विदिशा ढकाल / प्रिया जोगी । “शौचालयको महत्व अमुल्य” नारा दिएर आज विश्वभर शौचालय दिवस मनाइदैछ । ४ बर्षअघि झापामा पहिलो “खुल्ला दिसापिसाब मुक्त क्षेत्र गाउँपालिका” घोषणा गरेको बुद्धशान्ति गाउँपालिकामा यतिबेला आवश्यक सार्वजनिक शौचालय नभएको गुनासो आउँन थालेको छ ।
गाउँपालिकाले यस्ता कार्यक्रम घोषणा गरेपनी मानिसहरुको बाक्लो उपस्थिति हुने क्षेत्रमा सार्वजनिक शौचालय भने छैनन्।भएका शौचालय पनि ताला लगाइएका हुन्छन् । त्यसो त गाउँपालिका परिसरमा तत्कालिन बुधबारे गाविसले निर्माण गरेको सार्वजनिक शौचालय पनि यतिबेला इलाका प्रहरी कार्यलय बुधबारेले प्रयोग गरिरहेको छ । गाउँपालिकामा जाने सेवाग्राहीहरु कार्यलय भित्रको सौचालय प्रयोग गर्न हिच्किचाउछन।
बुद्धशान्ति गाउँपालिका उपप्रमुख मिरा भुर्तेलसँग कुरा गर्दा आगामी दिनमा गाउँपालिकाले यसतर्फ ध्यान दिने बताईन । “केही स्थानमा हामिले बनाएका पनि छौं,आगामी दिनमा यसतर्फ अलि ध्यान दिएर काम गर्नेछौं, गाउँपालिका परिसर र मुख्य बजारमा यो आवश्यक देखिएको छ”।
बुधबारे बजार स्थित हनुमान मन्दिर नजिकै रहेको सार्वजनिक शौचालयमा स्थानिय ब्यवसायी बाहेक अरुले खासै प्रयोग गरेका छैनन् । बजार आउँदा शौचले च्यापेकाहरु होटल,पसल र घरपछाडी गएर शरीर लुकाउन बाध्य छन् ।
हनुमान मन्दिर छेउको शौचालय नजिकैका एक ब्यवसायीले भने,”जानकारी नभएरै त होला, हामी यहाँ वरपर ब्यापार गर्नेले बाहेक अरु कसैले प्रयोग गरेको देखिदैन”। बजार क्षेत्रमा रहेका २ वटा शौचालयहरु झट्ट हेर्दा शौचालय जस्ता देखिदैनन्। नियालेर हेर्दा मात्रै शौचालय भन्ने थाहा हुन्छ।
मेची राजमार्ग अन्तर्गत बर्ने चिया कमानमा गत साल निर्माण भएका शौचालयमा सधै ताला लाग्ने कुरा त यसअघि नै चर्चामा आइसकेको छ।हापिन चोक र बुधबारे बजार क्षेत्रमा भएका शौचालयमा पनि कहिले पानी नहुने र फोहोर हुने गरेका गुनाशा सर्वविदितै छन् । पछिल्लोसमय बुधबारे बजारमा सडक बिस्तारसँगै मानिसहरूको आवतजावत बढेको छ।
शान्तिनगर,जयपुर,होक्से,सात नम्बर चोक,भोटेटार लगायतका क्षेत्रमा पनि सम्बन्धित वडा मार्फत सार्वजनिक शौचालय निर्माण गर्नसके सर्वसाधारणलाई सास्ती हुने थिएन । बढ्दो शहरीकरणसगै सार्वजनिक शौचालय, पार्क,खेलमैदान जस्ता बिषयमा स्थानीय निकायले ध्यान दिन आवश्यक देखिन्छ।