वि.सं. १८७१ साल असार २९ गते तनहुँ जिल्लाको चुँदी रम्घा भन्ने ठाउँमा भानुभक्त आचार्यको जन्म भएको हो। भानुभक्तको लालन–पालन, शिक्षा–दीक्षा ब्राह्मण कुलमा जन्मिएका कारण धार्मिक तथा सांस्कृतिक अनुशासनमा रहि शिक्षित, दिक्षित र प्रशिक्षित भएको पाइन्छ।
भानुभक्त नेपाली भाषाका पुनर्जागरणका संवाहक र प्रथम कवि हुन्, जसले भावनाको मर्म नेपाली भाषा र शब्दचित्रमा अभिव्यक्त गर्नुभयो। त्यो समय औपचारिक साहित्य प्रायः संस्कृत भाषामा मात्र लेखिन्थ्यो, जसले गर्दा सर्वसाधारणले बुझ्न सक्दैनथे। बुझाउनका लागि संस्कृत जान्ने ब्राह्मणको आवश्यकता पर्दथ्यो। त्यसैले सामान्य जनताले साहित्य तथा कलात्मक अभिव्यक्ति बुझ्न सक्दैनथे।
भानुभक्तले जब संस्कृतमा लेखिएको रामायणलाई सरल नेपाली भाषामा अनुवाद गरेर लिपिबद्ध गर्नुभयो, तब उहाँलाई “आदिकवि” को सम्मान दिइयो। उहाँद्वारा अनुवाद गरिएको रामायण छन्द र भावको सन्तुलन मात्र होइन, नेपाली भाषालाई सरल र जनसाधारणको पहुँचमा पुर्याउने महत्वपूर्ण कार्य पनि हो। यसले आज नेपालमा मात्र होइन, विश्वभर छरिएर रहेका नेपाली मूलका मानिसहरूलाई गौरवान्वित बनाएको छ। भानु सबैका साझा सम्पत्ति बन्नुभएको छ।
जसरी नेपालको भूगोललाई एकीकृत गर्दै पृथ्वीनारायण शाहले आधुनिक नेपालको पुनर्जागरण गर्नुभयो, त्यसै गरी नेपाली भाषा–साहित्यको जागरण भानुभक्तले गर्नुभयो। उहाँद्वारा लेखिएका श्लोक, काव्य, रचनाहरू आज पनि नेपाली घर–घरमा पूज्य र सुरक्षित छन्। रामायणभित्र रहेका बालकाण्ड, अरण्यकाण्ड, सुन्दरकाण्ड, युद्धकाण्डका कथा–उपकथाहरू तथा अन्य अनगिन्ती कृतिहरूले सामाजिक, नैतिक, चारित्रिक शिक्षा दिँदै भाषा रूपान्तरणमा कोशेढुंगा बनेका छन्।
आज पनि रामायणको महिमा झनै बढेको छ। भानुभक्तलाई प्रेरणा दिने व्यक्तिको रूपमा एउटा घाँसीको प्रसङ्ग उल्लेखनीय छ। जब भानुभक्तले घाँसीको कुरा सुनेर आत्मालोचना गर्दै केही गर्नु पर्छ भन्ने जागरण प्राप्त गर्नुभयो, त्यही प्रसङ्गमा आधारित भएर उहाँले लेख्नुभएको ‘घाँसी’ कविता आज पनि जनमानसमा गुन्जिरहेकै छ।
भानुभक्तको ‘घाँसी’ कविता:
भर जन्म घाँस तिर मन दिई धन कमायो,
नाम क्यै रहोस् पछि भनेर कुवा खनायो।
घाँसी दरिद्र घरको तर बुद्धि कस्तो,
म भानुभक्त धनी भैकन किन यस्तो?
मेरा इनार न त सत्तल पाटी कै छन्,
जे धन चीजहरू छन् घर भित्र नै छन्।
त्यस घाँसीले कसरी आज दियो छ अर्ति,
धिक्कार हो म कन बस्नु न राखी कीर्ति।
भानुभक्तको लय आज पनि नेपाली जनजिब्रोमा गुन्जिरहेकै छ। उहाँपछि आएका धेरै कविहरूले आफ्ना रचनाहरूमा भानु शैलीको लय प्रयोग गर्दै आएका छन्। भानुभक्तको सम्झनामा नेपाल, भारतको दार्जिलिङ, सिक्किम लगायत नेपाली मूल भएका विश्वभरका ठाउँहरूमा भानुजयन्ती मनाइन्छ।
भानुभक्त केवल कवि मात्र होइनन्, नेपाली भाषा–साहित्यका मुटु हुन्। उहाँले अनुवाद गर्दै छन्द, भाव र लयलाई कायम राख्न सफल मात्र नभइ, नेपाली भाषा र संस्कृतिको संस्थागत विकासमा अमूल्य योगदान दिनुभयो।
आजको समाजमा देखिने सतही साहित्य, मौलिक संस्कार र पोशाकको बेवास्ता, भाषाको उपेक्षा, र मौलिकताको ह्रासप्रति भानुभक्तको गहनता र सरलता बाट धेरै कुरा सिक्न आवश्यक छ। उहाँका दिव्य कृतिहरू व्यवहारमा उतार्न जरुरी छ।
केवल असार २९ मा मात्र होइन, वर्षका ३६५ दिन उहाँका काव्यलाई मनन गर्दै, असार २९ लाई समीक्षा दिवसको रूपमा मनाउनुपर्छ।
मोतीराम भट्ट र भानुभक्तको नाम सँगसँगै आउँछ। यूगकवि मोतीरामले भानुभक्तका थुप्रै कृतिहरू खोज, अनुसन्धान र प्रचार–प्रसार गरेर जनमानससम्म पुर्याएका हुन्। उनले वि.सं. १९४१ मा भानुभक्तको जीवनी लेख्दै अन्य कृतिहरू पनि प्रकाशित गराएका थिए। केहीले त मोतीरामले नै भानुभक्तका रचनाहरू लेखेका हुन् भन्ने आरोपसमेत लगाउँछन्। यस्तो अवस्थामा सत्य तथ्यप्रति बहस र खोज आवश्यक छ, अन्यथा भावी पुस्ताले भ्रममा पर्न सक्छन्।
मोतीरामले उर्दु, फारसी लगायतका भाषा अध्ययन गरेका भए पनि नेपाली भाषा र विशेषतः भानुभक्तका कृतिप्रति देखाएको समर्पण, भाषा–साहित्यप्रतिको निष्ठा, प्रेरणादायक छ। त्यसैले भानुजयन्तीमा मोतीराम भट्टको योगदानलाई पनि सम्झनु जरुरी छ।
भानुभक्तले आफ्नो छिमेकी ‘भाट’ थरका व्यक्तिसँग भएको जग्गा विवादपछि रिसमा आफ्नो घरको भित्ताबाट बाँसका भाटाहरू निकालेर फालेको प्रसङ्ग अझै पनि तनहुँ र वरपरका क्षेत्रमा प्रचलित छ।
भानुभक्तबाट अहिलेका पुस्ताले भाषामोह सिक्नुपर्छ। उहाँ नेपाली भाषालाई एकसूत्रमा बाँध्ने युगपुरुष हुनुहुन्छ। भानु विकल्प होइनन् — निर्बिकल्प हुनुहुन्छ। उहाँ हाम्रो भाषा र पहिचानका आधार हुनुहुन्छ।
भानुजयन्तीमा मौलिक पोशाक लगाउने चेतना सबै नेपालीमा जागोस्। सिक्किमका नागरिकजस्तै हामीले पनि भानुजयन्ती भव्य रूपमा मनाउन सक्नुपर्छ।
भानुभक्तप्रति श्रद्धाञ्जलीस्वरूप एउटा आग्रह: विदेशी साहित्यलाई सम्मान गर्दै पनि, आफ्ना मौलिक कृतिलाई चिन्ने, पढ्ने, मनन गर्ने र व्यवहारमा उतार्ने वातावरण बनाउनु नै भानुभक्तप्रतिको सच्चा श्रद्धाञ्जली हुनेछ।
– इन्द्र प्रसाद ओली
अध्यक्ष
राष्ट्रीय हिन्दु एकता मञ्च, नेपाल
केन्द्रीय कार्यालय, भद्रपुर–७, झापा
One Response
हार्दिक आभार सहित धन्यवाद ।
पालिका सन्देश हामी सबैको भरपर्दो सन्देश मुलक लेख समचार सबैमा अब्ल बन्दै जाओस ।धन्यवाद