बुधबारे। झापाको बुद्धशान्ति गाउँपालिकाबाट आज तीन जना बालकको उद्धार गरिएको छ ।
बेवारिसे अवस्थामा रहेका उनीहरुलाई बुद्धशान्ति–३ बुधबारे बजारबाट उद्धार गरी अस्थायी संरक्षण केन्द्र इटहरी पठाइएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक बसन्त पाठकले जानकारी दिनुभयो । उद्धार गरिएकामा १३ वर्षीय एञ्जल लिम्बू, ११ वर्षीय सुशील लिम्बू र १० वर्षीय होमञ्च मगर रहेको प्रवक्ता पाठकले बताउनुभयो ।
बुधबारे बजारमा तीन जना बालक बेवारिसे अवस्थामा फेला परेको स्थानीयबासीले इलाका प्रहरी कार्यालय बुधबारेमा जानकारी गराएका थिए । उक्त जानकारी पाएपछि इलाका प्रहरी कार्यालय बुधबारेबाट खटिएको प्रहरी टोली, जनप्रतिनिधि र स्थानीयबासीको सहयोगमा बालबालिका खोज तलास समन्वय केन्द्र -१०४ विराटनगरबाट खटिएका प्रहरी सहायक निरीक्षक नारायण कटुवालको जिम्मा लगाएर संरक्षण केन्द्रमा पठाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।



















