भिटेनलाई पक्राउ नगर्न उच्च अदालत पाटनको अन्तरिम आदेश

काठमाडौँ। गीतसंगीतको विषयलाई लिएर र्यापर ‘भिटेन’ उर्फ समीर घिसिङलाई पक्राउ नगर्न उच्च अदालत पाटनले अन्तरिम आदेश दिएको छ। रिट निवेदक भिटेनको मागबमोजिम अदातलका मुख्य न्यायाधीश नहकुल सुवेदीको इजलासले मंगलबार उक्त आदेश दिएको हो।

EPIC

“फौजदारी अनुसन्धान तहकीकातको प्रयोजनका लागि प्रचलित कानुनबमोजिमको प्रक्रिया पूरा गरी पक्राउ गर्नेबाहेक हाल अस्तित्वमा नै नरहेको उक्त गीतसंगीतको विषयलाई लिएर निवेदनको अन्तिम टुंगो नलागेसम्म पक्राउ नगर्नू,” भन्ने अन्तरिम आदेशमा रहेको अदालतका प्रवक्ता शम्भुप्रसाद रेग्मीले बताएका छन्।

यसअघि प्रहरीले आफूलाई पक्राउ गर्न लागेको भन्दै पक्राउ नगर्न अन्तरिम आदेश माग गरी भिटेन अदालतको ढोका ढक्ढक्याउन पुगेका थिए।

केही दिनअगाडि मात्रै प्रहरी प्रधान कार्यालय नक्सालले भिटेनलाई अश्लील र अपाच्य शब्द भएको गीतसहितको म्युजिक भिडिओ ‘पारा’ सार्वजनिक गरेको भन्दै पक्राउ गरेर कारवाही गर्न साइबर ब्यूरोलाई चिठी लेखेको थियो। 

EPIC EPIC EPIC

गत वर्ष महानगरीय अपराध महाशाखाले भिटेनलाई आपत्तिजनक शब्द तथा चित्र बोकेको भिडिओ सार्वजनिक गरेको आरोपमा पक्राउ गरेर सचेत गराएको थियो। फेरि, उनले एक वर्षपछि त्यस्तै खालको गीतसहितको म्युजिक भिडिओ सार्वजनिक गरेपछि उनी विवादित भएका हुन्।

EPIC

भिटेनले केही दिनअगाडि उक्त गीत हटाएका छन्। उनले गीतमा समावेश शब्दले महिलाहरूको अपमान भएको भन्दै माफीसमेत मागेका छन्। प्रहरीलाई दुर्वचन दिएको पनि म्युजिक भिडिओमा रहेको प्रहरी प्रवक्ता कुबेर कडायतले बताएका छन्।

EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

tihar