जनक न्यौपाने, मंसिर २२
झापा। झापाको अर्जुनधारा नगरपालिका वडा नम्बर १ मदनपुरमा विविध मनोरञ्जनात्मक सांस्कृतिक कार्यक्रमका साथ ३० औं चासोक तङनाम ( उधौली) पर्व सम्पन्न भएको छ। कार्यक्रममा मेचे नाच, च्याब्रुङ नाच, राजबंशी नाच, चौधरी नाच लगायत किरात संस्कृति झल्काउने साकेला नाच समेत प्रस्तुत गरिएको थियो भने दर्शकको मनोरञ्जनको लागि डोरी तान्ने खेल समेत खेलाइएको थियो।


राजेश जबेगुको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अर्जुनधारा नगरपालिकाका नगर प्रमुख बलदेव सिंह गोम्देमको प्रमुख आतिथ्यता रहेको थियो भने बिशिष्ट अतिथिको रुपमा फाल्गुन नन्द स्मृति प्रतिस्ठानका पुर्व अध्यक्ष शेर बहादुर इङ्नाम र अर्जुनधारा नगरपालिकाकी कार्यकारी अधिकृत गीता राई रहनु भएको आयोजक समितिका सदस्य नरेन्द्र देव इङ्नामले जानकारी दिनु भयो।
मानिस र प्रकृतिबीच घनिष्ठ सम्बन्ध हुने भएकोले प्रकृतिले मानिसलाई दिएका कुराहरू पुन: प्रकृतिलाई चडाएर मात्र ग्रहण गर्नु पर्छ भन्ने बिश्वासका साथ बि.स. २०४९ सालबाट उधौली मनाउन थालिएको आयोजक समितिका सहसचिव बिजेन्द्र एक्तेनले जानकारी दिनुभयो ।
कार्यक्रममा राष्ट्रिय कलाकार बिकास लिम्बु र गंगा फ्याकले लिम्बु गीत संगसंगै अन्य नेपाली गीतहरु प्रस्तुत गरेका थिए भने लजन फ्याक, ज्योति लामिछाने लगायतका स्थानीय कलाकारले अन्य रमाइला गीतहरु गाएर दर्शनलाई मनोरञ्जन दिलाएका थिए।
मिना पन्दाकको स्वागत मन्तव्य रहेको कार्यक्रमको संचालन अमित खम्बो र सोफिया आङ्दाङ्वेले गर्नु भएको थियो।