बिर्तामोड । स्थानीयबासीले झापाको बिर्तामोडबाट लागुपदार्थ प्रयोग, बिक्री वितरण र अश्लील गतिविधिमा संलग्न २० जना बालक र किशोरकिशोरीलाई पक्राउ गरी प्रहरीसमक्ष बुझाएका छन् ।
लागुऔषध प्रयोग गरेर होहल्ला गर्ने र सार्वजनिक स्थलमा अश्लील गतिविधि गर्दै आएपछि बिर्तामोड–५ सुगमटोल गणपति मार्गका स्थानीयले उनीहरुलाई पक्राउ गरेर प्रहरीलाई जिम्मा लगाएको स्थानीय विपीन बजगाईंले जानकारी दिए ।
समाज सुधार अभियानअन्तर्गत टोलबासीले लागुऔषध प्रयोगकर्ता, अश्लील गतिविधिमा संलग्नमाथि कडा निगरानी राख्दै आएका थिए ।
आज बिहान टोलका सचेत नागरिक, जनप्रतिनिधि र प्रहरीको सहयोगमा स्थानीयले सुगम पेट्रोलपम्प पूर्वको खाली ठाउँ र बसपार्क दक्षिणको खाली ठाउँको झाडीबाट उनीहरूलाई पक्राउ गरेका थिए ।
पक्राउ परेकाहरूलाई इलाका प्रहरी कार्यालय अनारमनीमा राखेर अनुसन्धान गरिएको थियो । अनुसन्धानबाट लागुऔषध कारोबारी भएको पुष्टि नभएकाहरूलाई अभिभावक बोलाएर जिम्मा लगाइएको र अभिभावक नभएका १० जना किशोरी र ३ जना बालकलाई सुधारगृहमा पठाइएको डिएसपी सुरज कार्कीले जानकारी दिए ।