हल्दिबारी, २७ बैशाख । झापाको हल्दिबारी गाँउपालिकाले चालू आर्थिक वर्षको दोस्रो चौमासिक सार्वजनिक सुनुवाई सम्पन्न गरेको छ । हल्दिबारी–५ स्थित धनुषा आधारभुत विद्यालय परिसरमा मंगलबार गाउँपालिकाले सार्वजनिक सुनुवाई गरेको हो । सेवा तथा विकास निर्माणको प्रभावकारिता विषयमा सेवाप्रदाय र स्थानीय सरोकारवालाको उपस्थितिमा सार्वजनिक सुनुवाई गरिएको थियो ।
सरोकारवालाहरुले खानेपानी, सडक, सडकबत्ति, सामुदायिक विद्यालय, भौतिक पूर्वाधार, कृषि जस्ता बिषयमा सन्तोषजनक काम नभएको गुनासो गरेका थिए । हल्दिबारी–४ का रामबहादुर मोक्तानले धेरै प्रयास गर्दा पनि २०० मिटर खानेपानी पाइपलाइन विस्तार नगर्दा खानेपानी पिउनबाट बञ्चित भएको गुनासो पोखे । वडा–५ का बलराम गिरी, लालबहादुर मगर र कर्ण खपाङ्गीले पनि भनेजस्तो विकासका कामहरु हुन नसकेको गुनासो राखेका थिए ।
उठेका सुझाव तथा जिज्ञासालाइ पालिका अध्यक्ष रविन्द्रप्रसाद लिङ्देन, उपप्रमुख लक्ष्मीदेवी मैनाली, प्रमुख प्रशासकीय अधिकृत इन्द्रप्रसाद चापागाँइले सम्बोधन गरेका थिए । अध्यक्ष लिङ्देनले विकासका लागि सबैको सहयोग र सहकार्य जरुरी रहने बताए । उनले गाउँपालिकाको विकासमा स्थानीयबासीको जिम्मेवारी र भूमिका महत्वपूर्ण हुने उल्लेख गरे । स्माइल नेपालले संयोजन गरेको कार्यक्रममा वडाअध्यक्ष लगायतले वडाबाट हुने गतिविधिका बारेमा प्रष्ट पारेका थिए ।