युद्धग्रस्त बनेको इजरायलबाट २५३ जना नेपाली बोकेर नेपाल फर्किएको नेपाल वायु सेवा निगमको नाइनएन–एएलजेड एअरबस ३३० विमान काठमाडौंस्थित त्रिभुवन विमानस्थलमा अवतरण गरेका छन् ।
असाेज २५ गते बिहीबारसम्म करिब चार सयजना नेपालीले स्वदेश फिर्ताका लागि नाम दर्ता गराए पनि असाेज २६ गते शुक्रबार बिहान इजरायलबाट वायुसेवा निगमको विमानमा २५३ जना मात्रै फर्किएका छन् ।
नेपाल फर्किन चाहेका नागरिकलाई स्वदेश ल्याउनका लागि परराष्ट्रमन्त्री एनपी साउद आफैं असाेज २५ गते बिहीबार बिहान नेपाल वायुसेवा निगमको विमानबाट इजरायल पुगेका थिए । उनलाई इजरायली विदेश मन्त्रालयका चिफ अफ प्रोटोकल र नेपाली राजदूत कान्ता रिजालले स्वागत गरेका थिए ।
इजरायलमा मन्त्री साउदले त्यहाँको विदेश मन्त्रालयका उच्च अधिकारीहरूसँग भेट गरेका थिए । परराष्ट्रमन्त्रीको सचिवालयका अनुसार इजरायली अधिकारीले नेपाली नागरिकको सुरक्षामा कुनै कमी हुन नदिने र स्वदेश फर्किन चाहनेहरूलाई पनि आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।
साथै, मृत्यु भएका १० जनाको शव ल्याउन भने समय लाग्ने देखिएको छ । इजरायलमा रहेको नेपाली राजदूतावासका अनुसार शवको पोस्टमार्टमलगायत कानुनी प्रक्रिया पूरा गर्न समय लाग्ने भएका कारण शव ल्याउन समय लाग्ने देखिएको हो ।
इजरायल सरकारले शव हस्तान्तरण नगरेसम्म ल्याउन नमिल्ने भएका कारण अझै समय लाग्ने परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले असाेज २५ गते बिहीबार नियमित पत्रकार सम्मेलनमार्फत जानकारी दिएकी थिइन् ।
सरकारी पहलमै इजरायलबाट आएका विद्यार्थीहरूलाई त्रिभुवन विमानस्थलबाट काठमाडाैं उपत्यकाका ३ जिल्लामा नि:शुल्क बस सेवा दिइएको छ ।