झापा। झापामा राष्ट्रिय स्तरको कराते प्रतियोगिता हुने भएको छ।
झापाको बिर्तामोडमा प्रथम मदन भण्डारी राष्ट्रिय कराते प्रतियोगिता २०८० हुने भएको हो।
प्रतियोगिताको आयोजना मदन भण्डारी स्पोर्टस् एकेडेमी केन्द्रीय समितिले गरेको हो ।
बुधबार बिर्तामोडमा पत्रकार सम्मेलन गरेर प्रतियोगिताबारे जानकारी दिइएको हो ।
प्रतियोगिता यही जेठ २६ गतेदेखि २८ गतेसम्म हुने एकेडेमीका उपमहासचिव तथा पूर्वप्रमुख कराते प्रशिक्षक मदन उप्रेतीले जानकारी दिए ।
प्रतियोगितामा आठवटा टिमको सहभागिता रहनेछ । आयोजकको एउटा तथा सात प्रदेशका सात टिम प्रतियोगितामा सहभागी हुने छन् ।
त्यस्तै, महिलाहरुको ९ इभेन्ट र पुरुषहरुको १० इभेन्ट गरी १९ वटा इभेन्टमा खेल हुने एकेडेमीका कोशी प्रदेश इन्चार्ज तथा केन्द्रीय उपाध्यक्ष तुलसी मैनालीले बताए ।
प्रतियोगितामा कातासहित महिलातर्फ ४० केजी, ४५ केजी, ५० केजी, ५५ केजी, ६० केजी र ६१ केजीभन्दा माथिका इभेन्ट हुने छन् ।
प्रतियोगितामा प्रत्येक इभेन्टको स्वर्ण पदक प्राप्त गर्ने खेलाडीले नगद १० हजार, रजत पदकले ७ हजार र कास्य पदक पाउने खेलाडीले ४ हजार, मेडल तथा प्रमाणपत्र पाउने छन् ।