जुम्ला। पश्चिमी जिल्ला जुम्लाको गुठीचौर गाउँपालिकामा रक्सी पिउन लाइसेन्स लिनुपर्ने गरी गाउँसभाले कार्यविधि अनुमोदन गरेको छ।
पालिकाले सबै वडाहरुमा यतिबेला सचेतना कार्यक्रम संचालन गरिरहेको छ।
उक्त कार्यविधि लागू भएपछि पालिकावासी पियक्कडले ५ सय रुपैयाँ तिरेर मदिरा सेवन कार्ड बनाउनुपर्नेछ भने त्यति नै रकम बुझाएर बर्सेनि नवीकरण पनि गर्नुपर्नेछ ।

पालिका बाहिरका मदिरा सेवनकर्ताका लागि भने एक सय रुपैयाँमा अतिथि मदिरा कार्ड उपलब्ध गराइने गाउँपालिकाले जनाएको छ ।
कार्यविधिले एक व्यक्तिले एक दिनमा बियर अधिकतम एक बोतल र हार्डड्रिंक्स १ सय ८० मिलिलिटर मात्र पिउन पाउने गरी हदबन्दी लगाएको छ ।
सर्वसाधारण जनताको सदाचार, स्वास्थ्य, सुविधा कायम राख्दै समुदायलाई सभ्य, सुसंस्कृत, शान्त तथा सकरात्मक बाटोमा अग्रसर गराउन मदिरा नियन्त्रण तथा व्यवस्थापनको अभियान प्रारम्भ भएको अध्यक्ष दानबहादुर बुढाले बताएका छन् ।
मदिरा सेवन गरि समुदायमा होहल्ला, शान्ति भंग हुने क्रियाकलाप वा झैझगडा गर्ने व्यक्तिलाई पहिलो पटक १ हजार जरिवाना गर्ने र सोहि व्यक्तिले बारम्बार सोहि कसूर गरेमा पटकै पिच्छे २ हजारका दरले जरिवाना बढ्दै जाने उनले बताए ।
यस्तै मदिरा ओसार, पसार र उत्पादनकर्ताले नियम उल्लघंन गरेमा पहिलो पटक १० हजार र कसूर दोहोर्याएमा २० हजारका दरले जरिवाना हुने अध्यक्ष बुढाले बताए।