Search
Close this search box.
Search
Close this search box.

पुरुषोत्तम सिग्देलका तीन काव्य कृतिहरु (कृति चर्चा)

पुरुषोत्तम सिग्देल मुलतः शिक्षा सेवी हुन् । उनी पूर्व प्रधानाध्यापक हुन् । उनले लामो समयसम्म झापाको बुधबारे स्थित श्री बुद्ध आदर्श माध्यमिक विद्यालय (हाल उच्च माध्यमिक विद्यालय)मा प्रधानाध्यापकको जिम्मेवारी लिइ हजारौँ विद्यार्थीहरुमा शिक्षाको उज्यालो छरेका थिए ।

पुरुषोत्तम सिग्देल

सिग्देल विद्यार्थीहरु माझ आदरणीय, मृदुभाषी, मिलनसार थिए । उनको सेवाकालमा विद्यालयमा पठनपाठनको राम्रो व्यबस्था रहेको थियो । अतिरिक्त क्रियाकलापमा विद्यालय जिल्लामै अब्बल रहेको थियो । साहित्यिक, वक्तृत्वकला, हाजिरी जवाफ देखि धेरै किसिमका खेलकुद कार्यक्रम आयोजना भै रहन्थे । श्री बुद्ध आदर्श उच्च माध्यमिक विद्यालयले आज शैक्षिक र भौतिक रुपमा जुन उपलब्धी हासिल गरिरहेको छ यसमा पुर्व प्रधानाध्यापक सिग्देलको पनि योगदान महत्वपूर्ण रहेको छ ।

सिग्देल शिक्षा सेवीका साथसाथै एक अब्बल स्रष्टा पनि हुन् । उनमा बहुआयामिक ज्ञान रहेको छ । विशेषत संस्कृत भाषा, साहित्य, नेपाली भाषा र पूर्वीय दर्शनमा अब्बल रहेका छन् । उनी निकै अध्ययनशील र सिर्जनशील रहेका छन् । उनले हालसम्म दुई महाकाव्य सहित आठ वटा कृतिहरु सिर्जना गरि प्रकाशित गरिसकेका छन् । स्रष्टा सिग्देलका तीन कृतिहरुबारे यहाँ संक्षिप्त चर्चा गरिन्छ ।

(१) सुनाखरी (कवितासंग्रह) ः ‘कविताको मझ्यौला रुप खण्डकाव्य र बृहत् रुप महाकाव्यमा कवितासँगै आख्यान पनि बग्ने हुनाले कवित्वचेत केही तरलजस्तो लाग्छ तर लघु रुप र लघुतम रुपमा भने कवित्वशक्ती अत्यन्त सूत्रात्मक र सुक्तिपूर्ण हुनुपर्छ । त्यसैले कविको वास्तविक कवित्व परीक्षणको आधार सत्यको सूक्तीकरणलाई लिने गरिन्छ । यसकारण सुनाखरी कवितासंग्रह कवि पुरुषोत्तम सिग्देलको कवित्व परीक्षणको एउटा विशिष्ट आधार हो । यस कवितासंग्रहमा समाविष्ट कविताहरुमा विषयगत विविधता पाइन्छ । यहाँका कवितामा कविको भोगाइबाट खारिएको जीवनदृष्टि पाइन्छ । आपैm उभिएर हिँडेको माटोको मूल्य पाइन्छ । आफ्ना आँखाहरुले देखेका दृष्यहरुको चित्र पाइन्छ । सामाजिक जीवनमा असहजजस्ता लाग्ने विषय र प्रवृत्तिप्रतिको बाघे झापड पाइन्छ र आफ्नै उमेरका टुक्रा टुक्राहरु टाँसेर बनाएको युगको एउटा सुन्दर कोलाज पाइन्छ ।’ सुनाखरी कृतिबारे डा. देवी नेपालको विचारबाटै आंकलन गर्न सकिन्छ कि यस कृति र कृतिभित्रका सिर्जनाहरु कति गहन छन् भनेर ।

यस कृतिभित्रको ‘पत्लूनमै भो किन प्वाल’ शीर्षकको केही लाइन पढेर कविताको रस्वस्वादन गरौँ : ‘न छोपिने अङ्ग लुकेर बस्छ र छोपिने ह्वाङ्ग उदाङ्ग हुन्छ, उल्टा नदी बग्छ र कहीँ सानी ! पत्लूनमै भो किन प्वाल नानी ।’ त्यस्तै गरी ‘सिंह दर्वार आयो’ कविताको केही लाइन पनि पढौँ : ‘भन्थ्यो छाप्रो कसैको तरतर चुहिने छैन छाइन्छ छानो, भोका नाङ्गा रहन्नन् असक र निमुखा भर्दिने गर्छु मानो, भन्थे भाग्यै उदाए उपर छत फुटी बर्सिने भो कि क्या हो, जा जनी ! निर्मला हेर् कि त नजिक यतै सिंह दर्वार आयो ।’ यस्तै यस्तै गहन काव्य सिर्जनाहरुले भरिएका छन् यस काव्य कृति ।

यस कृतिमा तीन खण्ड छन् । ६३ वटा छोटा छोटा कविताहरु, १२ वटा गीत, गजल, समस्यापूर्ति र एउटा परिशिष्ट खण्ड रहेका छन् । कृतिभित्रका सिर्जनाहरु सबै उमेर समूहका पाठकवर्गका लागि छन् । सत्कर्म गर्नेहरुप्रतिको गुणग्राही दृष्टिकोण कवि सिग्देलका कविताका विशेषता हुन् । शब्द सौन्दर्य, भाव गाम्भीर्य, लय माधुर्यतायुक्त कविताहरुले पाठकवर्गमा बेग्लै आनन्द र ज्ञान प्रवाह गर्न सफल छन् कृतिभित्रका कविताहरु । कविताहरु विविध विषयहरुप्रति केन्द्रित छन् । देशभक्ती, जीवन जगत आदि विषयका कविताहरुले पाठक वर्गमा उच्च सन्देश छर्दछन् । विशेषतः कविताहरु समस्यापूर्ति शैलीमा लेखिएका छन् ।

स्रष्टा सिग्देलले यस कृतिमा पहाडमा बितेका आफ्नो बाल्यकाल गहिरो गरि सम्झना गरेका छन् र कविताहरुमा तिनै भावहरु व्यक्त गरेका छन् । आपूmभन्दा आफ्ना विद्यार्थीहरु काव्य (साहित्य) सिर्जनामा अगाडि रहेको बताउने सिग्देलले आपूmले चाहिँ साहित्य सिर्जना गर्न नसक्नुका कारणमा तत्कालीन राजनीतिक अवस्थालाई बाधक मानेका छन् । केही सिर्जना गर्दा पोल हालिदिनाले स्पष्टीकरण दिन हाकिमकहाँ हाजिर हुनु पर्ने बाध्यताले उ बेला साहित्य सिर्जना गर्न नसकेको सत्य कृतिमा जनाएका छन् । तर, उनका प्रकाशित कृतिहरु उत्कृष्ट कृतिभित्र पर्न सफल छन् । निकै खारिएका, गम्भीर छन् उनका कृति ।

(२) परिक्रमा खण्डकाव्य ः यो कृति विभिन्न शास्त्रीय छन्दमा अभिव्यक्त धार्मिक पर्यटन केन्द्रित यात्रा काव्य हो । हिन्दु धर्मशास्त्रले पवित्र धाम मानेका नेपाल र भारतका विभिन्न स्थानमा रहेका मठ, मन्दिर र धामहरुको भ्रमणमा एकजना सेवा निवृत्त कविले बटुलेका अनुभवको कथ्य सामग्री लिएर यो काव्यको रचना भएको छ । परिक्रमा खण्डकाव्य प्रगतिशील विचार बोकेको धार्मिक आडम्बर, कुसंस्कार र कुरीति बिरुद्ध आवाज दिने पद्यमा लेखिएको धार्मिक पर्यटनमुखी यात्रा काव्य हो । विषय र सन्दर्भ तीर्थयात्रा र त्यसबाट प्राप्त अनुभूति भए पनि परिक्रमा खण्डकाव्यमा नेपालको राजनीतिक परिवेशमा देखिने भद्रगोल र नेताहरुका अदूरदर्शीपनले सृजना गरेका र गर्ने राष्ट्रिय जीवनका दुर्घटनालाई पनि सटिक किसिमले प्रस्तुत गरिएको विचार नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले कृतिमा व्यक्त गरेका छन् । यस कृतिमा नौवटा लामा, छोटा कविताहरु प्रकाशित छन् । कविताहरुका लागि पहिलो बिसौनौ, दोस्रो बिसौनी, क्रमशः नवौँ बिसौनी भनेर शीर्षक दिइएको छ ।

पाँचौँ बिसौनीको पहिलो चार लाईन कविता पढौँ ः ‘पश्चिमतिरबाट छेकेर बसेको द्वारकापुरी, सिन्धुका छालले आई उतार्दो रै‘छ आरती । उठेको मथुराबाट द्वारिका नगरीतक, सूत्र धार्मिकले बाँध्ने सेतुकैसरि निश्चित ।।’ यस्तै यस्तै उच्च काव्यात्मक शैलीमा लेखिएका कविताहरुले पाठकवर्गमा उच्च सन्देश प्रवाह गर्दछन् ।

(१) धूपछाँया ः ‘प्रस्तुत महाकाव्य सामाजिक विषयमा केन्द्रित कविउत्पाद्य प्रबन्धको स्थितिमा देखिएको छ । यसरी काव्यको विषय, शिल्प र छन्द व्यबस्थाको अभिसन्धान कलाका स्रष्टा तथा साधक बनेका सिग्देलका यस कृतिले महाकाव्य विधानको दिशा आत्मसात् गरेको छ । यसले समाजका जुनसुकै तह र क्षेत्रमा पनि महाकाव्यका विषय छरिएका छन् । स्रष्टाले तिनलाई महत् महिमा सन्धान मात्र गर्नुपर्छ । स्रष्टाले काव्यको व्यापक आयाम लिएर प्रकटमा आउँन उत्प्रेरित गर्दछन् र यसै उत्प्रेरणाबाट काव्यले विशिष्ट आयतन वरण गर्दछ ।’ प्रा. राजेन्द्र सुवेदीको विचार कृतिमा व्यक्त भएका छन् ।

यो कृतिको रचनागर्भ नै उल्लेख गरेका छन् स्रष्टा सिग्देलले ः ‘फरक समय र सन्दर्भ अनि पात्रहरु श्रोता वक्ता रहेकासँग भएका सम्वादले म क्रमशः प्रताडित हुँदैरहेँ । म भित्रको अहं बेचैनी र निरीहताको गहिरो दहमा भासिँदै गयो । कता कता नरमाइलो र हीनता बोध हुँदै गयो । म द्रवित हुँदै, बहकिँदै र कुँडिदै गएँ । यो हुँडलोले मलाई अतीत सम्झन बाध्य बनायो । अनि भबिष्य मेरा साम्ने भयावह दृष्य लिएर खडा भयो । सम्झिन थालेँ, शैक्षिक उन्नतिको निमित्त जीवनको अधिकांश समय खर्चिएर एउटा जिम्मेवारी पदमा रहँदा उत्पादित अधिकांश राम्रा र हाम्रा पतिभा कहाँ छन् ?’ यी भनाईबाटै यो कृतिको विशेषता प्रष्टै झल्किन्छ । ती प्रतिभाहरु कहाँ छन् त ? कृति पढेर पत्ता लगाउने जिम्मा पाठकवर्गमा ।

धूपछाँया महाकाव्य कृतिभित्र छोटा छोटा अठार कविता समावेश भएका छन् । सर्ग अठारमा महाकाव्य टुङ्ग्याइएको छ । सर्ग तेह्रको पहिलो चार लाईन कविता पढौँ ः ‘उता लन्डनैतर्पm अर्कै छ ढङ्ग छ गोरी चकोरी दिने रास रङ्ग, लठ्यौरी हत्यौरी सधैँ हुन्न खाली गरी नोकरी नित्य भाँडा पखाली । सदा दामको काम गोरी सँगाल्ने लठ्यौरी सुदी खाद्य सामान गाल्ने, छ पट्ट्याउने ग्राहकै धूर्त बाबु लठिन्छन् गपैmमा लठ्ठ काबू ।।’ प्रमिताक्षरा छन्दमा लेखिएको यस कविताबाटै थाहा लाग्द छ कि कवि सिग्देलका काव्यहरुको गुण कति उच्च छन् भनेर ।

तीनजना दिग्गज विद्वानहरुको उद्गारहरुले सुसज्जित स्रष्टा सिग्देलका तीन कृति नेपाली साहित्यको क्षेत्रका निकै उच्चस्तरको र खँदिलो कृति मान्न सकिन्छ । पिता भोलानाथ सिग्देल, माता हर्कमाया दाहाल सिग्देलका सुपुत्र स्रष्टा सिग्देल संस्कृत भाषा, पूर्वीय दर्शन, नेपाली भाषा साहित्यका ज्ञाता हुन् । छन्दमा काव्य सिर्जना गर्न सक्ने अद्भूत क्षमता भएका व्यक्तित्व, प्रतिभा र चिन्तक हुन् । उनका सिर्जनाहरु बौद्धिक हुने गर्दछन् । झापाकै जयपुर स्थायी बसोबास भएका सिग्देल सपरिवार काठमाण्डौ बसाई सराई भएर धुम्बाराही काठमाडौका स्थायी निवासी भएका छन् । जयपुर छाडेर काठमाडौ जानु स्रष्टा सिग्देलको बाध्यता थियो होला र सन्तानको रहर तर विभिन्न अवसरमा सिग्देलको जयपुर र बुधबारेमा उपस्थिति हुने गरेको छ ।

प्रकाशित कृतिहरु ः (१) सिग्देल वंशावली, (२) भतृहरिका तीन शतक (पद्यानुवाद), (३) आमा (महाकाव्य), (४) परिक्रमा (खण्डकाव्य), (५) तासकन्दमा महाकवि देवकोटा (खण्डकाव्य), (६) धूपछायाँ (महाकाव्य), (७) विदुरनीति (गद्यानुवाद) र (८) सुनाखरी (कवितासंग्रह) ।

पुरस्कार र सम्मान ः (१) शिक्षा पुरस्कार झापा २०३५, (२) सिग्देल बन्धु समन्वय प्रतिष्ठान् नेपाल, (३) श्री लेखनाथ पुस्तकालय चन्द्रगढी झापा, (४) श्री जयन्द्र प्रसाईं स्मृति साहित्य सेवा कोष झापा २०६७, (५) वसन्त राधा काव्य पुरस्कार काठमाडौ ।

कविता संग्रहमात्र होइन महाकाव्य नै सिर्जना गरिसकेका शिक्षा सेवी, विद्वान तथा स्रष्टा पुरुषोत्तम सिग्देलका कृतिहरु अबश्य पढौँ र वृहत ज्ञान हासिल गरौँ ।

— प्रस्तुती : भुवन तामाङ

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

तीर्थराज तिम्सिना

Leave a Reply

Your email address will not be published. Required fields are marked *