स्याङ्जा। ‘हातमा होइन खाता’मा भन्ने उदेश्यसहित स्याङ्जा फेदीखोला गाउँपालिकाका सबै सामुदायीक विद्यालयमा अध्ययनरत् विद्यार्थीहरुको बचत खाता खोल्ने अभियान सुरु गरिएको छ ।
शिशु कक्षा देखि १२ कक्षासम्म पढ्ने झण्डै दुई हजार विद्यार्थीको खाता संचालन गर्न पालिकाले कार्यविधी राजपत्रमा प्रकाशित गर्दै यो अभियान शुरु गरेको हो । यो कार्यक्रम लागूभएसँगै विद्यार्थीले पाउने पुरस्कार, छात्रबृति, अक्षयकोष लगायतको सहयोग रकम सिधै विद्यार्थीको खातामा जम्मा हुनेछ ।
साझेदारीमा विद्यार्थी वचत खाता संचालन कार्यविधि २०८० राजपत्रमा प्रकाशित गर्दै विद्यार्थीको खाता निशुल्क खोलिने भएको हो । फेदीखोला गाउँपालिका र प्राईम कमर्सियल बैंकको साझेदारीमा खोलिएको खातामा बैँकले एकसय र पालिकाले एक सय गरी दुई सय रुपैँया जम्मा हुनेछ ।
‘हातमा होइन खाता’मा भन्ने उदेश्यसहित विद्यार्थीलाई बचत गर्ने बानीको विकास र भविष्यको जोखिम निराकरण गर्न यो कार्यक्रम संचालन गरिएको गाउँपालिका अध्यक्ष घनश्याम सुवेदीको भनाई छ ।
आफ्ना सन्ततीको भविष्यको जोखिम कम गर्न अभिभावकले पनि दायित्वस्वरुप मासिक न्युनतम एक सय रुपैँया विद्यार्थीको खातामा राख्ने नियम लागू गरिएको छ । यो अभियानले आफ्ना बच्चाको उच्च शिक्षालाइ राहत पुग्ने अभिभावकको विश्वास छ ।यो कार्यक्रम पहिलो चरणमा सिद्धार्थ मा.बि.बाट सुरु गरिएको छ भने क्रमिक रुपमा यहाँका सबै सामुदायिक विद्यालयमा लागू हुनेछ ।