झापामा लागुऔषध सम्बन्धी मुद्दामा महिलाको संलग्नता बढ्दै गएको छ । पछिल्लो चार वर्षको तथ्यांक हेर्दा जिल्लामा लागुऔषध सम्बन्धी मुद्दामा महिलाको संलग्नता बढ्दै गएको देखिन्छ । झापामा आर्थिक वर्ष २०७६/०७७ मा लागुऔषध सम्बन्धी मुद्दामा १२ जना महिला पक्राउ गरेका थिए ।
तर, चालू आव २०७९/८० को जेठ मसान्तसम्ममा आइपुग्दा उक्त संख्या झण्डै तेब्बर बृद्धि भएको छ । अर्थात्, चालू आर्थिक वर्षको जेठ मसान्तसम्ममा दुई भारतीय नागरिकसहित ३१ जना महिला लागुऔषध सम्बन्धी मुद्दामा पक्राउ परेका छन् ।
आव २०७७/०७८ मा दुई भारतीयसहित १२ जना र २०७८/०७९ मा दुई भारतीयसहित २८ जना महिला पक्राउ परेको जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक दुर्गाराज रेग्मीले जानकारी दिनुभयो ।
यता, चालू आर्थिक वर्षको जेठ मसान्तसम्म लागुऔषध सम्बन्धी १८४ मुद्दामा १५ जना भारतीय नागरिकसहित २७२ जना पक्राउ परेका छन् भने सबै मुद्दा फस्र्योट समेत भइसकेको प्रहरी प्रमुख रेग्मीले बताउनुभयो । गत आव २०७८÷०७९ मा लागुऔषध सम्बन्धी मुद्दा दुई सय मुद्दामा २० जना भारतीय नागरिकसहित २७९ जना पक्राउ परेका थिए ।