काठमाडौं। जेष्ठ १ गते साँझ ५:३५ बजेदेखि राति ८:०० बजेसम्म देशका अधिकांश क्षेत्रमा देखिएको विद्युत अवरोधलाई नेपाल विद्युत प्राधिकरणले गम्भीरतापूर्वक लिएको जनाएको छ। प्राधिकरणले यसलाई मौसमजन्य कारणबाट उत्पन्न प्राविधिक समस्या भएको भन्दै पुनः लोडसेडिङ्ग सुरु भएको भन्ने सामाजिक सञ्जालका दाबीहरू भ्रामक र तथ्यहीन रहेको स्पष्ट पारेको छ।
प्राधिकरणका अनुसार, तीव्र हावाहुरीका कारण ढल्केवर–मुजफ्फरपुर ४०० के.भी. डबल सर्किट प्रसारण लाइन दुवै सर्किटमा एकैसाथ समस्या आएको थियो। त्यस्तै, ढल्केवर–नवलपुर प्रसारण लाइनमा रुख ढल्दा टावरमा क्षति पुगेपछि भारतबाट नेपालतर्फको विद्युत आयात पूर्ण रूपमा अवरुद्ध भएको थियो।
संकट समाधान नभएसम्म नेपालकै आन्तरिक प्रणालीमार्फत आपूर्ति मिलाउने प्रयास भए पनि उच्च माग र कम उत्पादनका कारण आपूर्ति प्रणाली अस्थिर भएको प्राधिकरणले जनाएको छ। रक्सौल–परवानीपुर, मैनैया–सम्पतिया र कुशहवा–कटैया १३२ के.भी. लाइनमार्फत वैकल्पिक आपूर्ति प्रयास गर्दा पनि लगातार लाइन ट्रिप हुन पुगेको थियो।
राति ८:०८ बजे ढल्केवर–मुजफ्फरपुर लाइनको एक सर्किट सञ्चालनमा आएपछि क्रमशः विद्युत आपूर्ति पुनः सामान्य बन्न थालेको प्राधिकरणको भनाइ छ। यद्यपि, ढल्केवर–पश्चिम लगायत अन्य क्षेत्रमा रुख ढलेर पोल र कन्डक्टरमा क्षति पुर्याएपछि ती क्षेत्रमा आपूर्ति सुचारु गर्न केही ढिलाइ भएको हो।
प्रणालीमा समस्या देखिएपछि कार्यकारी निर्देशक स्वयं स्विचग्यार पुगेका थिए र समाधान प्रक्रियामा प्रत्यक्ष संलग्न भएको प्राधिकरणले जनाएको छ।
प्राधिकरणले मौसमजन्य आपत् र संरचनागत कमजोरीका कारण यस्ता समस्या देखा परेपनि, त्यसलाई लोडसेडिङ्गसँग जोडेर गरिएको प्रचार असत्य रहेको भन्दै देशमा पुनः लोडसेडिङ्ग नहुने स्पष्ट पार्यो।
“हामी नियमित, भरपर्दो र गुणस्तरीय विद्युत आपूर्ति गर्न प्रतिबद्ध छौं,” प्राधिकरणले भनेको छ, “तात्कालिक, मध्यकालीन र दीर्घकालीन योजना निर्माण गरी यस्ता समस्या दीर्घकालीन रूपमा समाधान गरिनेछ।”
प्राधिकरणले उपभोक्ताको चासो र चिन्तालाई सकारात्मक रूपमा लिँदै विद्युत प्रणाली सुदृढीकरणमा जुट्ने प्रतिबद्धता दोहोर्याएको छ।