Search
Close this search box.
Search
Close this search box.

डोनाल्ड ट्रम्पविरुद्ध दुई महाभियोग प्रस्ताव

छोटकरीमा

  • गत साता क्यापिटल बिल्डिङमा भएको हिंसामा उनको भूमिकालाई लिएर डेमोक्रेटिक पार्टीले महाभियोग दर्ता गराएको हो।
  • अमेरिकी सिनेटकी स्पिकर न्यान्सी पेलोसीसहित उनको डेमाक्रेटिक पार्टीका कतिपय नेता ट्रम्पलाई जतिसक्यो छिटो ह्वाइट हाउसबाट बाहिर निकाल्न चाहन्छन्।
  • राष्ट्रपतिलाई महाभियोग लगाएर पदबाट हटाउनका लागि दुईतिहाइ सिनेटरको सहमति आवश्यक पर्छ। डेमाक्रेटिकको बहुमत भए पनि दुईतिहाइका लागि रिपब्लिकनको सहमति लिन सक्नुपर्छ ।

काठमाडौं। अमेरिकी संसद्मा केही घण्टाअघि राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध दुईवटा महाभियोग प्रस्ताव दर्ता गरिएको छ। गत साता क्यापिटल बिल्डिङमा भएको हिंसामा उनको भूमिकालाई लिएर डेमोक्रेटिक पार्टीले महाभियोग दर्ता गराएको हो।

प्रस्तावमा ट्रम्पमाथि विद्रोह भड्काएको आरोप लगाइएको छ। र, दाबी गरिएको छ कि अमेरिकी संसद्मा हिंसालाई ट्रम्पले सक्रिय ढंगमा प्रोत्साहित गरेका छन्।

अमेरिकी सिनेटकी स्पिकर न्यान्सी पेलोसीसहित उनको डेमाक्रेटिक पार्टीका कतिपय नेता ट्रम्पलाई जतिसक्यो छिटो ह्वाइट हाउसबाट बाहिर निकाल्न चाहन्छन्। उनलाई पदबाट हटाउने एक तरिका महाभियोगको प्रयोग हो। यसमा स्पिकर पेलोसीले जोड दिँदै आएकी छन्।

बुधबार अमेरिकी संसद्मा भएको हमला र जबर्जस्ती भित्र प्रवेश गर्ने हुलदंगा समूहलाई उक्साउने काम राष्ट्रपति ट्रम्पले गरेको हुनाले महाभियोग वा २५औं संशोधनको प्रयोगबाट उनलाई तत्कालै पदबाट हटाउनुपर्ने डेमोक्रेट सांसदहरुले बताएका थिए।

यतिखेर अमेरिकामात्र होइन, यसमा चासो राख्ने अन्यत्र पनि राष्ट्रपति ट्रम्पलाई दोस्रो पटक महाभियोग लगाउन सकिएला भन्ने प्रश्न उठिरहेको छ। के उनी दुई पटक महाभियोग सामना गर्ने पहिलो अमेरिकी राष्ट्रपति होलान् तरु अमेरिकी कांग्रेसको तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभ्समा डेमाक्रेटिक पार्टीको बहुमत छ। पार्टी सदस्यहरु अहिले महाभियोग अघि बढाउन काम गरिरहेका छन्।

दुई महाभियोगमध्ये एक डेमाक्रेटिक पार्टीकी सदस्य इलहान उमरले तयार गरेकी हुन्। दोस्रो भने यही पार्टीका जेमी रस्किनले तयार पारेका हुन्।

राष्ट्रपतिलाई हाउसमा महाभियोग लगाउन बहुमत चाहिन्छ। र, बहुमत डेमाक्रेटिकसँगै छ। यसकारण पनि महाभियोगमा कुनै बाधा आउने छैन। यतिसम्म अनुमान गरिँदैछ कि, ट्रम्पकै पार्टी रिपब्लिकनका केही सांसदसमेत महाभियोगको पक्षमा मत दिनेछन्।

यसअघि ट्रम्पले महाभियोग सामना गर्दा त्यसको प्रक्रिया पूरा गर्न लामो समय लागेको थियो। यस पटक त्यसो नहुने बताइन्छ, यही साता प्रक्रिया पूरा हुने अपेक्षा गरिएको छ। यसबारे चाँडै नै मतदान हुनेछ।

राष्ट्रपतिलाई महाभियोग लगाएर पदबाट हटाउनका लागि दुईतिहाइ सिनेटरको सहमति आवश्यक पर्छ। डेमाक्रेटिकको बहुमत भए पनि दुईतिहाइका लागि रिपब्लिकनको सहमति लिन सक्नुपर्छ।

के रिपब्लिकनले त्यसो गर्लान् ?

यतिखेर भने त्यसो हुन सक्ने सम्भावना कम छ।

राष्ट्रपति ट्रम्पका सहयोगी तथा रिपब्लिकनका प्रभावशाली नेता सिनेटर लिन्डसे ग्राहमले राष्ट्रपतिसँगको सम्बन्ध तोडेका छन्। तर पनि उनले ट्रम्पलाई पदबाट हटाउने सवालमा सहमति नदिने बताएका छन्। बीबीसी

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *