Search
Close this search box.
Search
Close this search box.

डुब्दैन भनिएको टाईटानिक पानी जहाज किन डुब्यो ?

भुवन तामाङ
आजभन्दा ठीक ११२ वर्षअघि टाइटानिक पानी जहाज अँध्यारो रातमा हिमशैलसँग ठोक्कियो । त्यतिबेला जहाजका अधिकांश यात्रु मस्त निद्रा थिए ।
दुर्घटनाको समयमा टाइटानिक ४१ किलोमिटर प्रतिघण्टाको गतिमा इंग्ल्यान्डको साउथ ह्याम्पटनबाट अमेरिकाको न्युयोर्कतर्फ जाँदै थियो र त्यसको तीन घण्टाभित्रै सन् १९१२ अप्रिल १४ र १५ को मध्यरातमा टाइटानिक जहाज एटलान्टिक महासागरमा डुबेको थियो । डुब्नेबारे कहिल्यै चर्चा नगरिएको जहाज पहिलो यात्रामै डुब्यो । करिब १५०० यात्रुको मृत्यु भएको थियो ।

दुर्घटनाले जहाज दुई टुक्रा भएको थियो भने दुवै भाग एकअर्काबाट ८ सय मिटरको दूरीमा उछिटिएका थिए । दुर्घटना भएको यतिका वर्ष बितिसक्दा पनि दुर्घटनाको रहस्य अझै पत्ता लागेको छैन साथै मानिसहरुले टाइटानिकलाई बिर्सन सकेका छैनन् ।
यस विशाल जहाजको बारेमा भनिएको थियो कि यो कहिल्यै डुब्दैन । परमेश्वरले पनि यसलाई डुबाउन सक्दैनन् । रियो डी जेनेरियोको फेडरल युनिभर्सिटीको नेभल एन्ड ओसियन इन्जिनियरिङ विभागका प्राध्यापक तथा इन्जिनियर अलेक्जेन्डर दा पिन्हो अल्होले भनेका छन्, इन्जिनियरिङको दृष्टिकोणबाट हेर्दा यो निकै राम्रो डिजाइनद्वारा विकास गरिएको पहिलो पानी जहाज थियो । जहाजमा धेरै वाटरटाइट कम्पार्टमेन्टहरू बनाइएका थिए ।

अर्थात् जहाजको एउटा कोठा पानीले भरिएमा अर्को कोठामा पानी पस्न सक्दैनथ्यो । प्राध्यापक अल्होका अनुसार, प्राविधिकहरुले धेरै सोचविचार गरेर जहाजको उचाइ निर्धारण गरेका थिए । दुर्घटना हुँदा पानी डेकको उचाईसम्म नपुग्ने आकलन गरेका थिए । तर कसैले पनि हिमशैलसँग बलियो टक्करको बारेमा सोचेका थिएनन् । यसको प्रभाव यति कडा थियो कि जहाजको मुख्य शरीर या बडी आधा लम्बाइसम्म छेडिएको अर्थात ठूलाठूला प्वाल पर्नेगरी कोतरिएको थियो । जसले गर्दा पानी भरिएर डेकसम्म पुग्यो र पानी जुन गति र परिमाणमा जहाजमा पस्यो त्यो गतिमा पानीलाई पम्प गरेर फाल्न असम्भव भयो । जहाज र नेभिगेटर बनाउने सिभिल इन्जिनियर थियरी भन्छन्, टाइटानिकलाई यसरी प्रचार गरिएको थियो कि यो डुब्न सक्दैन । यसको कारण यो थियो कि धेरै बेसमेन्टहरू बनाइएका थिए जुन वाटरटाइट वालहरूबाट बनाइएका थिए । तर त्यतिबेला टाइटानिक शुद्ध स्टीलबाट बनेको भएपनि स्टिल आजको जस्तो बलियो थिएन ।


विज्ञहरूका अनुसार हिमशृङ्खलाले भरिएको क्षेत्र भएर आवतजावत गर्नुपर्ने कठिनाइकाबीच पनि टाइटानिकले छिटो यात्रा पूरा गर्नुपर्ने ठूलो दबाब थियो । वास्तवमा यो दबाब ब्लु ब्यान्ड हासिल गर्नका लागि थियो । सन् १८३९ देखि एटलान्टिक महासागर पार गर्ने सबैभन्दा तीव्र गतिको जहाजलाई यो सम्मान दिइएको थियो । टाइटानिकलाई यो सम्मानका लागि सबैभन्दा बलियो दाबेदार मानिएको थियो ।


प्रोफेसर अल्होका अनुसार, त्यो युगअनुसार टाइटानिक बनाउनका लागि उत्कृष्ट इन्जिनियरिङ र टेक्नोलोजीको प्रयोग गरिएको थियो । त्यतिबेला समुद्री जहाज बनाउन विश्वका ठूला कम्पनीहरूबीच र इङ्ल्यान्ड र जर्मनीबीच पनि सबैभन्दा लामो र सबैभन्दा छिटो चल्ने पानीजहाज बनाउने होडबाजी चलेको थियो । सबैभन्दा ठूलो र सबैभन्दा छिटो जहाजले आधिकारिक रूपमा ब्लु ब्यान्ड प्राप्त गर्थे । यो उपलब्धि हासिल गर्न कुनै पनि जहाजको लागि पहिलो यात्रा सबैभन्दा महत्वपूर्ण मानिएको थियो । टाइटानिकले पनि उच्च गति प्राप्त गर्ने प्रयास गर्यो । दुर्घटनाबाट बाँचेका धेरैले जहाजका क्याप्टेनले बाटोमा हिमशैल भएको सूचना पाए पनि सबैभन्दा तीव्र गतिमा एटलान्टिक महासागर पार गर्ने लक्ष्य हासिल गर्न चाहेकाले जहाजको गति कम नगरेका होलान् ।


टाइटानिक जहाजमा चालक दलका सदस्य र यात्रुसहित करिब तीन हजार ३०० जना अट्ने क्षमता थियो । टाइटानिक दुर्घटनामा धेरै यात्रुको मृत्य भएका कारण पनि समुद्री जहाजको सुरक्षाका लागि राडारजस्ता उपकरणको प्रयोग सुरु गरियो । प्राध्यापक अल्हो भन्छन्, राडारको प्रयोग दोस्रो विश्वयुद्धपछि मात्र सुरु भयो । त्यो भन्दा पहिले सबै कुरा आँखाले देखेको दृष्यमा निर्भर थियो । एक जना नाविक उचाईमा बस्दथे जहाँबाट उनले जहाज अगाडि आइसबर्ग देखेर चालकदललाई सतर्क हुन संकेत गर्दथे ।
आजकाल, राडार र सोनार जस्ता उपकरणहरुले पहिल्यै हिमशैलहरू पत्ता लगाउँदछ । जहाज चालकदलका लागि समुद्री यात्राको दौडान समुद्री मानचित्रण वा समुद्री यात्राहरूको चार्टहरू अधिक आधुनिक रूपमा उपलब्ध छन् । टाइटानिक ओभर स्पिड र बाटोमा के छ ? भनेर पत्ता लगाउने सटिक उपकरण बिहीन भएका कारण डुबेको थियो । दुर्भाग्यवश टाइटानिक दुर्घटनामा धेरै मानिसको मृत्यु भयो किनभने उनीहरूका लागि पर्याप्त लाइफबोट थिएन । प्राध्यापक अल्हो भन्छन्, यो जहाज कहिल्यै डुब्न सक्दैन भन्ने मान्यताका कारण जहाजमा धेरै कम लाइफबोट राखिएका थिए ।

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *