Search
Close this search box.
Search
Close this search box.

बालबालिकालाई निमोनियाबाट कसरी बचाउने?

जाडो मौसममा रुघाखोकीको संक्रमण देखिन थाल्छ । अझ पाँच वर्षमुनिका बालबालिकालाई रुघाखोकी लाग्ने सम्भावना बढी हुन्छ । साना बच्चामा देखिएको सामान्य रुघाखोकीलाई हेलचेक्र्याइँ गरेमा निमोनियासम्म हुने जोखिम रहन्छ । बालबालिका र वृद्धवृद्धामा रोगसँग लड्न सक्ने क्षमता कम हुने भएकाले निमोनिया हुने डर बढी भएको हो । निमोनियाकै कारण दम हुनेसम्मको खतरा पनि हुन्छ । 

निमोनिया के हो ?
निमोनिया फोक्सोमा आउने एक प्रकारको खराबी हो, जुन प्रदूषित श्वासप्रश्वासका कारण हुने गर्छ । ब्याक्टेरिया र भाइरस सक्रिय हुँदा निमोनिया लाग्ने हो । निमोनियाले फोक्सो सुन्निनुका साथै श्वासप्रश्वासमा समेत समस्या हुन्छ । अर्काे, फोक्सोमा पानी जम्ने खतरा पनि उत्तिकै हुन्छ । वयस्क मानिसलाई रुघाखाकी लाग्नु सामान्य रूपमा लिन सकिन्छ । तर, बालबालिकाको हकमा भने यो घातक बन्न सक्छ । जाडोयाममा बालबालिकाको मृत्यु हुने रोगहरूमध्ये निमोनिया एक मुख्य रोग हो । 

लक्षण
सामान्यतया रुघाखोकी तीन–चार दिनमै निको हुन्छ । यदि, यो अवधिमा निको भएन भने निमोनियाको अवस्था आउँछ । अत्यधिक ज्वरो आउने, लामो समयसम्म रुघाखोकी लागिरहने भयो भने बच्चालाई निमोनिया भएछ भन्ने बुझ्नुपर्छ । यस्तो वेलामा बच्चाले खान मन गर्दैनन् । कोखा हान्ने भएकाले रुन्छन् । खोकी लाग्ने, कोखा दुख्ने हुन्छ । श्वास फेर्न गाह्रो हुन्छ । जसकारण, बिरामीले घ्यारघ्यार गर्ने तथा तेजसँग सास लिने गर्छन् । मुटुको धड्कन तेज हुन्छ, ब्लडप्रेसर कम हुन सक्छ । बच्चालाई बेचैनी हुन्छ । कतिपयमा खोक्दा रगत आउने पनि हुन सक्छ । थकान बढ्छ । 

कारण 
सामान्यतया हात मिलाउँदा, सँगै बस्दा, खोक्दा, भिडभाडमा हिँड्दा रुघाखोकी सर्ने सम्भावना हुन्छ । यस्ता क्रियाकलाप गर्ने वयस्क मानिसको सम्पर्कबाट बच्चामा रुघाखोकी सर्छ । जाडोयाममा पानी कम पर्ने भएकाले बढी प्रदूषण हुन्छ । र, धुलोधुवाँकै कारण रुघाखोकी लाग्ने सम्भावना बढ्छ । यो मौसममा बढी चिसो हुने भएकाले बाहिर ननिस्कने, धेरैजना एकै ठाउँमा जम्मा हुने गरिन्छ । अति गुम्म कोठामा यसरी धेरैजना बस्दा बालबालिकामा रुघाखोकीको संक्रमण सर्न सक्छ । अन्ततः त्यो निमोनियासम्म पुग्न सक्छ । 

नियन्त्रणका उपाय
– बच्चा रहने ठाउँवरपरको प्रदूषण कम गर्नुपर्छ । त्यसमा आमाले विशेष ध्यान दिन जरुरी हुन्छ । 
– बच्चालाई सकेसम्म खुला स्थानमा नराख्ने, किनकि चिसोले समाउन सक्छ । त्यस्तै, भिडभाडबाट समेत बचाउन सके संक्रमणबाट बचाउन सकिन्छ । 
– बच्चा सुत्ने कोठाको भेन्टिलेसन खुला राख्नुपर्छ । ताकि, स्वच्छ हावा सजिलै ओहोरदोहोर होस् । तर, बच्चालाई चिसो नहोस् । 
– बच्चाले छिटोछिटो श्वास फेरेमा, लामो समय खोकी लागेमा, खान मन नगरेमा, लामो समयसम्म ज्वरो आएमा तुरुन्त चिकित्सककहाँ लानुपर्छ ।
– आमाको दूधमा रोगसँग लड्ने क्षमता हुन्छ । तसर्थ, ६ महिनासम्म आमाको दूध मात्रै खुवाउनुपर्छ । ६ महिनापछि दुई वर्षसम्म आमाको दूधसँगै अन्य पौष्टिक तत्वहरूसमेत खुवाउनुपर्छ । 
– बच्चालाई खुवाउनुअघि हात धुने गर्नाले समेत धेरै हदसम्म निमोनियाबाट बचाउन सकिन्छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *