झापा। झापाको हल्दिबारी गाउँपालिका परिसरमा निर्माण गरिएको पशु उपचार अस्पतालको आज एक विशेष कार्यक्रमका बीच समुद्घाटन गरिएको छ। झापा क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा सदस्य राजेन्द्र लिङ्देनले उक्त अस्पतालको उद्घाटन गरेका हुन्।

कोशी प्रदेश सरकारबाट सशर्त अनुदानमार्फत ५० लाख र हल्दिबारी गाउँपालिकाको १४ लाख २८ हजार ८ सय १४ रूपैयाँको लागत थपेर भ्याटसहित कुल ६२ लाख ९२ हजार ५ सय ५१ रूपैयाँमा अस्पताल निर्माण सम्पन्न भएको हो। २०८० चैत १४ गते योजना सम्झौता भएको यस परियोजनाको निर्माण कार्य एञ्जिलिना कन्ट्रक्सन एण्ड सप्लायर्स प्रा.लि. ले २०८१ कार्तिक मसान्तसम्म सम्पन्न गर्ने गरी जिम्मेवारी पाएको थियो। हालसम्म गाउँपालिकाले ४८ लाख ६३ हजार ७ सय ३७ रूपैयाँ भुक्तानी गरिसकेको र बाँकी रकम मूल्यांकनपछि भुक्तानी गरिने प्रमुख प्रशासकीय अधिकृत मानबहादुर वनले जानकारी दिए।
अस्पताल सञ्चालनमा आएपछि हल्दिबारी गाउँपालिका र छिमेकी स्थानीय तहका पशुपालक किसानलाई रोग उपचार, खोप सेवा, र प्राविधिक तालिम उपलब्ध गराउन सहज हुने अपेक्षा गरिएको छ।

समुद्घाटन समारोहमा प्रमुख अतिथि राजेन्द्र लिङ्देनले हल्दिबारी गाउँपालिकाले पशु अस्पताल निर्माण गरी सराहनीय काम गरेको बताए। “पशुपालन र कृषिलाई प्राथमिकता दिएर यस्तो कार्य अघि बढाउनु आवश्यक छ। यसबाट किसानहरूले थप फाइदा लिन सक्नेछन्,” उनले भने। साथै, उनले अस्पतालका उपकरण र प्राविधिक व्यवस्थापन चाँडै सम्पन्न गरी सेवा प्रभावकारी बनाउन पनि आग्रह गरे।
गाउँपालिकाका अध्यक्ष रविन्द्र प्रसाद लिङ्देनले अस्पताललाई प्रभावकारी बनाउन प्राविधिक जनशक्ति थप्ने र सेवाहरू विस्तार गर्ने योजना रहेको जानकारी दिए। गाउँपालिकाले सुत्केरी पशु प्रोत्साहनस्वरूप भिटामिन औषधिसहितको सुत्केरी पोषण प्याकेज पनि वितरण गर्दै आएको छ।

अस्पताल सञ्चालनपछि पशुजन्य उत्पादनमा वृद्धि हुने र किसानहरूलाई आर्थिक रूपमा सशक्त बनाउन सहयोग पुग्ने स्थानीय जनप्रतिनिधिहरूको विश्वास छ।
समारोह हल्दिबारी गाउँपालिकाका अध्यक्ष रविन्द्र प्रसाद लिङ्देनको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा उपाध्यक्ष लक्ष्मीदेवी मैनाली, प्रमुख प्रशासकीय अधिकृत मानबहादुर वन, जनप्रतिनिधि, सरोकारवाला, सबै शाखाका कर्मचारी, र सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो। औपचारिक कार्यक्रमको सञ्चालन योजना शाखा प्रमुख राजन न्यौपानेले गरेका थिए।