सन् २०१९ मा इन्डोनेसियामा राष्ट्रपति र प्रदेश सांसदका लागि चुनाव भयो । १७ अप्रिल २०१९ मा भएको चुनावमा १९ करोड मानिसले भाग लिएका थिए ।
१७ वर्ष भन्दा माथिका नागरिकले भोट हाल्न पाउने व्यवस्था भएको इन्डोनेसियाका मतदाताले जिल्ला, प्रदेश र संसद गरेर २० हजार ५ सय २८ प्रतिनिधि छान्नुपर्ने थियो ।
इन्डोनेसियाको सरकारले खर्च बचाउने भन्दै जिल्ला, प्रदेश र संसदको चुनाव एकै दिन गराउने निर्णय गरायो । एक मतदाताले पाँचवटा मतपत्रमा छाप हानेर भोट हाल्ने व्यवस्था गरियो । यो चुनावलाई एकैदिन भएको विश्वको सबैभन्दा ठूलो चुनाव पनि भनिन्छ ।
चुनावमा राष्ट्रिय मान्यताप्राप्त १६ दल सहभागी थिए । चुनाव शान्तिपूर्ण तरिकाले भयो तर, मतगणनामा भने ठूलो दुर्घटना भयो । चुनाव भएको पछिल्लो दिनदेखि नै मतगणना सुरु गरियो । तीन तहका प्रतिनिधिका लागि भोट गरिएका करोडौँ मतपत्रबाट भोट गन्ने काम निकै सकसपूर्ण थियो ।
त्यहाँको निर्वाचन आयोगले खटाएका कर्मचारी र मतगणकहरू चौबिसै घण्टा मत गणनामा खटिए । कामको अत्याधिक चाप भयाे । थकान र कमजोरीले चुनाव सकिएको दश दिनभित्र चुनावमा खटिएका २ सय ७२ जनाको मृत्यु भयो । यी मध्ये अधिकांश मतगणक थिए । १८ सय भन्दा बढ्ता गणक थकान, भोक, तनाव र कामको चापका कारण सिकिस्त बिरामी भए ।
इन्डोनेसियामा ८ लाख भन्दा बढ्ता मतदान केन्द्र बनाइएका थिए । यो चुनावको सम्पूर्ण नतिजा आउन एक महिना भन्दा धेरै समय लागेको थियो । – एजेन्सी