमा रहेका छन् । आयाततर्फ समग्रमा २०८०/०८१ को प्रथम चार महिनामा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा पेट्रोलियम ९.५ प्रतिशतले घटेर ८८ अर्ब ९८ करोडमा झरेको छ भने फलाम तथा स्टिल र तिनका उत्पादन आयात पनि ७.६ प्रतिशतले घटेर ४४ अर्ब ४३ करोडमा झरेको छ । मेसिनरी तथा पार्ट्स ७.६ प्रतिशतले घटेर ३२ अर्ब नौ करोडमा सीमित भएको छ । कच्चा भटमास तेल आयात पनि ६८.५ प्रतिशतले घटेर पाँच अर्ब ७६ करोडमा झरेको छ । औषधि आयात पनि २०.८ प्रतिशतले घटेर १२ अर्ब ८७ करोडमा झरेको छ भने इलेक्ट्रिक र इलेक्ट्रोनिक सामग्री ५.३ प्रतिशतले बढेर २१ अर्ब ९८ अर्ब करोड पुगेको छ । यातायातका साधन र तिनका पार्टपूर्जा आयात २३.० प्रतिशतले बढेर २३ अर्ब ८१ करोड पुगेको छ । कच्चा पामतेल आयात ६४.८ प्रतिशतले घटेर चार अर्ब ५२ करोडमा सीमित भएको छ ।

खाद्यान्न आयात ११.२ प्रतिशतले बढेर १३ अर्ब १६ करोड पुगेको छ । तयारी पोशाक आयात पनि ५०.० प्रतिशतले बढेर १५ अर्ब ४९ करोड पुगेको छ । दूरसञ्चार सामग्रीको आयात ०.६ प्रतिशतले बढेर १४ अर्ब २४ करोड पुगेको छ भने सुन आयात ५५.० प्रतिशतले घटेर आठ अर्ब ९० करोडमा झरेको छ । आयात व्यापारमा प्रमुख मुलुकमा भारत, चीन, युएई, युक्रेन, मलेसिया, फ्रान्स, अस्ट्रेलिया, इण्डोनेसिया, अमेरिका, अर्जेन्टिना, थाइल्याण्ड, जापान, संयुक्त अधिराज्य र जर्मनी प्रमुखरूपमा रहेका छन् । चालु आर्थिक वर्ष २०८०/०८१ को प्रथम चार महिनामा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा व्यापार घाटा ३.३ प्रतिशतले घटेर कुल व्यापार घाटा चार खर्ब ६१ अर्ब ९३ करोडमा झरेको केन्द्रले जनाएको छ ।-हिमालयन टाइम्समा खबर छ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *