झापा। झापामा दूध तथा दुग्धजन्य सामग्री उत्पादन एवं बिक्री (डेरी सञ्चालन) गर्दै आएकाहरूले स्वदेशमा उत्पादन भएको धुलो दूधको माग घटेपछि व्यवसाय सञ्चालनमा समस्या भएको गुनासो गरेका छन्। स्थानीय किसानले उत्पादन गर्दै आएको गाई भैँसीको दूध सङ्कलन गरी बजारीकरण गर्दै आएका साना तथा मझौला डेरी व्यवसायीले किसानलाई भुक्तानी दिननसक्ने अवस्थामा आफूहरु पुगेको दुखेसो पनि गरेका छन्।
विगत ४ वर्ष अघिदेखि झापाको दमक–१० सेतुमारीमा डेरी सञ्चालन गर्दै आएका व्यवसायी विदुर भण्डारीले पछिल्ला केहि दिनयता डेरी व्यवसायीले स्थानीयस्तरमा सङ्कलन गरेको दूधको भुक्तानी किसानलाई दिन कठिन भएको बताए। उनको डेरीले आबद्ध २ सय साना किसानबाट गाईभैँसीको ५ सय लिटर दूध दैनिक सङ्कलन गदैआएको छ तर बजारबाट भुक्तानी नहुँदा समस्या भएको व्यवसायी भण्डारीले बताए।