अखिल नेपाल फुटबल संघ(एन्फा)का अध्यक्ष पंकजबिक्रम नेम्बाङ आफ्नो गृह जिल्लामा सम्मानित भएका छन् । बुद्धशान्ति गाउँपालिकाले आयोजना गरेको एक समारोह बिच उनलाई सम्मान गरिएको हो।
आइतबार बुद्धशान्ति गाउँपालिका अध्यक्ष,उपाध्यक्ष,वडाध्यक्षहरु , जनप्रतिनिधि एवं विभिन्न राजनीतिक दलका प्रतिनिधिले संयुक्त रूपमा अध्यक्ष नेम्बाङलाई सम्मान गरेका हुन्।
सम्मान ग्रहण गर्दै अध्यक्ष नेम्बाङले आफ्नो जिल्लामा आएर यसरी सम्मानित हुन पाँउनु गौरवको बिषय भएको बताएका थिए।
उनले खेलकुदको बिकासका लागी सबै क्षेत्र सकृय हुनुपर्ने बताउँदै,स्थानीय निकायले पनि बजेट छुट्याउन कन्जुस्याइँ नगर्न अनुरोध गरेका थिए।
उनले समग्र खेलकुदको बिषयमा सुधार गर्न बुद्धशान्ति गाउँपालिकालाई आँफुले जस्तोसुकै सहयोग गर्न पनि पछि नपर्ने समेत बताए।
बुद्धशान्ति गाउँपालिकाका अध्यक्ष मनोज प्रसाईंले नेम्बाङलाई एन्फा अध्यक्षको रूपमा पाउदा बुद्धशान्तिवासी हर्षित भएको उल्लेख गरेका थिए।
कार्यक्रममा झापा जिल्ला फुटबल संघका अध्यक्ष भगिरथ आले,उपाध्यक्ष मनेश दाहाल, बुद्धशान्ति गाउँपालिकाका निवर्तमान अध्यक्ष रमेशकुमार भुजेल लगायतको सहभागिता थियो।


















