Search
Close this search box.
Search
Close this search box.

शनिश्चरे-खुदुनाबारी सडक खण्डमा स्थानीयले लगाए ढाट, सम्झौता समय गुज्रिएको डेढ वर्ष बित्दा पनि सडक नबनेको आरोप

अर्जुनधारा । सडक निर्माण गरी सक्ने सम्झौता समय गुज्रिएको डेढ वर्ष बित्दा पनि झापाको शनिश्चरे–खुदुनाबारी सडक अलपत्र अवस्थामा छ । सम्झौताअनुसार ठेकेदार कम्पनीले २०७७ साल असार मसान्तसम्ममा सडक निर्माण सम्पन्न गरिसक्नु पर्ने थियोे । तर, अहिलेसम्म आधा सडक पनि कालोपत्रे भएको छैन ।

सो कम्पनीले २०७५ साल असार २७ गते सडक कालोपत्रे गर्ने जिम्मा लिएको थियोे । भौतिक पूर्वाधार विकास कार्यालय झापाले चैत मसान्तसम्ममा सडक निर्माणको काम सम्पन्न गर्ने जनाएको छ । सडक कालोपत्रे गर्ने काम ८० प्रतिशत सकिएको जनाउँदै चैत मसान्तसम्ममा सबै काम सम्पन्न गर्ने कार्यालयका प्रमुख रमेशकुमार श्रेष्ठले बताएका छन् ।

EPIC EPIC EPIC

झण्डै दुई करोड रुपैयाँ मन्त्रालयले निकासा नगर्दा सडक निर्माणमा समस्या भएको उनको भनाइ छ । अर्थमन्त्रालयसँग रकम माग गरेको र मन्त्रालयले रकम निकासी गरेलगत्तै सडक निर्माण गरिने कार्यालय प्रमुख श्रेष्ठले बताए ।

अहिले सो सडक स्थानीयले ढाट लगाएर बन्द गरिदिएका छन् । धुलोले मानव स्वास्थ्यमा गम्भीर असर परेको, घर तथा पसल धुलाम्य भएपछि स्थानीय सडकमा ढाट लगाउन बाध्य भएका हुन् । उनीहरूले हस्तलिखित सूचना टाँसेर सडक बीचमा ढाट लगाएका छन् ।

करिब एक साता अघिदेखि लगाइएको ढाटका कारण आवागमनमा समस्या भएको छ । सो सडकमा दैनिक सयौँ सवारीसाधन गुड्ने गरेका छन् । झापाको उत्तरी शहर शनिश्चरे हुँदै इलामको दानाबारी जाने यो एउटैमात्र सडक हो ।

सवारीसाधन भित्री सडक, घुमाउरो र वैकल्पिक मार्ग भएर गन्तव्यमा जाने गरेका छन् । तथापि, निर्माण कम्पनी समयमा रकम निकासा नभएको बहाना बनाएर आफ्नो जिम्मेवारीबाट पन्छिरहेको छ ।

शनिश्चरेदेखि खुदुनाबारीसम्मको नौ किलोमिटर सडक निर्माणको जिम्मा कञ्चनङ्घा–शेर्पा–कञ्चनजङ्घा जेभीले लिएको छ । नौ करोडमा सो कम्पनीले सडक ठेक्कामा लिएको हो ।

ठेकेदार कम्पनीले खुदुनाबारी दक्षिण आना पेट्रोल पम्पसम्म सडक कालोपत्रे गरेको छ । पेट्रोलपम्प दक्षिण शनिश्चरे बजारसम्म कालोपत्रे गरेको छैन । सडकमा ठूल्ठूला खाल्डा र धुलोको डङ्गुर छ । बर्खामा हिलो र हिउँदमा धुलोको समस्या झेल्नु आफूहरूको दैनिकी जस्तै भएको स्थानीय वसन्त सोमानीले बताए ।

भौतिक पूर्वाधार विकास कार्यालय झापाले सडक चैत मसान्तसम्ममा निर्माण भइसक्ने जनाएको छ । हालसम्म ८० प्रतिशत काम भएको कार्यालयको दाबी छ । स्थानीय भने कार्यालयको दाबी मान्न तयार छैनन् । उनीहरू सडकको आधा पनि काम नभएको बताउँछन् ।

सो सडक २०७२ सालमा र्‍याप थ्रीले बनाउने चर्चा थियो । मुलुक सङ्घीयतामा गएसँगै सङ्घीय सरकार मातहतमा पुगेको बताइन्छ । तर, प्रदेश १ सरकारले सडकको काम हेरिरहेको छ । भौतिक पूर्वाधार विकास कार्यालय झापाको निगरानीमा भएको नियमन फितलो हुँदा ठेकेदारले कामम ढिलाइ गरेको स्थानीयको आरोप छ ।

सम्झौताको बेला तत्कालै सडक निर्माण गरिने भन्दै शनिश्चरे बजार क्षेत्रका घर टहरा हटाइएको थियो । कतिपय संरचना पूर्ण रूपमा भत्काइएको छ । कतिपय आंशिक रूपमा भत्काइएका छन् । तर, सडक कालोपत्रे गर्ने काम अलपत्र छ ।

जनप्रतिनिधिले सडक निर्माणका लागि अगुवाइ गरिदिन अहिले नेपाली काङ्ग्रेस प्रदेश १ का सभापति उद्धव थापासँग हारगुहार गरिरहेका छन् । स्थानीयसमेत रहेका अर्जुनधारा नगरपालिका–८ का वडाध्यक्ष गोपीचन्द्र गौतमले सडक कालोपत्रे गर्न पहल गरिदिन थापालाई आग्रह गरेको बताए । सभापति थापाले आफ्नो तर्फबाट पहल गर्ने आश्वासनसमेत दिएका छन् । सभापति थापा अर्जुनधाराका बासिन्दा हुन् ।

समयमै सडक निर्माणको माग गर्दै स्थानीयले यसअघि नै पटकपटक जिल्ला प्रशासन कार्यालय झापा र भौतिक पूर्वाधार कार्यालयको ध्यानाकर्षण गराए पनि काम भएको छैन । स्थानीय नियमनकारी निकाय, ठेकेदार र सरोकारवाला निकाय गुहार्दागुहार्दा वाक्क भइसकेका छन् । त्यसैले ढाट नै लगाएर सडक अवरुद्ध पारेको उनीहरूको भनाइ छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *