बुद्धशान्ति। पछिल्लो समय धेरै मानिसहरू घातक रोगको सिकार भईरहेका छन् । अधिकांश मानिसले औषधिको प्रयोग नियमित गर्नु परिरहेको छ ।
यो विषय गम्भिर समस्या बनेको छ । अस्वास्थ्य माटोमा उब्जनी भएका खाद्यवस्तुको प्रयोगले मानव स्वास्थ्यमा गम्भिर समस्या देखापर्न थालेको छ । किसानले उब्जनीका लागि प्रयोग गर्ने माटो नै खराब बन्दै गएको छ । बुद्धशान्ति गाउँपालिका क्षेत्रको माटो पनि रोगी बन्दै गएको पाइएको छ । रोगी माटो उपचारमा तत्काल नलाग्ने हो भने संकटको अवस्था नजिकिइरहेको।
छ। तत्काल बढी फाइदाको लोभमा जथाभावी रासायनिक मलखाद र विषादीको प्रयोग गर्ने किसानको बानीले गम्भिर मानवीय संकटको सामना गर्नुपर्ने अवस्थाको संकेत देखिन थालेका छन् ।माटो अस्वस्थ हुँदा उत्पादनमा नकारात्मक प्रभाव पर्नुका साथै अस्वास्थ्य माटोमा फलेका खाद्यवस्तुको प्रयोगले मानव स्वास्थ्यमा पनि नराम्ररी असर गरेको छ। माटो अस्वास्थ्य हुँदा उत्पादन क्षमतामा ह्रास आउन थालेको छ। सोचे अनुरूपको उत्पादन नहुँदा कृषि पेशा नै घाटामा गइरहेको छ । किसानले गरेको लगानी पनि कृषि उत्पादनले थेग्न छाडेको छ। त्यति मात्र होइन उत्पादन बढाउन प्रयोग गरिने रासायनिक मल तथा विषादीको अत्यधिक प्रयोगले माटोको उर्बरा क्षमतामा नै गम्भिर असर देखा परिसकेको छ, जसले उत्पादन खाद्यवस्तु पनि विषाक्त बनेको छ, विषाक्त खाद्यवस्तुले मानव स्वास्थ्यमा गम्भिर असर पुर्याएको छ।
बुद्धशान्ति गाउँपालिका वडा नम्बर १ ले माटोको उर्वराशक्तिमा हास आइरहेको सन्दर्भमा वडामा नागरिकसँग जनप्रतिनिधि कार्यक्रम अन्तर्गत २ दिने माटो बचाउ अभियान चलाएर किसानलाई माटो अस्वास्थ्य भइरहेको र अस्वास्थ्य माटोलाई सुधार गर्न आवश्यक रहेको भन्दै माटो बचाउने अभियानमा सरोकारवाला सबै पक्ष लाग्नुपर्ने निचोड निकालेको छ । ‘माटोले थेग्न नसक्ने गरी रासायनिक मल तथा विषादीको प्रयोगले माटोको उर्वराशक्ति क्षिण हुँदै गएको छ’- बुद्धशान्ति गाउँपालिका वडा नम्बर १ का वडाध्यक्ष अनिल वाग्ले भन्छन् ‘रोगी माटोबाट फलेका अस्वास्थ्य खानेकुरा खाँदा मानव स्वास्थ्यमा गम्भिर समस्या देखा परिरहेको छ, यो समस्या सामान्य समस्याका रूपमा लिनुहुन्न यो गम्भिर चिन्ताको विषय बनिसकेको छ ।’ वडाध्यक्ष वाग्लेले जैविक मलको प्रयोगलाई बढाउँदै माटोको उपचारमा सरोकारवाला सबैपक्ष नलागे संकटको सामना गर्न तपाईं हामी तयार हुनुपर्ने अवस्था आएको भन्दै चिन्ता व्यक्त गरेका थिए।
कार्यक्रमलाई सहजीकरण गर्ने सहजकर्ता विपी रेग्मीले उत्पादनबाट तत्काल फाइदा लिइहाल्ने किसानको लोभले गर्दा माटोमा जथाभावी अत्याधिक रासायनिक मल तथा विषादीको प्रयोगले गर्दा माटो रोगी बनिरहेको बताए । रेग्मीले माटोलाई तत्काल बचाउन नलाग्ने हो भने गम्भिर मानवीय संकट उत्पन्न हुने चिन्ता व्यक्त गरेका थिए। उनले बुद्धशान्ति गाउँपालिका क्षेत्रको माटो अस्वास्थ्य बन्दै गएको प्रति तत्काल सचेत बनी सुधारमा नलाग्ने हो भने अझ खतरायुक्त समयको सामना गर्नुपर्ने अवस्था आउने चेतावनी दिए । माटोलाई स्वस्थ राख्न प्राङ्गारिक मलको प्रयोगलाई बढोत्तरी गर्नुपर्ने रेग्मीको भनाई छ। उनले माटो सुधारका लागि नेपाल सरकारले मान्यता दिएका औषधीयुक्त वस्तुको प्रयोगमा लाग्न पनि सुझाव दिए।
बुद्धशान्ति गाउँपालिका वडा नम्बर १ ले किसानले प्रयोग गर्ने रोगी माटोको बारेमा किसानलाई सचेत गराउँदै माटो सुधारमा किसान अग्रसर भएर लाग्नमा जोड दिन वडाले यस्तो कार्यक्रमको आयोजना गरेको बताइएको छ । वडाले नागरिकसँग जनप्रतिनिधि कार्यक्रम अन्तर्गत ‘माटो बचाउ अभियान’ तीन ठाउँमा गरेको छ। टोल विकास संस्थाको समन्वय रहने गरी गरिएको कार्यक्रममा एक सय ५० बढी किसानहरूको सहभागिता रहेको थियो। अभियानका क्रममा किसानलाई माटोको उर्बराशक्ति, माटोमा देखिने रोग, माटो उपचार विधि लगायतका विषयमा विज्ञद्वारा प्रशिक्षण प्रदान गरिएको थियो।