झापा-फागुन शुक्ल प्रतिपदाका दिन मनाइने शेर्पा समुदायको सांस्कृतिक पर्व ग्याल्बो ल्होसार आज विभिन्न कार्यक्रम गरी मनाइँदैछ । नेपालको हिमाली क्षेत्रमा बसोबास गर्ने शेर्पा समुदायले यो पर्वलाई नयाँ वर्षको रुपमा मनाउने गरेका छन्। यो पर्व मुख्यतया देशका २२ जिल्लामा मनाइन्छ । यो पर्व शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म हर्षोल्लासका साथ मनाइन्छ। यो पर्वलाई महायान बौद्ध धर्मावलम्बीहरुले नयाँ वर्षको रुपमा पनि मनाउने गर्दछन् । भोटका नवौं राजा उदय गुंग्यालको पालादेखि नै नेपालमा यो पर्व मनाउन थालेको विज्ञहरू बताउँछन् । यस पर्वलाई ग्याल्बो ल्होसार पनि भनिएको अनुसन्धानकर्ता टीका शेर्पाले बताए । यस अवसरमा शेर्पा समुदायका मानिसहरूले आफ्नो घर र गाउँ, पानीको मुहान सफा गर्ने र घरको छतमा नयाँ प्रार्थना झण्डा फहराउने गर्दछन् । उनीहरुले गुठुक र खप्से जस्ता परिकार पकाएर नयाँ वर्षको स्वागतका लागि शुभकामना आदानप्रदान गर्छन् । गुरुङ समुदायले पुस १५ गते नयाँ वर्षलाई तमु ल्होसार र तामाङ समुदायले माघ शुक्ल प्रतिपदाका दिन सोनाम ल्होसार मनाउने गर्दछन् ।