कृषि मलमा प्रयोग हुने ‘फस्फोराइट’ खानीदेखि क्यान्सर रोग निको पार्ने ट्याक्सल नामको रसायनयुक्त जडीबुटीका लागि बैतडी जिल्ला भण्डार मानिन्छ । यहाँ विभिन्न खनिज पदार्थका अतिरिक्त उपयोगी जडीबुटीसमेत पाइन्छ ।
खानी र जडीबुटीको उपयोग नहुँदा माल पाएर पनि चाल नपाए जस्तै गरी युवा रोजगारीको खोजीमा विदेश पलायन हुन थालेका छन् । युवा जनशक्ति पलायन हुँदा गाउँमा वृद्ध, महिला, केटाकेटीबाहेक कोही भेटिँदैनन् । अधिकांश युवा कामको खोजीमा भारत जाने गरे पनि पछिल्लो समय खाडी मुलुक र मलेसिया जानेको सङ्ख्या बढेको छ । मलेसिया गएका सिगास गाउँपालिका–१ का लोकराज भट्ट उतै बेपत्ता भएपछि घरमा वृद्ध आमाबुवा आठ वर्षदेखि छोराको बाटो कुरेर बसिरहनुभएको छ ।
भारतमा ज्याला मजदुरीले जीविका नचलेपछि सोही वडाका हर्कबहादुर ऐरी दुई लाख रुपियाँ ऋण लिएर खाडी मुलुक पस्नुभयो । सोही वडाका अर्का युवा बलवेद ऐरी वृद्ध आमाबुवा र जहान परिवार पाल्न कामको खोजीमा भारत हिँड्नुभएको छ ।
बेरोजगारीका कारण गाउँबाट पलायन यी युवा केही प्रतिनिधि पात्र मात्र हुन् । युवा पलायन भएको सिगास गाउँपालिका–१, सुगरखालमा फलाम खानी छ । यहाँको फलाम खानीमा ३८ प्रतिशत म्याग्नाइट आइरन रहेको प्राविधिक परीक्षणबाट पुष्टि भएको छ तर सडक र बिजुलीको सुविधा नहुँदा खानी उत्खनन हुन सकेको छैन । वडामै खानी र जडीबुटी भए पनि यहाँका ८० प्रतिशत युवा रोजगारीका लागि भारतलगायत खाडी मुलुक पलायन हुने क्रम लामो समयदेखि निरन्तर छ । जिल्ला प्रशासन कार्यालयको तथ्याङ्क अनुसार पछिल्ला वर्षमा राहदानी लिने युवाको सङ्ख्या बढेको छ । आर्थिक वर्ष २०७४/७५ मा राहदानी लिनेको सङ्ख्या पाँच सय रहेकोमा हाल बढेर आव २०७९/८० मा दुई हजार ६८० पुगेको छ ।
बैतडीमा फस्फोराइट, फलाम, चुन ढुङ्गा, शिलाजित, स्लेट र खल बनाउन प्रयोग हुने ढुङ्गाको खानीलगायत सिल्भर खानी रहेका छन् । जडीबुटीतर्फ क्यान्सर रोग निको पार्ने लौठसल्लासहित पाँचऔँले, पाखनवेद, चिराइतो, सुगन्धवाल, चुत्रो, तेजपत्ता, रिट्ठा, सिमजडी, अमला, हर्रोबर्रो, गुड, महलगायत ६५ भन्दा बढी जडीबुटीको भण्डार रहेको छ ।
यद्यपि यहाँको जडीबुटी बिचौलियामार्फत भारत निकासी हुने भएकाले जिल्लामै जडीबुटी प्रशोधन केन्द्र सञ्चालन हुन सकेको छैन । ग्वाल्लेक र सिगास संरक्षित वनमा क्यान्सर रोग निको पार्ने ट्याक्सल नामको रसायन निस्कने लौठसल्ला रहेको छ ।
चाउचाउ र कुरमुरेसँग साटिन्छ जडीबुटी
विद्यालय जाने बालबालिकाले पाखनवेद र सिमजडी, चुत्रोलगायत जडीबुटी सङ्कलन गरेर बिचौलियासित चाउचाउ र कुरमुरेसित साट्ने गरेका छन् । बिचौलियाले यस्ता जडीबुटी नेपालगन्जको बाटो भएर भारत पठाउने गरेको पाइएको छ ।
डिभिजन वन कार्यालयको तथ्याङ्क अनुसार हरेक वर्ष चार लाख किलो जडीबुटी भारत जाने गरेको छ । तेजपत्ता, सिमजडी, चुत्रो, सुगन्धवाल, अमला र रिट्ठो सबैभन्दा बढी निकासी हुने गरेको डिभिजन वन कार्यालयका निमित्त प्रमुख दिलीपकुमार यादवले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “रिट्ठो र तेजपत्तापछि स्थानीय जङ्गली फल किरमडा (चुत्रो) को बोक्रा, जरा र डाँठ बढी निकासी हुने गरेको छ । चुत्रो सङ्कलन गर्न प्रतिकिलो १० रुपियाँ राजस्व तिरेपछि मात्रै यो जडीबुटी निकासी गर्न पाइन्छ ।”
अध्ययन भयो, उत्खनन भएन
दोगडाकेदार गाउँपालिका–७ र ३ नं. वडाको बसौरा र पुरचौडी नगरपालिका–६, साउन गाउँमा कृषिमलमा प्रयोग हुने फस्फोराइट खानी फेला परेर विस्तृत अध्ययन भए पनि उद्योग खुल्न सकेको छैन ।
खानी उत्खनन गर्न पाँच वर्षअघि भूगर्भ विभागका वरिष्ठ भूगर्भविद् कुमार खड्काको नेतृत्वमा १५ जनाको टोलीले ५५ दिनसम्म खानीमा ड्रिल (प्वाल पार्ने काम) गरेर नेपालमै कृषिमल बन्ने सम्भावना औँल्याएर फर्किएको थियो । नेपाल सरकारले किसानलाई वार्षिक छ अर्ब रुपियाँ बराबरको मल आयात गर्ने गरेको तथ्याङ्क भए पनि फस्फोराइट उत्खनन र प्रशोधन गर्ने उद्योग स्थापना हुन सकेको छैन ।
यस जिल्लाका १० वटा स्थानीय तहमध्ये पुर्चौडी नगरपालिकामा फलाम खानी, कृषिमलमा प्रयोग हुने फस्फोरस खानी रहेका छन् । दोगडाकेदार गाउँपालिकामा चुनढुङ्गा र फस्फोराइट खानी, दशरथचन्द नगरपालिकाको ग्वाल्लेकमा सिसा र मौरा भिरमा शिलाजित खानी छन् ।
त्यसै गरी सिगास गाउँपालिकामा फलामसँगै खरी ढुङ्गा, स्लेट खानी, डिलासैनी गाउँपालिकालाई छोएर बग्ने चमेलिया नदी किनारमा युरेनियम र सुनको सम्भावना, शिवनाथ गाउँपालिकामा कुटानी पिसानीमा प्रयोग हुने घट्ट, जाँतो र खल बनाउने ढुङ्गा खानी भए पनि उद्योग सञ्चालन हुन सकेको छैन ।
विस्तृत खोज अनुसन्धानका लागि सरकारलाई आग्रह गरिएको भए पनि अहिलेसम्म खानीको अध्ययन हुन सकेको छैन । स्थानीय तहको पुनर्संरचना हुनुपूर्व तत्कालीन जिल्ला विकास समितिले खानी तथा भूगर्भ विभागसँग समन्वय र पत्राचार गरेर सुन र युरेनियम खानीको अध्ययन गर्ने विषय चर्चा हुने गरेको थियो ।
प्रयोगमा रहेको फलाम खानी बन्द
पुर्चौडी नगरपालिकाको मल्लादेही कालीढुङ्गा क्षेत्रमा ३५ वर्षअघि स्थानीयले उत्खनन गरेर फलाम निकालेका चार सयभन्दा बढी खाडल देख्न सकिन्छ । द्वन्द्वकालमा फलाम खानी बन्द भएपछि ती खाल्डामा अहिले स्थानीयले फोहोर र मरेका पशुचौपाया फाल्ने गरेका छन् ।
खानी बन्द भएपछि फलाम उत्खनन गरेर विभिन्न औजार बनाउने चलनसमेत हराएको छ । विदेशबाट आयात हुने प्लास्टिक र सिल्भरका भाँडा वर्तनको प्रयोग बढेको छ । खानीबाट उत्खनन गरेर निकालिएको फलामबाट बनेका पुर्चौडे भदेला (कराही) अहिले पनि सुदूरपश्चिमको जनबोलीमा झुन्डिएको छ । फलाम खानी बन्द भएपछि यहाँका परम्परागत आरनसमेत बन्द भएका छन् । गोरखापत्र