बुद्धशान्ति । खेलप्रति धेरैको चासो र रुचि छन् । तर खेल खेल्ने उपयुक्त खेलमैदान छैनन् । भए पनि साँघुरा छन् । उपयुक्त खेलमैदान नहुँदा पनि खेलाडी उत्पादन भने भइरहेका छन् ।
विद्यालय, अस्पताल, सामाजिक संघ/संस्थाको भवन बनाउन जग्गादाताहरु भेटिने गरेका छन् । तर खेलकुदका लागि खेलमैदान व्यबस्थापनको लागि जग्गादान गर्ने जग्गा दाता बिरलै भेटिन्छन् ।
बढ्दो शहरीकरण र जग्गाको मूल्य बृद्धि हुनुको साथै खुल्ला सार्वजनिक जग्गा अभाव हुनुको कारण पनि खेलकुद विकासको लागि जटिल समस्या बन्दै गएको छ ।
यस्तै विभिन्न कारणले खेलकुदमा समस्या भएको भन्दै बुद्धशान्तिका युवाहरुले खेल मैदान व्यबस्थापन गरिदिनका लागि स्थानीय सरकार बुद्धशान्ति गाउँपालिका कार्यालयमा ज्ञापन पत्र बुझाएका छन् । युवाहरु आबद्ध आदर्श युवा क्लब बुधबारेले खेल मैदान व्यबस्थापनका लागि बुद्धशान्ति गाउँपालिका अध्यक्ष मनोज प्रसाई समक्ष ज्ञापन पत्र बुझाएको छ ।
खेल मैदानका लागि प्रयोग गर्दै आएको विद्यालयका चउरहरु हाल विद्यालयले आफ्नै समस्या देखाएर गेटमा ताला लगाउने गरेको र विकल्पको रुपमा बालबालिकालाई खेलमैदान तथा खुल्ला सार्वजनिक जग्गा अभाव भएको कारणले स्थानीय युवा, बालबालिका तथा व्यायाम गर्न, विभिन्न खेलहरुको तालिम गर्न तथा खेलहरु आयोजना गर्न समस्या भएको भन्दै क्लबले एक बिज्ञप्ती गाउँपालिकालाई बुझाएको क्लबका अध्यक्ष मातृका श्रेष्ठले बताएका छन् ।
ज्ञापन पत्र बुझ्दै गाउँपालिका अध्यक्ष मनोज प्रसाईंले उक्त विषयलाई कार्यपालिका बैठकमा राखि समस्याको सामाधान खोज्ने, तत्काल विद्यालय प्रतिनिधि, क्लब प्रतिनिधि तथा गाउँपालिका प्रतिनिधि संयुक्त रुपमा बैठकबसि निकास निकाल्ने बताएका छन् ।
उनले दीर्घकालीन रुपमा खेल मैदानको व्यबस्थापनका लागि गाउँपालिकाले पहल गर्ने र सो बिषयमा क्लबले पनि आवश्यक सहयोग तथा सहजीकरण गर्नुपर्ने बताएका छन् । ज्ञापन पत्र बुझाउने कार्यक्रममा १ नं वडाका वडाध्यक्ष अनिल वाग्ले, क्लबका पदाधिकारी, स्थानीय खेलप्रेमी युवा लगायतको उपस्थिति रहेको थियो ।