Search
Close this search box.
Search
Close this search box.

नेपालमा कोरोना संक्रमित विस्तारको प्रभाव: स्वदेश फर्किन आवेदन दिने कामदारको संख्या घट्दै 

काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या बढ्दै गएपछि पछिल्लो हप्ता वैदेशिक रोजगारीमा रहेका कामदारमध्ये एकजनाले पनि स्वदेश फर्किन आवेदन दिएनन् । यसअघि स्वदेश फर्किनका लागि कामदारहरुले नेपाली दूतावासहरुमा चर्को दवाब दिने गरेका थिए । 

हालसम्म १ लाख ४२ हजार ८ सय ७ जना नेपाली कामदारहरुले स्वदेश फर्किन  विदेशस्थित नेपाली दूतावासमा आवेदन गरेको भएपनि पछिल्लो हप्ता एक जनाको पनि आवेदन नपरेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सार्वजनिक गरेको साप्ताहिक प्रगति विवरणमा उल्लेख छ ।

 
गतहप्ता नेपालमा २१ हजार १ सय १४ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । यो संख्या कुल नेपालमा हालसम्म देखिएका कुल संक्रमितको करिब २० प्रतिशत हो । आइतबारसम्म नेपालमा १ लाख ७ हजार ७ सय ५५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

हालसम्म १ लाख ४२ हजार ८ सय ७ जना कामदारले स्वदेश फर्किन  विदेशस्थित नेपाली दूतावासमा आवेदन गरेकोमा असोज २२ गतेसम्म ८६ हजार ९ सय ७० जनाले स्वदेश फर्किने अवसर पाएका छन् । 

कोभिड १९ क्राईसिस म्यानेजमेन्ट कमिटी (सीसीएमसी) ले आइतबार साँझसम्म १ लाख २ हजार ४ सय ३६ नेपालीको उद्धार भएको जनाएको छ । त्यसमा वैदेशिक रोजगारीमा नेपाली कामदार जाने प्रमुख गन्तव्य मुलुकबाट फकिएकाहरुको संख्या ९४ हजार २ सय ९४ रहेको  छ ।

सबैभन्दा बढी यूएईबाट फर्किएका छन् । उक्त मुलुकबाट २९ हजार ४ सय ३२ जना स्वदेश फर्किएका छन् । प्रमुख रोजगार गन्तव्य मुलुकमध्ये कतारबाट १५ हजार ८ सय १७,   साउदी अरेबियाबाट १५ हजार ६ सय ४७, मलेसियाबाट १४ हजार ७ सय १८, ओमानबाट १ हजार ६ सय ३९, कुवेतबाट ९ हजार ५ सय ११, बहराइनबाट १ हजार ३ सय ३९, जापानबाट २ हजार ७ सय ५६, जोर्डनबाट ५ सय ७७, टर्कीबाट १ हजार ८ सय १९ माल्दिभ्सबाट १ हजार १८ र इराकबाट ३९ जना स्वदेश फर्किएका छन् । फर्किनेमा वैदेशिक रोजगारीका क्रममा श्रम करार अवधि र भिसा सकिएका, गर्भवती, सुत्केरी, महिला, विरामी धेरै छन् ।

वैदेशिक रोजगारीमा रहेकामध्ये दैनिक करिब १ हजार पाँच सय जना नेपाली कामदारको भिसा र श्रम करार अवधि सकिने गरेको छ । कोरोना भाइरस संक्रमणपछि सरकारले गत वर्ष चैत ९ गतेदेखि नियमिततर्फका अन्तर्राष्ट्रिय हवाई उडान बन्द गरेको थियो भने जेठ ३२ गतेपछि चार्टर हवाई उडान शुरु गरेको थियो ।

वैदेशिक रोजगार बोर्डले खाडीका देश र मलेसियामा कोरोना संक्रमणका कारण कम्तीमा ४ लाख ७ हजार स्वदेश फर्किने बाध्यतामा रहेको अनुमान गरेको थियो । तर नेपालमा संक्रमतिहरुको संख्या एकै हप्तामा २१ हजार नाघेपछि त्यसको असर स्वदेश फर्किन चाहने कामदारहरुमा परेको कतिपयको विश्लेषण रहेको छ  ।

अधिकांश कामदारले स्वदेश फर्किने जहाज टिकट नपाउने र पाएपनि अत्यन्तै महँगो भएका कारण खरिद गर्न नसकेर स्वदेश फर्किन नपाएको बताउने गरेका छन् । दशैं तथा तिहारजस्ता चाडबाड नजीक आएकाले टिकट अभाव हुने गरेको कतिपयको भनाइ छ भने कतिपय नेपालमा कोरोना भाइरसको संक्रमण दर उच्च भए रोजगार गन्तव्यमा फर्किन समस्या पर्ने आंकलन गरेको हुनसक्ने पनि विश्लेषण गरिएको छ । मध्यान्ह दैनिकमा खबर छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *