काठमाडौं । दशैंका लागि बैंकिङ प्रणालीबाट करिब ७६ अर्ब रुपैयाँ बाहिरिएको छ । दशैं अगाडि १६ असोजमा करिब ६ खर्ब २० अर्ब रहेको नगद सर्कुलेसन दशैं सकिँदा ६ खर्ब ९६ अर्बसम्म पुगेको नेपाल राष्ट्र बैंकका प्रवक्ता डा। गुणाकर भट्टले बताए ।
साना र ठूला दरका नोट कति सटही भए भन्ने एकिन तथ्यांक नभएपनि दशैमा ७६ अर्ब रुपैयाँ नगद सर्कुलेसन बढेको उनले बताए । ‘दशैंमा बैंकिङ प्रणालीबाट बाहिरिएको नगद प्रणालीमा फर्किन केही समय लाग्छ,’ उनले भने ।
नेपाल राष्ट्र बैंकले दशैंलाई लक्षित गर्दै हरेक वर्ष नयाँ नोट सटहीको व्यवस्था गर्छ । यस वर्ष पनि साना दरका ५, १०, २०, ५० र १०० रुपैयाँ दरका नयाँ नोट सटहीको व्यवस्था गरेको थियो । साथै दशैंमा दक्षिणा र चाडपर्वका लागि गाउँ जानेले ठूलो रकम लिएर जाने भएकोले दशैं तिहारमा हरेक वर्ष बैंकिङ प्रणालीबाट ठूलो रकम बाहिरिने गरेको छ ।
दशैं सकिए पनि तिहार र छठ पर्व आउँदै भएकाले उक्त रकम बैंकिङ प्रणालीमा फर्किन मंसिरसम्म लाग्नसक्ने उनले बताए । अहिले बढेको नगद सर्कुलेसन पूर्ण रुपमा बैंकिङ प्रणालीमा आउन केही समय लाग्ने भएपनि ठूलो हिस्सा भने २ महिनामा फर्किने गरेको उनले बताए ।
यद्यपि, बैंकहरुले बचतमा राम्रो ब्याज दिएकाले नगद होल्ड गर्ने भन्दा पनि आफूसँग भएको पैसा बैंकमा नै राख्न प्रोत्साहन गर्ने अवस्था रहेको उनले बताए ।