काठमाडौं। संविधान दिवसको अवसर पारेर आज असोज ३ गते बुधवारदेखि काठमाडौंको रत्नपार्कदेखि भक्तपुरको सूर्यविनायकसम्म द्रुत बस सेवा सञ्चालनमा आउने भएको छ ।
आज बिहान ९ बजे भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले यो बसको उद्घाटन गर्दैछन् ।
द्रूत बस सेवाको उद्घाटनलगत्तै मन्त्री ज्वाला, मन्त्रालय तथा विभागका अन्य अधिकारीहरू, स्थानीय सरकारका पदाधिकारीलगायत रत्नपार्कबाट सूर्यविनायकसम्म पुग्नेछन् ।
आज संविधान दिवसको दिन उद्घाटन गर्ने गरी सडक विभागले द्रत बस गुड्ने सडकमा रातो रङ पोतेर छुट्टै लेन बनाएको छ ।
आज उद्घाटन भएपछि भोलि बिहीवारदेखि २५ वटा बसहरू द्रुत सेवाअन्तर्गत सूर्यविनायकदेखि रत्नपार्कसम्म नियमित सञ्चालनमा आउने छन् ।
यातायात व्यवस्था विभागका सूचना अधिकारी ईश्वरीदत्त पनेरूका अनुसार द्रुत सेवा अन्तर्गतका बसहरू बिहान ९ बजेदेखि ११ बजेसम्म तथा साँझ ४ देखि ६ बजेसम्म गरी दुई सिफ्टमा चल्ने छन् । त्यो समयमा यी बस गुड्ने डेडिकेटेड लेनमा अन्य सवारी साधन चलाउन पाइने छैन ।
यद्यपि, एम्बुलेन्स, शववाहन, दमकल, कर्मचारी बोक्ने बसहरू भने उक्त लेनमा चलाउन पाइने छ । द्रूत बसहरु ट्राफिकको रातो बत्तीमा पनि रोकिँदैनन् । एम्बुलेन्स तथा अत्यावश्यक सवारी साधन जसरी नै गुड्न पाउने छन् ।
त्यस्तै यी बसहरु कतै जाममा परिहालेको खण्डमा एम्बुलेन्स जसरी दायाँबायाँ मोडिएर गुड्न पाउने छन् ।
त्यसैले पनि द्रुत बस सूर्यविनायकदेखि रत्नपार्क ४५ मिनेटमा पुगिने दावी गरिएको छ । सूर्यविनायकबाट रत्नपार्कसम्म विभिन्न १९ स्थानमा बस स्टप रहने छन ।
रत्नपार्क, भद्रकाली, माइतीघर, बबरमहल, नयाँ बानेश्वर, शान्तिनगर, कोटेश्वर, जडिबुटी, कौशलटार, गठ्ठाघर, चारदोबाटो, सूर्यविनायकलगायत धेरै मानिसहरूको चाप हुने १९ स्थानमा स्टपहरु राखिएका छन् ।
कार्यालय समयमा अत्याधिक जाम हुने हुने कुरालाई मध्यनजर गर्दै द्रुत बस सेवा सञ्चालनमा ल्याउन लागिएको मन्त्रालयको भनाइ छ ।
यस्ता बसहरूले यात्रु कुरेर बस्दैन । ३० सेकेन्डभित्र यात्रुलाई चढाउने र ओराल्ने काम गरिने छ । नेपाल यातायात व्यवसायी महासंघसँगको सहकार्यमा २५ वटा बस चलाउन लागिएको हो ।
यी बस अन्य बसहरू भन्दा छुट्टै हुँदैनन् । यो रूटमा यसअघि चल्ने ठूला बसहरूलाई नै चलाइने छ । यद्यपि, यात्रुलाई यी बसहरू ठम्याउन सजिलो होस भनेर बसको अगाडि भागमा द्रुत बस सेवा भनेर लेखिने छ ।



















