झापा : घस्रने जातको संरक्षित वन्यजन्तुमा सूचीकृत अजिंगर झापाको विभिन्न स्थानमा भेटिन थालेका छन्।
गत मंसिरको पहिलो साता भद्रपुर नगरपालिका–३ का अनही राजवंशीको खेतमा मोटो र लामो सर्प भेटियो। काउलीबारीमा दिउँसो देखापरेको सो सर्प अजिंगर रहेछ। स्थानीयले प्लास्टिकको जालीले बेरेर घिस्याउँदै खेतबाट बाहिर निकालेर प्रहरीलाई खबर गरे।
प्रहरीले नियन्त्रणमा लिएर अजिंगर डिभिजन वन कार्यालय झापामा बुझायो। अजिंगर भेटिएको यो स्थान मेची नदी पूर्व नेपालको सीमान्त गाउँ पर्छ। यति टाढा गाउँमा अजिंगर कसरी पुग्यो भनेर वन कर्मचारी पनि अचम्मित छन्।
त्यसैगरी, भद्रपुर–५ स्थित लक्ष्मण प्रधानको आँगनमा कदमको रूखमा बेरिएर बसेको ठूलो अजिंगर फेला परेपछि गाउँ त्रसित बनेको थियो।
१० केजी तौलको सो अजिंगरलाई वन कर्मचारी र प्रहरीले उद्धार गरेर चारआली जंगलमा छाडिदिएका थिए। अजिंगर दुर्लभ जातको भएको पत्ता लागेको थियो।
अर्जुनधारा, हल्दिबारी, केचनाकबल, बाह्रदशीलगायत पालिकामा मानिसका खेतबारी र साना खोल्साहरुमा अजिंगर भेटिने गरेका छन्। यी क्षेत्र झापाको जलथल जंगल वरिपरि पर्छ। जलथल जंगल अजिंगरको मुख्य वासस्थान मानिएको छ।
जिल्लाका विभिन्न पालिकामा भेटिएका अजिंगरको उद्धार गरी डिभिजन वन कार्यालय झापाको उद्धार टोलीले प्राकृतिक वासस्थान स्थानीय सामुदायिक वनमा सुरक्षित लगेर छाड्ने गरेको जनाएको छ।
वनको उद्धार टोलीले चालु आर्थिक वर्षको ५ महिनामा नै ६ वटा अजिंगरको उद्धार गरेर प्राकृतिक वासस्थानमा छाडेको जनाएको छ।
गत आव ०७९/८० मा ११ वटा विभिन्न जातका अजिंगर मानिसहरुको घरको आँगन, खेत र सडकबाट उद्धार गरिएको डिभिजन वन कार्यालय झापाका अधिकृत ऋषि पराजुलीले बताए।
उनका अनुसार उद्धार गरिएका सबै अजिंगरलाई प्राकृतिक वासस्थानमा छाडिने गरिएको छ। उनले ५ केजीदेखि १६ केजीसम्मका अजिंगर फेला परिरहेको जानकारी दिए।
‘यो संरक्षित वन्यजन्तुमध्येको घस्रने जन्तु हो,’ उनले भने, ‘मानिसहरु सचेत छन् दुर्लभ जन्तु भन्ने ज्ञान छ। फेला पर्नेबित्तिकै खबर गर्छन्। हामी उद्धार गरिरहेका छौँ।’
जीव वैज्ञानिक तथा हाल प्रतिनिधिसभा सदस्य डा केआर खम्बूले जिल्लामा पाइने अजिंगरहरु दुर्लभ जातिको रहेको बताए। उनले चिसो मौसममा तातो खोज्दै जंगलबाट अजिंगरहरु बाहिर निस्कने गरेको जानकारी दिए।
‘घस्रने जातका जन्तुहरुको रगत चिसो हुन्छ,’ उनले भने, ‘हिउँदको समयमा घाम ताप्न बाहिर निस्कने गर्छन्।’ उनका अनुसार अजिंगर मांसाहारी हुने हुँदा जंगलमा प्रशस्त मात्रमा आहारा पाउने गर्छन्।
मानिसको अतिक्रमण बढ्दै जाँदा आहाराको खोजीमा अजिंगर गाउँबस्ती प्रवेश गर्ने सम्भावना पनि उनले औँल्याए।
थहा खबरबाट