तीन बर्ष अघि लगाईएका कागतीका बिरुवा फल दिन थालेका छन् ।
चासो कृषक समुहका सदस्य र कर्मचारीलाई कागती टिप्न भ्याई नभ्याई छ ।
बिरुवाको गोडमेल, सिंचाईं र मल दिनका लागि व्यस्त हुने किसान हिजोआज कागती टिप्न र बजार पु¥याउन व्यस्त छन् । दिन दुई गुना र रात चौगुना गर्दै हुर्किरहेका बिरुवाले फल दिन थालेपछि किसानको खुसीले दंग छन् ।
बागलुङ नगरपालिका–१२ अमलाचौरको सहेँला फाँटमा जग्गा रहेका बागलुङ नगरपालिका–१४ अर्माहका ४३ जना किसानको आशाको बारी हो सहेँलाको फाँट ।
चासो कृषक समुहमा आबद्ध उनीहरुको आफ्नै मेहनतले फल्ने फलबाट समृद्धिको सपना देखेका छन् । ‘पहिलो चरणणमा दुई सय किलो कागती टिपेर बिक्रि गरियो, अनौठो अनुभव भैरहेको छ’ समुहका अध्यक्ष केशव प्रसाद सुवेदीले भने ‘पहिलो उत्पादन स्थानीय बजारमै खोसाखोस भयो ।’
सयौं मुरी धान हरेक बर्ष फल्ने खेतमा किसानहरु कागतीबाट कृषिमा प्रगति खोजीरहेका छन् । २० लाख रुपैयाँ लगानीबाट सुरु भएको कागतीको व्यवसायीक खेतीमा एक करोड रुपैयाँ लगानी भैसकेको छ । ३ सय रोपनी भन्दा धेरै जमिनमा ४ हजार बिरुवा हुर्किरहेका छन् । तीन बर्ष समय खर्चेर लगाईएका बिरुवमा मध्ये एक तिहाई बिरुवा फल दिन थालेको सुवेदीले बताए ।
यहाँका किसानले थालेको व्यवसायीक कागती खेतीमा सहयोग गर्ने र देखासिकी गर्नेहरुको आँखा लाग्न थालेको छ । अनुदान र सहयोगका लागि सरकारी निकाय त्यहाँ पुगेकाछनभने देखासिकी गर्न जिल्लाभित्र र बाहिरबाट किसान तथा प्राबिधिकहरु आउने गरेको समुहका अध्यक्ष सुवेदी बताउँछन् ।
सरकारी अनुदानमा आशा नराखी आँफैले लगानी गरेर व्यवसायीक खेती थालेका किसानले पछिल्लो पटक सरकारी निकायको साथ पाउन थालेका छन् । एक लाख रुपैयाँ बिरुवाको ढुवानीका लागि अनुदान दिएको बागलुङ नगरपालिकाले तीन लाख खर्चेर फार्मसम्म पुग्ने सडक बनाईदिएको छ ।
हरेक बर्ष ४ करोड रुपैयाँको कागती उत्पादन गर्ने लक्षका साथ व्यवसायीक खेती थालेका किसानहरुले फल्न थालेको एक बर्षमानै लगानी उठाएर मुनाफा कमाउने सुवेदीले बताए । समुहमा अबद्ध रहेका किसानलाई प्रतिरोपनी ५ हजारका दरले समुहले बार्षिक भाडा दिने गरेको छ । कागती फार्म सञ्चालनमा रहेको जग्गाका धनीहरुलाई नै समुहको सदस्य बनाईएको छ । समुहमा सबै सदस्यहरुले समान लगानी गरेको सुवेदीले बताए ।



















