बिर्तामोड— बिर्तामोडस्थित सिद्धार्थ होटलमा आइतबार सम्पन्न उपप्रमुख/उपाध्यक्ष सञ्जालको भेलाले कचनकवल गाउँपालिकाका उपाध्यक्ष नवराज भट्टराईलाई सर्वसम्मत रूपमा सञ्जालको संयोजक चयन गरेको छ।
यसअघि सो जिम्मेवारी गौरीगञ्ज गाउँपालिकाकी उपाध्यक्ष पूजन न्यौपाने कुँवरले सम्हालिरहनुभएको थियो। भेलाले नयाँ कार्यकालका लागि भट्टराईलाई चयन गर्दै सञ्जालको आगामी कार्यक्रम र उद्देश्यलाई थप प्रभावकारी बनाउने निर्णय गरेको छ।
उपप्रमुख/उपाध्यक्ष सञ्जाल झापाका स्थानीय तहका उपप्रमुख र उपाध्यक्षहरूको साझा मञ्च हो। सञ्जालले स्थानीय तहहरूबीच सहकार्य, साझेदारी, अनुभव आदान–प्रदान र विकासका प्रयासहरूलाई सुदृढ बनाउँदै आएको छ।
भेलामा झापाका विभिन्न स्थानीय तहका उपप्रमुख र उपाध्यक्षहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा स्थानीय विकासका रणनीति, चुनौतीहरू र भविष्यका प्राथमिकताहरूलाई लिएर गहन छलफल भएको सञ्जालले जनाएको छ।
नवनियुक्त संयोजक भट्टराईले सञ्जाललाई थप क्रियाशील र प्रभावकारी बनाउन आफ्नो भूमिका जिम्मेवारपूर्वक निर्वाह गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ।