शुक्रवार बिहान वीरगन्जमा एक महिलाको हत्या भएको छ पर्सामा दुई हप्ता अगाडि भएको हत्याको घटना सेलाउन नपाउँदै अर्को हत्याको घटना भएको छ।
वीरगन्ज महानगरपालिका वडा नम्बर १ छपकैयामा महिलाको हत्या भएको हो । धारिलो हतियारले प्रहार गरी छपकैया की पुनम देवीको हत्या भएको प्रहरी स्रोतले जनाएको छ । टाउकोमा गम्भीर चोट लागेर घाइते भएकी पुनमको उपचारको लागि नेशनल मेडिकल कलेज पुऱ्याइएको थियो। मृतकको अत्यधिक रक्तस्रावको कारण मृत्यु भएको जनाइएको छ ।
स्रोतका अनुसार घटना स्थलमा प्रहरी जाँदा उनी अचेत अवस्थामा थिइन् । मृतक पुनम घरमा एक्लै बस्दै आएकी थिइन्। पुनम देवीको श्रीमान् भारत राजस्थानको ग्वालियरमा छन् । उनको एक छोरा र एक छोरी छन् । छोरीको बिहे भइसकेको छ भने छोरा पढाइको सिलसिलामा भारतकै दिल्लीमा छन्।
घटनाबारे प्रहरीलाई बिहान ४ बजे जानकारी गराइएको थियो । जितिया पर्वका लागि बिहानै उनको घरमा पुगेकी बहिनीले दिदीलाई अचेत अवस्थामा बेडमा लडिरहेको देखे पछि प्रहरीलाई जानकारी गराइएको थियो । लगभग दुई हप्ताको अन्तरालमा पर्सा जिल्लामा दुई महिलाको हत्याले स्थानीयवासीको शान्ति सुरक्षालाई लिएर ठुलो त्रास उत्पन्न भएको छ । यसअघि २ असोजमा जगरनाथपुर मसिहानीकी कान्तिदेवी बिनको धारिलो हतियार प्रयोग गरी हत्या भएको हो । मृतक पुनम देवी हत्या प्रकरणमा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ । हत्याको घटनामा संलग्न रहेको आशङ्कामा प्रहरीले सोधपुछका लागि एक जनालाई नियन्त्रणमा लिएको स्रोतले जनाएको छ । पर्सा प्रहरी नियन्त्रणमा रहेका युवकसँग सोधपुछ चलिरहेको र आरोप पुष्टि भई नसकेकोले नाम गोप्य राखिएको प्रहरी स्रोत जनाएको छ । प्रहरी नियन्त्रणमा रहेका ती युवक मृतक पुनमको छिमेकी नै रहेको खुलेको छ । जिल्ला प्रहरी कार्यालय पर्सामा राखी उनीमाथि अनुसन्धान जारी रहेको स्रोतको भनाइ छ ।



















