विराटनगर । मोफसलको सर्वाधिक चर्चित फुटबल प्रतियोगिता विराट गोल्डकप फुटबल प्रतियोगिताको पुरस्कार राशि वृद्धि हुने भएको छ ।
गत संस्करणको उपाधि विजेता विभागीय क्लब एपीएफले नगद १५ लाख १५ हजार प्राप्त गरेको थियो । त्यसैगरी, उपविजेता टिमले ७ लाख ५१ हजार प्राप्त गरेको थियो । तर, यस सिजनको विजेताले पाउने पुरस्कारको राशि वृद्धि गर्ने तयारी गरिएको विराट गोल्डकपका कार्यकारी निर्देशक सुवासिस कोइरालाले जानकारी दिए ।
उनले भने, ‘विराट गोल्डकपलाई अझ स्तरीय बनाउने तयारीका साथ पुरस्कारको राशि पनि बढाउने तयारीमा छौँ ।’ यसपटक कम्तीमा विगतको तुलनामा ४-५ लाख पुरस्कार राशि वृद्धि हुनेछ । यसैगरी, उपविजेता हुने टिमले पनि तीन लाख बढी पुरस्कार पाउने छ । पुरस्कार राशिबारे चाँडै पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने पनि कोइरालाले बताए ।
त्यसैगरी, प्रत्येक खेलको विजेता टिमले नगद २५ हजार प्राप्त गर्ने पनि आयोजकले जानकारी दिए । त्यस्तै, उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट गोलकिपर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट फरवार्ड, सर्वाधिक गोलकर्ता खेलाडी र फेयर प्ले टिमलाई पनि नगद पुरस्कारको व्यवस्था गरिएको छ ।
विराट गोल्डकप चैत ९ देखि १७ गतेसम्म विराटनगरको शहीद रंगशालामा हुनेछ । खेल फ्लड लाइटमा खेलाइनेछ । ८ टिमले सहभागिता जनाउने प्रतियोगितामा ७ खेलबाट उपाधिको छिनोफानो हुनेछ ।