कविता: समाजको चित्रण
यसो एउटा,
कविता लेखौँ भन्यो
पीडितलाई न्याय खै?
बलात्कारीलाई सजाय खै?
पानी, बिजुली, तेल खै?
भ्रष्टाचारीलाई जेल खै?
पुलपुलेसो, बाटोघाटो खै?
देशको सिमाना, माटो खै?
अहँ! कविता बन्दैन,
प्रश्नैप्रश्नका सँगालो बन्छ!
हेर्यो, केर्यो, मेट्यो र च्यात्यो
अनि अर्को पाना पल्टायो
फेरी शुरु गर्यो!
के बारे लेखौँ ?
यसो घोत्लियो,
किसानलाई मलको
उत्पादनलाई बजारको
बिरामीलाई उपचारको
बेरोजगारलाई रोजगारको
विद्यार्थीलाई पाठशालाको
खेलाडीलाई रङ्गशालाको
गरिबलाई गाँस, बास, कपासको
अहँ! फेरी पनि कविता बन्दैन,
अभावैअभावको पिरामिड बन्छ!
एकछिन टोलायो, झसङ्ग भयो
सम्हालियो, फेरी अर्को पाना पल्टायो!
प्रश्नको होइन, उत्तरको
अभावको होइन, प्राप्तिको
एउटा रसिलो, भरिलो
सग्लो र मिठो कविता लेख्ने मन छ! -नम्रता बराल, बुद्धशान्ति
धन्यवाद✨~