दक्षिण तथा मध्य एशिया हेर्ने अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु शुक्रबार नेपाल आउँदै छन् ।
काठमाडौंस्थित अमेरिकी दूतावासले सूचना जारी गर्दै सहायक विदेशमन्त्री लु शुक्रबार काठमाडौं आउने जानकारी दिएको हो । यसैगरी काठमाडौंमा रहँदा उनले नेपाल सरकारका नेतृत्वकर्ताहरूसँग शिष्टाचार भेट गर्ने समेत दूतावासले जनाएको छ । अमेरिकन चेम्बर अफ कमर्शको एक सदस्य संस्थासँग भेटघाट गर्ने र नेपालीहरूलाई विश्वव्यापी रूपमा प्रतिस्पर्धा गर्न सक्षम बनाउने दिशामा सीप प्रदान गर्न उनीहरूले गरेका प्रयासका बारेमा बुझ्ने समेत दूतावासले जनाएको छ ।
लु यसअघि नेपालमा एमसीसी प्रतिनिधि सभाबाट पारित गर्न हुने वा नहुने भन्ने चर्को बहस भएका वेला काठमाडौँ आएर नेपाल सरकारका उच्च सरकारी प्रतिनिधिहरूसँग भेटघाट गरेका थिए । त्यस समयमा उनको नेपाल आगमन र राजनीतिक भेटघाटले निकै चर्चा पाएको थियो ।