काठमाडौं । काठमाडौंको कोटेश्वरस्थित लालीगुँरास सेकेण्डरी स्कूलले अनौठो तरिकाले बाल दिवस मनाउने गरेको छ । जसमा यसपालिको बाल दिवसको अवसरमा कक्षा १ देखि १० सम्मका विद्यार्थीहरुलाई ठूलो ठूलो एक/एक वटा आलु र प्याज ल्याउन भनियो ।
विद्यार्थीहरुले भनेबमोजिम ल्याए पनि । उनीहरुले ल्याएको आलु ५० केजी तथा प्याज ३० केजी भयो । विद्यार्थीहरुले आफूले ल्याएको आलु र प्याजमा नाम समेत लेखेका थिए ।
उक्त सामग्री भक्तपुरको गोठ्ठाटारस्थित सृजनशील बाल आश्रमलाई प्रदान गरियो । यसरी फरक तर मानवीय गुण विकास गर्ने तरिकाले बाल दिवस मनाइएको छ ।
यस किमिसको पृथक विचार कसरी आयो त भन्ने प्रश्नमा विद्यालयका प्रिन्सिपल हरि शिवाकोटी भन्छन्, ‘यो काम हामीले मनोञ्जन साथ साथै नानीबाबुहरुमा मानवताको भावना जागृत गर्नका लागि आयोजना गरेका हौँ । कतिपय विद्यालयहरू बाल दिवसमा बिदा दिने पनि गरिँदोरहेछ तर बिदा दिएर यो दिवस प्रभावकारी हुँदैन । केटाकेटीलाई केही न केही प्रयोगात्मक र सामाजिक कार्यमा इन्गेज गराउनु पर्छ भन्ने हाम्रो मान्यता हो ।’
त्यस्तै, गतसाल पनि यस्तै गरेर बाल दिव मनाइएको थियो । जसले विद्यार्थीहरुमा जिम्मेवारी बोध र आफूले पाएको शैक्षिक अवसरको सम्मान एवम् मानवीय संवेदना समेत विकास बनाउने विद्यालयका शिक्षक एवम् कार्टुनिष्ट आशिष खनाल बताउँछन् ।
साथै, विद्यार्थीहरुलाई आफूले लगाउने गरेको कपडा जुन धेरै पुरानो नभएको तर आफूलाई ठीक्क नहुने एउटा कपडा पनि ल्याउन भनिएको थियो । उनीहरुले धोएर आइरन लगाएर, पट्याएर चिटिक्क पारी त्यो पनि ल्याए । ति कपडाहरु भने जाडो मौसममा बाल आश्रमका बालबालिकालाई दिने योजना रहेको विद्यालयले जनाएको छ ।