आयुष निरौला, बुद्धशान्ति, माघ १२।
डिफेन्डिङ च्याम्पियन बिर्तामोड नगरपालिका र कनकाई नगरपालिका बुद्धशान्तिमा जारी दोस्रो संस्करणको झापा जिल्ला अन्तरपालिका टी-२० क्रिकेट प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेका छन्।
आज भएको पहिलो खेलमा बिर्तामोड नगरपालिकाले कमल गाउँपालिकालाई ८७ रनको फराकिलो अन्तरले पराजित गर्यो। टस जितेर पहिले ब्याटिङ गरेको बिर्तामोड नगरपालिकाले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २१४ रन बनाएको थियो। २१५ रनको लक्ष्य पछ्याएको कमल गाउँपालिकाले २० ओभर खेल्दै ९ विकेट गुमाएर मात्र १२७ रन बनाउन सक्यो। बिर्तामोडका लागि २७ बलमा ५४ रन बनाएका आदर्श सरिया ‘म्यान अफ द म्याच’ घोषित भए।
त्यसैगरी, दोस्रो खेलमा बाह्रदशी गाउँपालिकाविरुद्ध कनकाई नगरपालिकाले ३४ रनले जित दर्ता गरेको छ। पहिले ब्याटिङ गरेको कनकाई नगरपालिकाले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १८२ रन बनाएको थियो। १८३ रनको लक्ष्य पछ्याएको बाह्रदशी गाउँपालिकाले ८ विकेट गुमाउँदै १४८ रन मात्र बनाउन सक्यो। कनकाईको जितमा ब्याटिङमा २६ रन बनाउनुका साथै बलिङमा २ विकेट लिएका अनिश न्यौपाने ‘म्यान अफ द म्याच’ घोषित भए।
भोलि माघ १३ गतेको पहिलो खेल झापा गाउँपालिका र शिवसताक्षी नगरपालिकाबीच हुनेछ भने दोस्रो खेल मेचीनगर नगरपालिका र हल्दिबारी गाउँपालिकाबीच हुने जानकारी आयोजक वर्षा स्मृति प्रतिष्ठानका सदस्य गोकुल पौडेलले दिएका छन्।
प्रतियोगिताको विजेताले नगद १ लाख ५० हजार रुपैयाँ, मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले नगद ७५ हजार रुपैयाँ, मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने प्रतियोगिता अध्यक्ष मदन प्रसाईंले जानकारी दिएका छन्।