Search
Close this search box.
Search
Close this search box.

यार्साले धानेको जीवन !

रुकुम पश्चिम। हिमाली हिराको उपमा पाएको यार्सागुम्बाले दिने कमाइ जति आनन्ददायक सुनिन्छ, त्यसको खोजी उति नै संघर्ष र कष्टपूर्ण छ । कर्णाली प्रदेशको हिमाली जिल्ला डोल्पा, जहाँ सिजनमा खेतीपातीले राम्रो उब्जनी दिँदैन । तर, त्यही भूभाग जब हिउँले सेताम्य हुन्छ, तब उम्रिन्छ– बहुमूल्य वनस्पति र किराको सम्मिश्रण यार्सागुम्बा । जसले कर्णालीबासीको मात्रै नभएर मुलुककै अर्थतन्त्रमा टेवा पुर्याएको छ ।

यार्साले यहाँका अधिकांश मानिसको जीवन धानेको छ । हिउँदयाममा हुर्केको यार्सा संकलनबाट डोल्पासहितका छिमेकी जिल्लाहरूमा स्थानीयले जीवन गुजारा गरिरहेका छन् । पहाडी तथा हिमाली क्षेत्रका मानिसको मूख्य आयस्रोतका रूपमा यार्सागुम्बालाई लिने गरिन्छ । यार्सा संकलनका लागि वैशाख, जेठ र असार महिनालाई उपयुक्त सिजन मानिन्छ । यो सिजनमा यहाँका बालकदेखि वृद्धसम्म लेकमा यार्सा टिप्न जाने गर्छन् ।

सिजनभर यार्सा टिपेर १ वर्षका लागि खान पुग्ने कमाइ हुने डोल्पाका स्थानीय रनबहादुर बुढा बताउँछन् । उनी भन्छन्, ‘गाउँका अधिकांश मानिस सपरिवार यार्सा टिप्न पाटनतिर जान्छन् । हाम्रो मुख्य कमाउने सिजन नै यही हो ।’ यार्सा संकलन गरेर कमाएको पैसाले उनीहरू वर्षभरका लागि खाद्यान्न, दैनिक उपभोग्य वस्तुहरूको जोहो गर्छन् । राम्रो सिजन भयो भने ३ महिना पाटनमा खट्दा घरघडेरीसमेत जोड्न सकिने बुढा बताउँछन् ।

विगत १७ वर्षदेखि यार्सा टिप्दै आएका जाजरकोटका भूपाल सिंहको घरमा ४ जनाको परिवार छ । भूपालले एक सिजनमा ४ देखि ५ लाख रुपैयाँ कमाउँछन् । उनले आफ्नो घर खर्चको जोहो यही यार्सा संकलनबाट गर्छन् । वर्षभरि खेतीपाती गर्दा खानसम्म मुस्किल हुने, तर २–३ महिनामा पिटेको यार्साले सहजै जीवन चलाउन सकिने उनी बताउँछन् ।

कर्णाली प्रदेशका ग्रामीण क्षेत्रमा यार्साकै भरमा जीवन धान्नेहरू धेरै छन् । हजारौँ परिवारको जीवन यार्साकै कारणले चलेको छ । कर्णालीका धेरैजसो जिल्लामा बर्सेनि यार्साकै भरमा जीवन धान्नुपर्ने बाध्यता छ । तर, बाहिरबाट जसरी पैसा कमाएको देखिन्छ, वास्तविकता भने अर्कै छ । यार्सा संकलनका लागि गएकाहरूले अनेक बिरामी हुनेदेखि ज्यानै जानेसम्मका अवस्था भोग्नुपर्छ । कतिपयले यार्सा टिप्ने क्रममा आफ्नो ज्यानसमेत गुमाउनुपरेको छ । गाउँ नै शून्य बनाएर यार्सा संकलनका लागि पाटनतिर जानुपर्छ । दुधे बच्चा पिठ्युँमा बोकेर यार्सा संकलन गरिरहेका भेटिन्छन् ।

डोल्पाका स्थानीय भन्छन्, ‘जमिनमा सोचेजस्तो अन्न उत्पादन नहुँदा खेती छाडेर पनि यार्सा संकलनमा जानुपर्छ । छोटो समयमा राम्रो आम्दानी हुने हुँदा यहाँका अधिकांश मानिस यार्सा संकलनमा पाटनतर्फ जाने गरेको बताइन्छ ।

व्यापार, खेतीपाती र जागिरभन्दा केही महिनामै लाखौँ आम्दानी हुने भएकाले पनि यार्सा टिप्न जानेको संख्या बढ्दो छ । नेपालमा प्रत्येक वर्ष करिब ५ अर्ब रुपैयाँको कारोबार हुने यार्साबाट सरकारले २ करोड राजस्व संकलन गर्दै आएको छ । हिमाली हिराका रूपमा रहेको बहुमूल्य जडीबुटी यार्सागुम्बा संकलनबाट कर मात्रै उठाउने, तर संरक्षणमा चासो नदिने सरकारी प्रवृत्तिले चिन्ता थपिएको स्थानीय जानकारहरू बताउँछन् । यसका लागि राज्यले सम्बन्धित क्षेत्रको पर्यावरण तथा समुदायको हित हुने गरी व्यवस्था मिलाउनु आवश्यक रहेको उनीहरू बताउँछन् ।

१ करोड २५ लाख राजस्व

यार्सागुम्बा संकलनमा गएकाहरूबाट सरकारले यस वर्ष १ करोड २५ लाख ८७ हजार ५०० रुपैयाँ राजस्व संकलन गरेको छ । शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज कार्यालयका अनुसार डोल्पा तथा मुगुका पाटन क्षेत्रमा यस वर्ष ७ हजार ४०० जना यार्सा संकलनमा गएका छन् । गत वर्ष यहाँ यार्सा टिप्न करिब ४ हजार मानिस आएका थिए । उनीहरूबाट ८५ लाख राजस्व संकलन भएको थियो । तर यस पटक गत वर्षको तुलनामा यार्सा संकलन र राजस्व दुवै बढेको हो ।यार्सागुम्बा व्यवस्थापन (संकलन तथा ओसारपसार) निर्देशिका, २०७३ बमोजिम निकुञ्ज क्षेत्रभित्रका व्यक्तिलाई प्रतिव्यक्ति ५०० र निकुञ्जभन्दा बाहिरका स्थानीयलाई प्रतिव्यक्ति २ हजार र डोल्पाभन्दा बाहिरका स्थानीयलाई प्रतिव्यक्ति ३ हजारका दरले प्रवेश शुल्क उठाएको कार्यालयले जनाएको छ ।

डोल्पाका ३२ स्थानमा यार्सा पाइने गरेको छ । मुगुको तुलनामा डोल्पाबाट बढी राजस्व संकलन हुने गरेको छ । डोल्पाको पाटन क्षेत्रमा यार्सा टिप्न ७ जिल्लाका स्थानीय जाने गरेका छन् ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *