जनक न्यौपाने।
पौष २ गते शनिवारका दिनदेखि देशकै प्रमुख पर्यटकिय स्थल जामुनखाडी सिमसारमा प्रथम हर्क राई स्मृति नक आउट फुटबल प्रतियोगिता हुने भएको छ ।
प्रतियोगिताको सम्पुर्ण तयारी पुरा गरिसकिएको आयोजक जामुनखाडी स्पोटिङ्ग क्लवले पत्रकार सम्मेलनको आयोजना गरेर जानकारी गराएको छ । क्लवका अध्यक्ष गणेश गिरीले प्रतियोगितामा प्रदेश नम्बर १ का ८ टिमको सहभागिता रहने र आयोजक टिमलाई समेत थप मजबुद बनाएको अध्यक्ष गिरीले जानकारी दिनुभयो । जसमा आयोजक सहित उर्लावारी फुटबल क्लव, एपिएफ पकली, रोलिङ्ग क्लव धुलावारी, जलथल फुटबल क्लव, बेलवारी फुटबल क्लव, पथरी फुटबल क्लव र शनिश्चरे फुटबल क्लव रहने आयोजक समितिका विनोद रानामगरले पत्रकार सम्मेलनमा जानकारी दिनुभयो । प्रतियोगितामा प्रथम हुने टिमले नगद १ लाख ११ हजार र दोस्रो हुने टिमले नगद ५५ हजार रुपैँया प्राप्त गर्ने छ । प्रतियोगिता सम्पन्न गर्न कुल ७ लाख २४ हजार रुपैँया खर्च हुने र प्रतियोगिताका लागि प्रथम पुरस्कार कनकाई नगरपालिकाले प्रदान गर्ने र दोस्रो पुरस्कार गोर्खा ब्रुलरीले गर्ने तय भएको पत्रकार सम्मेलनमा जानकारी गराईएको थियो । यसैगरि सोही अवशरमा यस क्षेत्रमा निर्माण सम्पन्न भएको जामुनखाडी प्राकृतिक रङ्गशालाको समेत उदघाटन गरिने कार्यक्रम राखिएको जामुनवारी सामुदायिक तथा पर्यटकिय संस्थाका अध्यक्ष ख्याम सिर्टाैलाले जानकारी दिनुभयो । यस क्षेत्रका सामाजिक व्याक्तित्व तथा फुटबल खेलाडी हर्क राईको युवा अवस्थामै मुत्यु भएको थियो । उहाँकै नाममा जामुनखाडी स्पोटिङ्ग क्लवले नियमित फुटबल खेलको आयोजना गर्दै जाने आयोजक समितिका संचार विभाग प्रमुख समेत रहनुभएका पत्रकार मन नेम्बाङ्गले जानकारी दिनुभयो ।

प्रतियोगिता सम्पन्न गर्न जामुनवारी सामुदायिक वन, छिमेकी अन्य सामुदायिक वन र कनकाईका ९ वटै वार्डले आर्थिक सहयोग रहेको छ । प्रतियोगिताका लागि स्थानीयवाशीबाट समेत आर्थिक सहयोग उपलब्ध भएको छ भने नवनिर्वाचिन जनप्रतिधिको समेत आर्थिक सहयोग रहेको छ ।