Search
Close this search box.
Search
Close this search box.

शैल्यशिखरलाई देशको समृद्ध नगरको श्रेणीमा पुर्‍याउने अभियानमा छौं- नगरप्रमुख धामी

दार्चुला जिल्लाको शैल्यशिखर नगरपालिकामा जनप्रतिनिधि निर्वाचित भएर आएसँगै आम नागरिकका न्यूनतम आवश्यक्ताहरु क्रमशः पूरा हुँदै गएका छन् । नगरपालिकाको मेयरको रुपमा निर्वाचित भएर कार्यकाल सम्हालेका अमरसिंह धामीको नेतृत्वमा नगरपालिकाका सर्वसाधारणले राज्यबाट पाउनुपर्ने न्यूनतम विकासका पूर्वाधार र आवश्यकताहरु क्रमश पूरा हुँदै गएको महसुस गरेका छन् । नगर प्रमुख धामीले पनि आम नागरिकका आवश्यकता र जनअपेक्षा अनुसार नै काम गरिरहेको बताएका छन् । प्रस्तुत छ मध्यान्ह दैनिकका लागिगणेश सिंह धामीले मेयर धामीसँग गरेको वार्ताको सम्पादित अंशलाई साभार गरिएको।

तपाईं नेतृत्वमा आएपछि आजसम्म भएका कामको प्रगति के–के हो ?

विकास निर्माण अन्तर्गत पूर्वाधार विकासमा सडक निर्माण पहिलो प्राथमिकतामा राखिएको छ । हामी निर्वाचित भएपछि १९ वटा ग्रामीण सडकको करिब एक सय ५० किलोमिटर निर्माण सम्पन्न भएको छ । चालू आर्थिक वर्षमा पनि थप २० किलोमिटर सडक थप भएर हाम्रो नगरपालिकाका ९ वटै वडा केन्द्रसम्म सडक सञ्जाल पुग्ने छ । विद्युत् बिस्तारअन्तर्गत नगरपालिकाका ४० प्रतिशत जनताहरु मात्र लाभान्वित भएकाले चालू वर्षमै ८० प्रतिशत घरधुरीमा बत्ति बिस्तार गरिने छ । दुर्गम बस्तीहरुमा खानेपानी बिस्तार कार्य जारी छ । करिब डेढ करोड लगानीमा वडा न ६ को मौरीभिटामा लिफ्ट खानेपानी सेवा सम्पन्न भइरहेको छ भने वडा न ७ को दोबाटामा करिब १ करोड लगानीमा लिफ्ट खानेपानी यसै वर्ष सम्पन्न हुँदैछ । अन्य चार स्थानमासमेत लिफ्ट खानेपानी र खानेपानी सेवा सञ्चालन भइरहेका छन् । नगरका करिब ९० प्रतिशत जनतालाई शुद्ध खानेपानी पहुँच पुग्दै छ । स्वास्थ्य सेवा अन्तर्गत नगरपालिका स्थापना भएपछि १६ वटा नया स्वास्थ्य इकाईहरु गठन भइ मानव श्रोत व्यवस्थापन भइरहेको छ भने गोकुकेश्वर अस्पताललाई सुदृढीकरण गरिँदैछ । शिक्षातर्फ पनि करिब १३० जना नगर शिक्षक भर्ना गरी दरबन्दी बिहीन अवस्थाको अन्त्य गरिएको छ । विद्यालयको भौतिक व्यवस्थापनमा चासो राखिएको छ । नगरपालिका भित्र ५ वटा विद्यालयमा प्राविधिक शिक्षाको व्यवस्थापन गरिएको छ । परम्परागत विद्यालयको रूपमा नगरपालिका आफैले एउटा गुरुकुल वेद विद्यापिठ सञ्चालन गरेको छ । शैक्षिक गुणस्तर कायम गर्न नगरपालिका दत्तचित्त छ । सञ्चार सेवाको गुणस्तरमा नगरपालिका लागिपरेको छ । उल्लेखित विषयलगायत भाबी दिनमा सडक पूर्वाधारलाई थप बिस्तार र सुदृढ गर्ने, स्वास्थ्य सेवालाई प्रभावकारी बनाउने, शैक्षिक गुणस्तर कायम गर्न हाम्रो प्रयास जारी रहन्छ ।

तपाईंले मतदाता समक्ष राखेका चुनावी प्रतिबद्धता के–के पूरा भए ?

मैले चुनावको बेला मेरा नगरका नगरबासी समक्ष बिभिन्न प्रतिबद्धता गरेको थिएँ । जनताले मलाई मतदान दिएर नगर प्रमुखको जिम्मेवारी दिएको हो र ती प्रतिबद्धता पूरा गर्नु मेरो जिम्मेवारी पनि हो । धेरैजसो मैले गरेका प्रतिबद्धताहरु पूरा भइसकेका छन् भने केही प्रतिबद्धता पूरा हुने क्रममा छन् । चुनावका बेला मतदातालाई स्वास्थ्य, शिक्षा, खानेपानीलगायत न्यूनतम पूर्वाधारको विकास गर्ने प्रतिवद्धता जनाएको थिएँ । त्यसैगरी नगरपालिकालाई सुन्दर र शान्त नगर बनाउने प्रतिबद्धता गरेको थिएँ । ती मध्ये मैले यो शैल्यशिखर नगरपालिकामा रिङरोडको ठूलो योजना बनाएको छु । त्यो रिङरोडको योजना लगभग पूरा हुने क्रममा छ । यहि कार्यकालमा यो योजना पूरा हुनेछ । अरु जनप्रतिनिधिहरु जस्तै मैले जनतालाई कोरा गफ दिएको छैन । मेरो नगरको प्रत्येक वडामा मैले स्वास्थ्य, शिक्षा, खानेपानी, बाटोघाटो, यातायातको अनि अन्य विकास निर्माणका कार्यहरुलाई प्राथमिकता दिएको छु । पहिले मेरा नगरका जनताहरुले एउटा सिटामोलका लागि धेरै टाढा जानुपर्थ्यो । अहिले त्यो अवस्ता छैन । प्रत्येक वडामा अहिले स्वास्थ्य एकाई बनेका छन् । ती स्वास्थ्य एकाईबाट जनताले सेवा सुबिधा पाइरहेका छन् । खानेपानी धेरै टाढाबाट बोकेर ल्याउनु पर्ने अवस्था थियो ।

अहिले त्यो अन्त्य भएको छ । नगरभरिका प्रत्येक वडालाई सडकले छोएको छ र यस्तो कार्य देखेर नगरबासी खुशी भएका छन् । अझैपनि मैले यस नगरपालिकाको नगरप्रमुखको हैसियतले नगरपालिका भित्र धेरै विकासको सम्भावना देखेको छु र अझै पनि विकासको गति अगाडि बढाउने प्रतिवद्धता व्यक्त गर्न चाहन्छु । मेरो कार्यकालमै नगरपालिकाका सम्पूर्ण टिमलाई साथ लिएर नगरलाई समृद्ध बनाउने मेरो अठोट छ ।

नगर भित्र कृषि क्षेत्रलाई कत्तिको प्राथमिकता दिनुभएको छ र?

नगर भित्र कृषिलाई व्यावसायिक रूपमा अघि बढाउन सशर्त अनुदानका अतिरिक्त विशेष अनुदान र वित्तीय समानीकरणका अनुदानहरुबाट समेत कृषिलाई प्राथमिकता दिइएको छ । चालू आ।व।मा करिब १ करोड बजेट विनियोजन गरिएको छ । विभिन्न वडाहरुमा कृषि सेवा केन्द्र स्थापना गरी जनशक्ति व्यवस्थापन गरिएको छ ।

नगरलाई समृद्ध बनाउने तर्फका अल्पकालीन र दीर्घकालीन योजना के–के रहेका छन् ?

नगरलाई समृद्ध बनाउन अल्पकालीन रूपमा कृषि लघु उद्यम, व्यापार र पशुपालनलाई प्राथमिकता दिइएको छ भने दीर्घकालीनरूपमा प्राकृतिक श्रोतको उपयोग विद्युतीकरण, पर्यटन क्षेत्रको विस्तार, उद्योग र कलकारखानको प्रबन्ध, प्राविधिक शिक्षाको बिस्तार, कृषिमा आधुनिकीकरण, सुदृढ सडक सुविधा, सहकारी व्यवस्थापन र उत्पादित वस्तुको बजारीकरणमा ध्यान दिइनेछ ।

कोरोना संक्रमण जारी रहेका बेला नगरपालिकाले यसको नियन्त्रणमा चालेका कदमहरु के–के हुन् ?

कोरोना भाइरस नियन्त्रण, रोकथाम तथा जनचेतना फैलाउने र देश बन्दाबन्दीमा रहेको बेला दैनिक ज्यालादारी गरी गुजरा चलाउने श्रमिक वर्गलाई राहत वितरण गर्ने, भारतलगायत तेस्रो मुलुकबाट आएका नागरिकहरूलाई क्वारेन्टाइन राख्ने तथा विभिन्न शंकास्पद व्यक्तिहरुको पीसीआर जाँच गर्न, तिनीहरुलाई ओसारपसार समेत गर्न करिब ३ करोड ५० लाख जति खर्च गरिएको छ । त्यसैले कोरोना नियन्त्रणका लागि नगरपालिकनले गर्नुपर्ने काममा कुनै कसर बाँकी राखेको छैन ।

तपाईंलाई नगर भित्र काम गर्दा कुनै बाधा अवरोधहरुको पनि सामना गर्नु परेको छ कि ?

नगर भित्र काम गर्दै गर्दा विविध पक्षको सामना गर्नु परेको कुरा यथार्थ हो । खासगरी विकास निर्माण कार्यमा अबरोध गर्ने, कार्यालय व्यवस्थापनमा असहयोग गर्ने, विनाअर्थ आर्थिक अनियमितताको आरोप लगाउने, संविधान विपरीत प्रतिपक्षको भूमिका खोज्ने, नगरपालिकाको केन्द्र तथा नगरपालिका भवन निर्माणमा हस्तक्षेप गर्ने, नगरपालिकाले गरेका सकारात्मक पक्षहरूको समेत विरोध गर्ने, संघ र प्रदेशबाट बिनाकारण कर्मचारी सरुवा आतंक मच्चाउने जस्ता अवरोधहरु खेप्नु परेको तीतो अनुभव जगजाहेर छ ।

प्रायः जसो पलिकाहरुमा दनप्रत्निधि र कर्मचारीबीच द्वन्द्व हुने गरेको पाइन्छ । तपाईंको पालिकामा कस्तो छ ?

तपाईंले भन्नु भएको सहि हो । मैले पनि सुनेको छु– जनप्रतिनिधि र कर्मचारीबीच द्वन्द्व हुने गर्छ । तर हाम्रो नगरपालिकामा कुनै पनि कर्मचारीसँग जनप्रतिनिधिको सम्बन्ध बिग्रिएको छैन ।

नगरबासी तपाईंको काम गराइप्रति कत्तिको खुसी छन् ?

मैले चुनावका बेला नगरबासीहरु समक्ष धेरै प्रतिवद्धता गरेको थिएँ र ती प्रतिवद्धताहरु धेरै जसो पूरा गरिसकेको छु भने केही पूरा हुने क्रममा छन् । मैले नगरपालिकामा गरेको विकास प्रति नगरवासीहरु सन्तुष्ट नै छन् । बिडम्वना के छ भने विकास निर्माणका कार्यहरु गर्दागर्दै पनि प्रतिपक्षहरुका आरोप प्रत्यारोप आइरहन्छन् । त्यो स्वभाविक हो । त्यस्ता आरोप प्रत्यारोप आउनु मेरा लागि खुसी पनि हो । किनभने अझै मैले विकास गर्नु छ । यसलाई म नगरलाई समृद्ध बनाउने अवसरको रुपमाम प्रयोग गर्छु । समग्रमा भन्नु पर्दा नगरवासी नगरपालिकामा भएको विकासप्रति सकारात्मक रहेका छन् । अझै नगरपालिका भित्रका सबै पक्षको विकास गरेर देश भरिकै समृद्ध नगरको श्रेणीमा पुर्याउने अभियानमा छौं । जसबाट नगरबासी एकदमै खुसी हुनेछन् भन्ने आसा लिएको छु ।

अन्त्यमा, अहिलेको अवस्थामा प्रधानमन्त्रीले संसद विघटन गरेको घटनालाई तपाईंले कसरी लिनु भएको छ ?

प्रधानमन्त्रीले गैर संवैधानिक रुपमा संसद विघटन गर्नु भएकामा मेरो गम्भीर आपत्ति छ । किनभने स्थायी सरकार हुँदाहुँदै लहडको भरमा संसद विघटन गरी देशलाई अस्थिरतातर्फ धकेल्नुका साथै संवैधानिक संकटसमेत निम्त्याइएको अलोकतान्त्रिक कदम निन्दनीय छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *