देशभर भित्रभित्रै हैजा फैलिरहेको छ । हैजा सङ्क्रमितको सङ्ख्या २७ पुगेको छ । स्वास्थ्य सेवा विभाग अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)का अनुसार मुलुकभर सङ्क्रमितको सङ्ख्या २७ पुगेको हो । वर्षा लागेसँगै पानीजन्य संक्रमणहरू फैलिरहेको अवस्थामा हैजा देखिनु, र यसका बिरामी धेरैतिर भेटिनु चिन्ताको विषय हो । गर्मी र बर्खाको समयमा झाडापखाला, हैजा तथा पानीजन्य रोग फैलिने हुँदा सतर्कता अपनाउन महाशाखाले आग्रह समेत गरेको छ । महाशाखाले हैजासम्बन्धी कुनै पनि लक्षण देखिएमा नजिकैको स्वास्थ्य कार्यालयमा सम्पर्क गर्न अनुरोध गरेको छ ।
हैजालाई महामारीका रुप लिन नदिन नागरिक र सरकार दुवै बेलैमा सतर्क हुनु जरुरी छ । सुरुवाती चरणमै सर्तकता अपनाउन नसकिएमा भोलि यसले महामारीको रूप लिन पनि सक्दछ । तसर्थ, तीनै तहका सरकार र नागरिक आँफैले पनि तत्काल यसको रोकथाम तथा नियन्त्रणका लागि यथोचित कदम चाल्नुपर्ने देखिन्छ । हैजाको संक्रमण प्रदूषित पानी र अस्वास्थ्यकर खाद्य पदार्थको माध्यमले फैलिरहेको छ । यस्तो अवस्थामा सरकारले सर्वप्रथम त सार्वजनिक रूपमा वितरण गर्ने पानीलाई निर्मलीकरण गरी स्वच्छ तुल्याउनुपर्छ । ‘मिनरल वाटर’ भनिएका जार लगायतका पानीलाई पनि सम्बन्धित निकायबाट पनि यसको प्रभावकारी अनुगमन गर्नुपर्छ ।
यस्तै, सर्वसाधारण नागरिकले पनि हैजाको जोखिमलाई मध्यनजर गर्दै आफ्नो स्वास्थ्यको ख्याल राख्नुपर्छ । सबै उमेर समूहका व्यक्तिले जुनसुकै माध्यमको पानी भए पनि उमालेर मात्र पिउनुपर्छ, वा उपयुक्त मात्रामा क्लोरिन प्रयोग गरेर त्यसलाई शुद्ध बनाएर मात्र प्रयोग गर्नुपर्छ । यसका साथै, सरसफाइमा पर्याप्त ध्यान नपु¥याइएका होटलहरूको खाना खानु हुन्न । खास गरी सडकछेउछाउ बेचिने खानेकुराबाट पनि हैजा फैलिएको देखिएकाले यसतर्फ पनि सबै सावधान रहनुपर्छ । हैजालाई माहामारीका रुपमा फैलन नदिन सबै लाग्नु पर्छ । तीनै तहका सरकार, स्वास्थ्य संस्थाहरुले सम्बन्धित निकायसित उचित समन्वय गरेर प्रभावकारी पहल थाल्नुपर्छ । नागरिकहरूलाई स्वास्थ्य सतर्कता अपनाउन सजग गराउनुपर्छ ।